विश्व

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो

सौर्य अनलाइन २०७७ मंसिर ४ गते ८:५० मा प्रकाशित

एजेन्सि । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ ।

महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या एक करोड १४ लाख ९८ हजार भन्दा धेरै पुगेको छ । पछिल्ला हप्ताहरुमा अमेरिकामा पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । दैनिक विगतको भन्दा धेरै संक्रमित थपिने क्रम जारी छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले अति महत्वपूर्ण समयमा गलत दिशामा गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि गएको गर्मी याममा अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको न्यूयोर्कले बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विश्वभर कोभिड–१९ बाट १३ लाख ४६ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ । विश्वभर संक्रमितको संख्या पाँच करोड ६१ लाख ८ हजार भन्दा धेरै छ । डा फाउचीले अमेरिकामा अहिले देखिएको तीव्र गतिको संक्रमणका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको देशमा थप मानिसको कोभिड–१९ बाट ज्यान जाने जोखिम रहेको चेतावनी दिएका छन् ।

उनले सर्वसाधारणलाई सावधानीका उपायहरुमा विगतमा भन्दा थप चनाखो हुन अपिल गर्दै आएका छन् । उनले मास्क लगाउन, भौतिक दूरी कायम गर्न तथा भिडभाड युक्त क्षेत्रमा नजान सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय