कुरा त यस्तो पो हो कमरेड !

प्रा.डा. बद्रीविशाल पोखरेल

जननेता मदन भण्डारीले सिद्धान्तका सवालमा घुमाउरो कुराको कुनै अर्थ छैन भन्नु भएझैँ जबजका बारेमा अहिले माधवकुमार नेपालको धारणा सुस्पष्ट र खुलस्त हुन जरुरी देखियो । अब जबजका बारेमा दुई अर्थी, दोधारे र अलमल कुरा गरेर हुँदैन । कुहिराको काग भएको पाइलटले जहाजलाई सकुशल अवतरण गराउन सक्तैन । माधव कमरेड, तपाईं बारबार मदन भण्डारी फाउन्डेसनविरुद्ध बोल्दै हुनुहुन्छ । किन के का लागि फाउन्डेसनको विरोध हो ? तर, कमरेड, फाउन्डेसन जबजको पाठशाला हो, अध्ययन र अनुसन्धान केन्द्र हो । फाउन्डेसनमा तपाईंसहित झलनाथ खनाल, बामदेव गौतम र डा.बेदुराम भुसालले जबजसम्बन्धी लिखित कृतिको गहन अध्ययन अन्वेषण गर्ने केन्द्र हो । फाउन्डेसनका माध्यमबाट वैचारिक, सैद्धान्तिक र दार्शनिक अध्ययनको वातावरणबाट यो लेखक धेरै लाभान्वित भएको छ । यो संस्था सदावर्त पार्टी अध्यक्ष, प्रधानमन्त्री, नेता, मन्त्री, माननीयलगायत राज्यबाट प्राप्त हुने सबै शुभलाभका लागि ज्यान फालेर लाग्ने र त्यसका लागि षडयन्त्रपूर्वक चलखेल गर्ने गुट होइन ।
माधव कमरेड, त्यसैले फाउन्डेसनको विरोध जबजको विरोध हो र अनि जबजको विरोध जननेता मदन भण्डारीकै विरोध हो । यति सामान्य कुरा हामी बुझ्छौँ । तर, सुरुमै भण्डारीको विरोध गर्दा आमकार्यकर्ताबाट आफू एक्लिने भएकाले किस्ताकिस्तामा भण्डारीको विरोध गर्ने दुराशय स्पष्ट हुन्छ ।

विशाल वृक्षलाई एकैचोटी ढाल्न खोज्दा ढाल्नेहरू आफूहरूसहित किचिएर समाप्त हुने डर हुन्छ । त्यसैले रुखका हाँगाबिँगाहरू काट्तै क्रमशः किस्ताबन्दीमा जबजको जरो उखेल्ने अभियानमा अवसरवादी र उग्रवादी प्रवृत्ति सुविचारित र सुनियोजित रूपमा लागिपरेको स्पष्ट हुन्छ । सारलाई सरापेर रूपलाई सुम्सुम्याउनुको कुनै अर्थ छैन । शरीरका छाला नै ताछ्ने गरी गैँडाले चाटेझैँ माया गर्नु पनि माया हो र ?
यो कुरा अनेक आग्रह, ज्ञान, गुह्य र सूक्ष्म सूचनाका सीमाका कारण अहिले नबुझ्नेहरूले भोलि नै बुझ्ने निश्चित छ । तर, समयमै नबुझ्दा तत्काल समाधान गर्न सकिन्न र पछि समस्या समाधान गर्न पनि निक्कै मिहिनेत गर्नुपर्छ ।
माओले बेलैमा आलोचना गर्नु र यस्तो आलोचना अलि कडा रूपमा गर्नुपर्छ भन्नु भएझैँ यो लेख लेखिएको हो ।

जननेता मदन भण्डारीको आत्मा, अन्तर्य र सारतत्व जबज हो । भण्डारी भन्ने बित्तिकै जबजको बिम्ब आमजनसमक्ष पहिले आउँछ । जब आत्मालाई समाप्त पारिन्छ तब मानव शरीर शरीर नरहेर शव हुन्छ । पूर्वएमाले र हाल नेकपामा एउटा विसंगति टड्कारो देखिन्छ । जबजका आधारमा राजनीतिक र राजकीय उपल्लो तहको कहिल्यै नसोचेको प्राप्ति र प्रतिफल पाएर तथा पचाएर पनि पनि परोक्ष रूपमा तिनले जबजकै विरुद्ध षड्यन्त्रपूर्ण गतिविधि गरिरहेको देखिनु कुन संस्कार हो ।

विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा काम गरेर निवृत्त भएका जबज पक्षधर प्राज्ञ, लेखक, बुद्धिजीवी, स्रष्टा तथा चिन्तकहरू स्वतःस्फूर्त रूपमा संगठित रुपमा राष्ट्रव्यापी अभियानको तयारीमा छन् । यस्ता सबालमा निःस्वार्थ र इमानदार छवी भएकालाई विशेष पत्याउँछन् । जननेता मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या भएपछि यस लेखकले उहाँको उत्तराधिकारी माधवकुमार नेपाल नै हुनुहोला भन्ने स्पष्ट अनुमान गरेको थियो । भण्डारीले पार्टीका विशेष वा महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दा र औपचारिक रूपमा जीवराज आश्रित र माधव नेपाललाई प्रायः साथमा लिएको यस लेखकले देखेको थियो । प्रमुख नेतृत्वको खासियत सक्षम तथा सबल उत्तराधिकार तयार पार्नुमा निहित रहेको हुन्छ । मदन भण्डारीका अनुसार सकेसम्म योग्यहरू मध्ये योग्यतम नेतृत्व निर्माण र स्थापना गर्ने नत्र अयोग्य मध्ये योग्य छनौट गर्ने हो ।

भण्डारीकै अनुसार यस्तो नेतृत्व एक÷दुई मात्र होइन १० वटा गुण भएको हुनुपर्छ । थप त्यसमा पनि प्रमुख नेताका आँखा ठूला, कान लामा र मुख सानो हुनुपर्छ । अर्थात् गम्भीरतापूर्वक हेर्ने धेरै सुन्ने तर कम बोल्ने नेताको गुण हो । भण्डारीले आफ्नो भन्दा पनि पार्टीको सिद्धान्त, कार्यक्रम, कार्यदिशा र रणनीतिजस्ता संगीन सबालमा नेपाललाई एक सम्भावित उत्तराधिकारी ठहर गरेको यस लेखकको धारणा रहेको थियो र छ । तर माधव नेपाल परोक्ष रूपमा जननेता मदन भण्डारीविरुद्ध मोर्चाबन्दी गरिरहेको देख्दा यो लेखक तीनचित परेको छ । तपाईंहरू जबजको मियो हल्लाएर र आफ्नै सरकारका राम्रा कामहरू देखेर पनि नदेखेझैँ गरेर जग हँसाउने जुन उपध्रो गरिहनु भएको छ यो चाहिँ अब हजम हुन छाड्यो ।

तिनकै भोलिको भाग्य र भविष्यका लागि ओली फाउ जिन्दगी भोलि र भविष्यका लागि अझ तपाईंहरूकै लागि देशको भाग्यका लागि रहेको देखिन्छ । तपाईंहरूका कारण अझ इख्खिएर सरकारी तलबसमेत कोरोना कोषमा जम्मा गरेर देश विकासलाई केन्द्र बिन्दुमा र शीर्ष स्थानमा राख्ने प्रधानमन्त्रीलाई सिकिस्त बिरामी हुँदा र नहुँदा कटुआलोचना गर्नु अब असह्य हुन थाल्यो । माधव कमरेड, नेता माननीय, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति तपाईंहरू नै हुने हो । हामी त कारमा होइन कलम, किताब र कपीमा गर्व गर्ने मान्छे हौँ । हामी पदभन्दा प्रतिष्ठालाई महत्व दिन्छौँ, भातभन्दा भविष्य हेर्छौं । त्यसैले हामी देश, जनता र जनजीविकाको हितका लागि नै लेखिरहेका छौँ । घाम उदाउँदा हामीले र जनताले पाउने उज्यालो मात्र हो । तपाईंहरूलाई पद, प्रतिष्ठा चाहिएको होला तर आमजनतालाई सुरक्षित, शान्त र समृद्ध देश चाहिएको छ ।
धमिलो पानीमा माछा मार्न उद्यत बाह्य शक्तिहरू कहिल्यै नेपालको भलो चाहँदैनन् । उहिलेदेखि अहिलेसम्म र आजभोलि भएको नेकपाको कचिंगल नेपाललाई चरम अस्थिर र दलदलमा पार्ने नियत हो ।

माधव कमरेड तपाईं त गोपीरमण उपाध्यायद्वारा सम्पादित कृतिको आफ्नो लेखमा जबज कायनीतिक विचार होइन यो रणनीतिक (समाजवाद साम्यवाद) लक्ष र कार्यक्रम हो भनेर लेख्नुभएको थियो अहिले के भन्नुहुन्छ ? नेपाली क्रान्तिको सिद्धान्त जबज नामको आफू लिखित कृतिमा नेपालले नेकपा माओवादीको खुल्ला र शान्तिपूर्ण राजनीतिमा प्रवेश सँगसँगै जनताको बहुदलीय जनवादको सन्दर्भमा पुनः बहस छेडिएको बताउनुभएको थियो र यससँगै मिल्ने गरी २१औँ शताब्दीको जनवाद भनेर नेकपा माओवादीबाट विचार प्रस्तुत गर्ने कुराले जबजको सान्दर्भिकता, प्रासंगिकता, औचित्य विषयमा बहस गर्नु आवश्यक देखिएको छ भन्नुहुन्थ्यो । अहिले के भन्नुहुन्छ ? नेताको बोली देशलाई दूरदृष्टि दिने खालको हुनुपर्छ नि !

परम्परागत समाजवादले लोकतन्त्र र जनताको अधिकार सबलीकरणको पक्षलाई कम महत्व दियो । रुसमा सामूहिकताका नाममा व्यक्तिहरूको आकांक्षामाथि ठूलो प्रहार भयो । रुचि अनुसारको पोसाक लगाउने, खाना खाने र जीवनयापन गर्ने अधिकारसम्म पनि दिइएन । समाजवादमा व्यक्तिगत स्वतन्त्रताको हरण गरियो भन्दै जबजको औचित्य माधव नेपाल आफ्ना कृतिमा उल्लेख गर्नुहुन्थ्यो, अहिले के भन्नुहुन्छ ?
अनि त्यसैगरी जबजले आधारभूत तहका जनताको मूल भूमिकालाई आत्मसात् गरेको छ भन्नुहुन्थ्यो अहिले के धारणा बनाउनु भएको छ कमरेड,
जबजले जनताको जनवादी व्यवस्थामा पनि बहुदलीय प्रतिस्पर्धाको पद्धति अपनाउने विषयलाई संस्थागत गरेको बताउनुहुन्थ्यो र परोक्ष रूपमा आर्थिक र राजनीतिक अधिकार सहितको जबज निरुपित समाजवादको सार उल्लेख गर्नुहुन्थ्यो अहिले के भन्नुहुन्छ ?

विगतमा समाजवादी व्यवस्था लिएको एकदलीय पद्धतिको शासन व्यवस्थाभन्दा जबजले प्रतिस्पर्धात्मक प्रणाली आत्मसात् गरेको बताउनुभएको थियो । एक दलीयभन्दा बहुदलीय पद्धति जनतालाई प्रभावकारी रूपमा उतार्ने, राजनीतिमा भाग लिने र राजनीतिक पार्टीहरूमाथि जनताको नियन्त्रण कायम राख्न बढी उपयोगी पद्धति हो भन्दै जबजको औचित्यलाई आफ्ना लेख रचनाहरूमा पुष्टि गर्नुहुन्थ्यो अहिले के सोच्दै हुनुहुन्छ ?

माओले बेस्सरी समात भनेर तत्कालीन उपल्ला तहका नेताहरूलाई सम्झाएजस्तै नेताहरूलाई प्राप्त उपलब्धि र सरकारले गरेको सबै राम्रा कामहरूसहित जबजलाई बेस्सरी समात्न यो लेखक हार्दिक आग्रह गर्दछ । यो कुनै स्वार्थ र पार्टी कार्यकर्ताको संकीर्ण भावनाले यस लेखकले भनिरहेको छैन । जबजकै आधारमा देशव्यापी पार्टी संगठन बन्यो, यसले नै नौ महिने अल्पमतको सरकारमार्फत् पनि कम्युनिष्ट पार्टीका विरुद्ध लगाइएका तमाम अभियोेग, आरोप, अन्धता र जडतालाई व्यावहारिक रूपमा भत्कायो । यसले नै माक्र्सवादको पुनः सृजन ग¥यो । जबजकै मूल आलोक र आधारमा मुलुक यहाँसम्म आएको छ । अनि यसैको जग र जरा उधिन्न सुहाउँछ ?

जननेता मदन भण्डारीले जबजमा ०४९ सालमा नै अहिले परिवर्तित संघीय लोकतान्त्रिक गणतन्त्र कालमा क्रमशः गर्नुपर्ने कामको प्राथमिकता उल्लेख गर्दै समाजवाद उन्मुख हुन सुविचारित तथा सुपष्ट मान्यता अघि सार्नुभएको देखिन्छ । भण्डारीले समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै एउटा खुट्टो दरोसँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौँ पनि भन्नुभएको हो ।
अहिले प्राप्त उपलब्धि भनेको समाजको उपरिढाँचा वा आधेयमा भएको परिवर्तन हो । संघीय लोकतान्त्रिक गणतन्त्र अहिले सामन्तवादी जग र जरामाथि टुक्रुक्क बसेको अवस्था हो । यस अवस्थामा उपल्ला तहका तपाईं नेताहरू बढी जिम्मेवार धैर्य हुनुपर्ने हो ।

अझ यसमा कार्ल माक्र्सले श्रमिक वर्गको मुक्ति उनीहरू स्वयंले जितेर लिनुपर्छ भन्नुभएको गम्भीर अन्तर्यलाई मदनले मनन गरेको देखिन्छ । कम्युनिस्ट पार्टीका नाममा केही नेताहरूको ठाडो आदेश, निर्देशन, दबाब वा बल प्रयोगबाट सामाजिक परिवर्तन गर्ने जडसूत्रवादी सोच विपरीत स्वयं मुक्तिकामी आमजनताको सचेतता र संगठित शक्तिबाट धेरैभन्दा धेरै जनतालाई आन्दोलनको वरिपरि स्वेच्छिक रूपमा संगठित तथा आवद्ध गरेर परिवर्तन गर्ने सही सोचमा मदन पुगेको देखिन्छ ।
भण्डारीले भन्ने गरेको कलात्मक हस्तक्षेपको अर्थ पनि वैचारिक, बौद्धिक तथा चेतनामूलक महाअभियानबाट आमजनतालाई सुशिक्षित गर्दै प्राप्त उपलब्धि र प्राप्तिको जगेर्ना गर्दै समाजवाद स्थापनाका लागि मलिलो आधार बनाउनु हो । मुक्तिप्राप्त कर्ता आमजनतालाई स्वेच्छिक रुपमा अग्रगमनका लागि आफैँ सक्रिय हुन र बनाउन प्रयत्न गर्ने हो ।

तर, अहिले पनि सिद्धान्तका सबालमा उग्रवाद र अवसरवाद दुवै हाबी र कुप्रभावी हुन थालेको देखिन्छ । यत्तिखेर यो दुवै अतिवाद देशको स्थिरताका लागि सबैभन्दा घातक रहेको छ । तपाईं जत्तिको बुझ्झकी नेताले बुझ्न सक्नुभएन कसले बुझ्नसक्ला । यस्तै पाराले त फेरि पनि पुष्पलाललाई उतिबेला गद्दार भनेर व्यर्थै गाली गरिएछ भनेर बुढेसकालमा गनगन, गथासो तथा पश्चात्ताप गर्ने दिन आउनेछ तर त्यति बेला नेपालको कम्युनिस्ट आन्दोलन धराशायी भइसकेको हुनेछ ।

प्रतिक्रिया