स्वच्छन्दता र अराजकता विसर्जनको संकेत ।

पुरुषोत्तम पौडेल

अहिले नेकपाको सचिवालयको वैठक चलिरहेको छ । निकै लामो समयपछि नेताहरूबीच नोकझोक भए पनि अली बैचारिक वहस हुने छाँटकाँट देखिएको छ । संसारका कम्युनिस्ट पार्टीहरूले मार्क्सवादलाई आदर्श मान्छन् तर हाम्रो पार्टीमा कतिपय मानिसहरू माक्र्सवाद अब पुरानो भयो भन्न थालेका छन् । मार्क्सवादी सिद्धान्तका आधारमा अघि जान नसकिने कुरा गरिरहेका छन् । आजको प्रविधिको दुनियामा मार्क्सवाद समाज परिवर्तनको विचार र औजारसमेत हुन सक्दैन भन्दैछन् । अझ नेपाली समाजको परिवर्तनका लागि सर्वथा मौलिक ढंगले सोच्नुपर्ने कुरा गर्दैछन् । आफ्नै किसिमले सोच्ने र अघि वढ्ने कुरा गर्दै विचारहीन ढंगले चल्न खोजीरहेका छन् । यी सबै कुरा सिद्धान्त र विचार बुझ्न अल्छी लाग्ने अनि व्यावहारिकताका नाममा स्वच्छन्दता र अराजकतातिर कुद्न चहाने विशेष खालका राजनीतिक व्यक्तिहरूले गरिरहेका छन् ।

हामीले बुझ्नै पर्ने कुरा के छ भने मार्क्सवाद आजसम्मको सबैभन्दा वैज्ञानिक सिद्धान्त हो । यो के कति कारणले पुरानो भयो ? अथवा यसले समाज परिवर्तनको क्रममा कहा र कसरी असफलता भोग्नु पर्यो ? मार्क्सवाद के कति कारणले आजको युगको परिवर्तनको वाहक वन्न सक्दैन ? अझ वर्गीय समाजमा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने मार्क्सवाद कहाँ चुक्यो ? यी प्रश्नहरूको बारेमा उनीहरूसँग कुनै दरिलो तर्क छैन । बरू समाजमा व्याप्त वर्गीय विभेद र वर्ग संघर्षलाई हल गर्ने बारेमा मार्क्सवादले अघि सारेका दृष्टिकोणका अगाडि सबै नतमस्तक देखिन्छन् । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण आजको समाजमा कायम द्वन्द्व व्यवस्थापनमा सबैभन्दा प्रभावी सिद्धान्त भएको कुरा पनि स्वीकार गर्दछन् ।

मार्क्सवाद आजको दुनियामा समेत सर्वाधिक प्रभावकारी विचार हो । युरोप, अमेरिका र एसियासहित तेस्रो विश्वका देशहरूमा समेत मार्क्सवाददी विचार श्रमजीवी वर्गको विश्वासको आधार भएको छ । लाखौँलाख मजदुर किसान मार्क्सवादी विचारमा आधारित ट्रेड युनियनहरूमा संगठित छन् । मार्क्सवादले संसारको जनमतको ठूलो हिस्सालाई प्रभावित मात्र होइन परिचालितसमेत गरिरहेको छ । फेरि पनि कतिपय स्वनामधन्य मार्क्सवादी नेताहरूचाहिँ आफूलाई सच्याउनुभन्दा मार्क्सवादलाई दोष दिएर भाग्न खोजीरहेका छन् । उनीहरू आफ्ना नीति कार्यक्रमहरूलाई सटिक ढंगले कार्यान्वयन गर्नुको सट्टा मार्क्सवादका कमजोरी भन्दै फुत्किने प्रयास गरिरहेका छन् ।

सहीमा पार्टीका सिद्धान्त र नीति, पार्टीले स्वीकार गरेको विचार, निर्णय, विधि र विधान सही भएर मात्र पनि हुँदैन । पार्टीका निर्णयहरू एकदम सही र समसामयिक तथा स्पष्ट भएर मात्र पनि पुग्दैन । नीति र निर्णयहरूलाई बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने सवालमा नेतृत्व स्पष्ट र प्रतिवद्ध भएर नेतृत्वमा बस्ने नेता आफै ठीक भएनन् भने कुनै सुन्दर नतिजा निस्कँदैन । नेताहरूमा पनि मूल नेतृत्व र प्रमुख नेताको बुझाइ र गराइ ठीक भएन भने जतिसुकै राम्रो विचार भएको पार्टी पनि सही बाटोमा जाँदैन । पार्टी आफैं सही बाटोमा गएन भने त्यसले सही परिणाम दिँदैन ।

नेपालको सन्दर्भमा अहिले त्यस्तै भएको छ । पार्टी ठीक छ, पार्टीले लिएका नीति पनि ठीक छन् । पार्टीका विधिविधान सबै ठीकै ढंगका बनेका छन् । पार्टीका सोचहरू पनि ठीकै बनेर आएका हुन् । चुनावी घोषणा–पत्र र अरू दस्तावेजहरू पनि ठीक छन् । तर, दुर्भाग्य पार्टी चलिरहेको छैन, पार्टीको सरकार चलिरहेको छैन । सरकार विवाद र अलमलमै रूमलिइरहेको छ । केबल केही व्यक्ति मात्रै चलिरहेका छन् । तिनका गुटहरू चलिरहेका छन् । पार्टीका अध्यक्षज्यूहरूलाई भ्याइनभ्याइ छ । बिरामी शरीर, यता मन्त्रिपरिषद् र सरकार छ, उता पार्टी छ । उता आफ्नो गुटका साथीहरूको टोकसो छ । एकदम कुदाकुद र धपेडी छ । हाप र झाप छ । दुवैका बीचमा बाझाबाझ, घण्टाैं घण्टा ड्युटी चल्छ । तर, प्रतिफल भने अनुकूल आउन सकेको छैन ।

पक्कै कहिँ न कहिँ त्रुटी भएको छ । सिद्धान्त, विचार, विधि र प्रक्रियामा हुन सक्छ । या सिद्धान्त र विचारलाई बुझेर व्यवहारमा अमल गर्ने सवालमा हुनसक्छ । पार्टी एकतापछि एक अर्कालाई बुझ्ने सवालमा वा पार्टीभित्रै जीवित विभिन्न उपसमूहको व्यवस्थापनमा हुनसक्छ । त्रुटी जहाँसुकै होस् ? हामीले मार्क्सवादी विचारकै आधारमा यसको खोजी र पहिचान गर्नुपर्छ । मार्क्सवाद र यसबाट निर्देशित विचारकै आधारमा यसको निराकरण गर्नपर्छ । मार्क्सवादका केही महत्वपूर्ण विशेषता तथा मूर्त कुराहरू छन् । कम्युनिस्ट पार्टीले ती मूर्त कुराहरूलाई समातेर अघि बढ्नुपर्छ । मूलतः मार्क्सवाद वर्गीय दृष्टिकोण हो । यसले वर्गीय दृष्टिकोणमा विश्वास राख्दछ । मार्क्सवाद सिद्धान्त र विचारले निर्देशित हुन्छ । मार्क्सवाद समाजवाद हुँदै साम्यवाद प्राप्तिको लक्ष्यमा संकल्पित हुन्छ । हामी मार्क्सवादका यी मूर्त विशेषताहरूबाट चिप्लिन थाल्यौँ भने सही नतिजामा पुग्न सक्दैनौँ ।

पहिलो : मार्क्सवादी दृष्टिकोणअनुसार राजनीतिलाई निश्चित सिद्धान्त र विचारले निर्देशित गर्दछ । निश्चित सिद्धान्त र विचारविनाको राजनीति अन्धकारतिरको यात्रा मात्रै हुन्छ । कम्युनिस्ट पार्टीले मार्क्सवाद लेनिनवादलाई आफ्नो मार्गदर्शक सिद्धन्तको रूपमा स्वीकार गरेको छ । कम्युनिस्ट पार्टीका सबै सिद्धान्त र नीतिहरू मार्क्सवाद संगत हुनु जरूरी छ । पार्टीका विधि, विधान र कार्यक्रमहरू समेत मार्क्सवादी दृष्टिकोण र सिद्धान्तका कसीमा घोटिएर खरो उत्रनु आवश्यक हुन्छ । मार्क्सवादी विचार र वर्गीय दृष्टिकोणका आधारमा सही ठहरिएका नीति र कार्यक्रम मात्र व्यवहारमा सही सावित हुन्छन् ।

मार्क्सवाद स्वयं व्यवहारको कसिमा घोटिएर प्रमाणित सिद्धान्त हो । व्यवहारमा प्रयोग हुन नसक्ने सिद्धान्त खोक्रो आडम्बर मात्र हुन्छ । सिद्धान्त केबल सिद्धान्तका लागि मात्र भयो भने त्यसको कुनै अर्थ हुँदैन । मार्क्सवाद व्यावहारिक सिद्धान्त भएकोले यसले गतिशीलतालाई स्वीकार गरेको छ । निरन्तर परिवर्तन र रूपान्तरणको पक्षमा आफूलाई खडा गरेको छ । यसले राजनीतिक परिवर्तनसँगै आर्थिक सामाजिक परिवर्तनका कार्यक्रममार्फत आफूलाई न्याय समानता र अग्रगतिको पक्षमा उभ्याएको छ । सामान्य अर्थमा भन्दा कम्युनिस्ट पार्टी र यसका सबै काम कारबाही मार्क्सवाद संगत र प्रगतीवादी विचार र सिद्धान्तले निर्देशित हुन्छ र हुनुपर्छ ।

दोस्रो : मार्क्सवादले राजनीतिलाई वर्गीय आधारमा विश्लेषण गर्दछ । यसले राज्यलाई एक वर्गले अर्को वर्गलाई दवाउने हतियार मान्दछ । राजनीतिलाई वर्गीय आधारमा वुझ्ने काम गर्दछ । अनी समाजलाई विभिन्न वर्गहरूमा विभाजित भएको ठान्दछ । वर्गहरूका आ–आफ्ना वर्गीय चरित्र र स्वार्थहरू हुन्छन् । वर्गहरूका वर्गीय स्वार्थका आधारमा राजनीतिक संगठनहरू संगठित भएका हुन्छन् । समाज र राज्यमा हुने वर्गहरूका बीचको स्वभाविक संघर्ष, टकराव र एकता नै राजनीति हो । मार्क्सवादले समाजको सवभन्दा उत्पीडित र शोषित वर्गको वकालत गर्दछ । कम्युनिस्ट पार्टीले श्रमिक र शोषित वर्गको प्रतिनिधित्व गरिरहेको हुन्छ । उसले मूलतः तिनैको सेवा र संरक्षण उन्नतीका लागि काम गर्नुपर्छ । यसैका आधारमा आफ्नो जाँच हुन्छ ।

हाम्रो देशमा कम्युनिस्ट पार्टीको सरकार छ । यस अर्थमा यसले सबैभन्दा पहिले मजदुर वर्गको समस्या बुझ्ने र उनीहरूको समस्या समाधान गर्दे शोषित–पीडित किसानहरूका पीडा बुझ्नु आवश्यक थियो । परिवर्तनका मूल शक्ति श्रमजीवी वर्गको जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने थियो । अहिले त्यस्तो हुन सकिरहेको छैन । कमरेड प्रदीप नेपालका अनुसार अहिले ठीक उल्टो काम भइरहेको छ । ‘सरकार दलालपुँजीपतिको घेराउमा परेको छ । देशका मजदुर–किसानहरू वारेस खोज्दै भाैंतारिएर हिँडिरहेका देखिन्छन् ।’ अझ गरिब जनताका गास, वास, कपास अनि शिक्षा, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित समस्या समाधानका प्रयासहरू निरर्थक देखिन्छन् । हाम्रा ती प्रयासहरू या त सही थिएनन् या तिनले परिणाम दिन सकिरहेका छैनन् । निश्चय पनि यो सकारात्मक कुरा होइन ।

तेस्रो : राजनीति र राजनीतिक पार्टीहरूको निश्चित गन्तव्य हुन्छ । असल राजनीतिको गन्तव्य समानता उन्मुख हुन्छ । समाजमा देखिएको वर्गीय खाडल मेटाउनु असल राजनीतिको उद्देश्य हो । कम्युनिस्ट पार्टीहरूको लडाइँ त समानता प्राप्ति अर्थात वैज्ञानिक साम्यवादतर्फ लक्षित हुन्छ । समाजवाद कम्युनिस्ट पार्टीको रणनीतिक लक्ष्य हो । समाजवादको असल वकिल कम्युनिस्ट पार्टी र मार्क्सवाद हो । मार्क्सवादी सिद्धान्तले समाजवादलाई आफ्नो मूर्त लक्ष्य बनाएको छ । समाजवादले हरेक व्यक्तिलाइ क्षमता अनुसारको काम र काम अनुसारको दामको नीति अंगीकार गरेको छ । यसले समाजमा व्याप्त वर्गीय विभेद हटाउने स्पष्ट पार्दछ ।

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी सिद्धान्त अँगाल्दै आएको पार्टी भएकोले यसका सबै नीति कार्यक्रम र काम कारबाहीहरू मार्क्सवाद संगत तथा समाजवादतर्फ लक्षित हुनु आवश्यक छ । अहिले हामीले यसै आधारमा आफूलाई गम्भीर समिक्षा गरेर अघि बढ्ने योजना बनाउनु पर्दछ । हामी आपसमा झगडा गरेर बस्ने होइन, कसैले ‘आफैँ बोक्सी आफैँ झाँक्री’ भएर पनि हुँदैन । नेकपाले गरेको कामलाई अब व्यवहारको कसीमा घोटेर हेर्नुपर्दछ । अब हाम्रो सरकार सञ्चालनको तीन वर्षलाई श्रमजीवी वर्गको आँखाले हेरेर मूल्यांकन गर्ने वेला भयो । खेतीहर किसानका नजरले हेरेर मूल्यांकन गर्ने वेला भयो । गाउँका गरिब जनता, सहरमा पसिना बगाएर पेट पाल्ने दुःखी भरियाहरू, निम्न तथा मध्यम खालका व्यापारी, देशको लागि उद्योग व्यवसाय गरिरहेका राष्ट्रिय पुजीपतिवर्ग र देशभक्त नेपालीका आँखाले हेरेर जाँच्ने वेला भइसक्यो ।

अहिले हामीले फुर्ति लगाएर बस्ने अवस्था छैन । लामो समयसम्म आन्तरिक झमेलामा अल्झेर रमाउने समय होइन । आत्म प्रशंसामा रमाउने र आत्म भर्त्सनामा पिरोलिएर पनि हुँदैन । मूल कुरा हामीले समाजका जुन जुन वर्ग र समुदायको प्रतिनिधित्व गर्ने र सेवा गर्ने कुरा गरेका थियौँ तिनीहरूलाई खुसी दिन सक्यौँ कि सकेनौँ ? जुन तह र तप्काका जनसमुदायलाई राहत दिएर सन्तुष्ट गर्ने कुरा गरेका थियौँ । त्यहाँ पुग्न सफल भयाैं कि भएनौँ ? आफैंले अघि बढेर आत्म–मूल्यांकन गर्ने वेला भइसकेको छ । अब सरकारमा बसेर आफ्नै पार्टीका नेताहरू बीच दम्भ प्रदर्शनसहित तस्करी–मस्करी गरेर बर्बादीवाहेक केही हात लाग्ने वाला छैन । बरू चाँडोभन्दा चाँडो पार्टीका बैठकबाट आन्तरिक झण्झटहरू फरफारक गरेर आधारभूत वर्गका जनताहरूलाई खुसी बनाउने उपाय खोज्न गम्भीरतापूर्वक लाग्नु नै सिद्धान्ततः सही हुनेछ ।

प्रतिक्रिया