कोरोना खोप किन्न सरकारद्वारा अध्यादेश जारी

काठमाडौं । विश्वलाई नै त्रसित र भयवित बनाएको कोभिड–१९ को भ्याक्सिन तयार भईरहेको छ । विश्वका विभिन्न कम्पनी आ–आफ्नो उत्पादनले ९० देखी ९५ प्रतिशत सुरक्षा दिने दावी गरिरहेका छन् । खोपका विषयमा अहिलेसम्म पनि कुनै कम्पनीको उत्पादनलाई मान्यता भने दिएको छैन ।

सरकारले पनि यस्ता खोप किन्नका लागि अध्यादेश जारी गरेको छ । औषधि पत्ता लागेपछि नेपालमा आयातका लागि कानुनी प्रतिकूलता नहोस् भनेर सरकारले अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

अध्यादेश जारी भएपछि कोरोनाको खोप आयात गर्नका लागि सहज हुने बताइएको छ । संसद् अधिवेशन नभएको अवस्थामा सरकारले तत्काल कानुन जारी गर्नुपर्ने भए अध्यादेश ल्याउने गरेको छ । यसरी जारी भएको अध्यादेश आगामी संसद् अधिवेशनबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अमेरिका, बेलायत, रुस र चीनका कम्पनीले खोपले काम गर्न थालेको सुरुआती प्रतिक्रिया दिएका छन् । उनीहरूले खोपका विषयमा विभिन्न जर्नल समेत प्रकाशन गरेका छन् । पछिल्लो पटक अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षणको अन्तिम मूल्यांकनमा उक्त खोप वृद्धहरूमा समेत भाइरसको संक्रमण रोक्न ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको कम्पनीले बताएको छ ।

कम्पनीले परीक्षणमा सहभागी १ सय ७० जना स्वयंसेवकमा कोरोनाभाइरसको संक्रमण देखिएको जनाएको छ । त्यसमध्ये १ सय ६२ जना संक्रमितलाई प्लसेवो वा सलाइन दिइएको थियो भने आठ जनालाई वास्तविक खोप दिइएको थियो । यसले खोप ९५ प्रतिशत प्रभावकारी पाइएको फाइजर कम्पनीले जनाएको छ । कम्पनीले सुरुमा खोप ९० प्रतिशत प्रभावकारी रहेको बताएको थियो । जसलाई स्वास्थ्य अधिकारीहरूले खुसी व्यक्त गरेका थिए ।

एक स्वतन्त्र समूहले पनि कम्पनीको परीक्षण र साइड इफेक्टलाई अध्ययन गरिरहेको छ । हालसम्म खोपबारे कुनै गम्भीर सुरक्षा चासो नपाइएको कम्पनीले जनाएको छ । पछिल्लो नतिजा प्राप्त भएपछि फाइजरले खोपको आपत्कालीन प्रयोगका लागि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनसँग केही दिनभित्र अनुमति लिने जनाएको छ । आफूले प्राप्त गरेको तथ्यांकलाई विश्वभरका नियामक निकायहरूलाई पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया