स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने अधिकार

काठमाडौं । कोरोना महामारीले गर्दा बन्द रहेका शैक्षिक संघसस्था खोल्ने अधिकार सरकारले स्थानीय तहलाई दिएको छ । गत चैतदेखि बन्द रहेका विद्यालय सञ्चालनका लागि बाटो खुलाउँदै स्थानीय तहलाई सर्तअनुसार अधिकार दिएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो (सिफ्ट) वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । २२ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ स्वीकृत गरेको थियो । लगत्तै शिक्षा मन्त्रालयले कार्यढाँचा वेबसाइटमार्फत सार्वजनिक गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो ।

संक्रमणको जोखिम मूल्यांकन गरी विद्यालय बन्द गरिराख्ने वा सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय सरकारले नै गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । विद्यालय सञ्चालनको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालन पूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ । विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउनसमेत आग्रह गरिएको छ ।

स्थानीय तहको निर्णयमा विद्यालय सञ्चालनमा आउनेछन् । त्यसका लागि एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सञ्चालन गर्न सक्ने छन् । कक्षा अवधिको समय छोट्याउने र हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सञ्चालन गर्न सकिनेछ । विद्यार्थीलाई सानो समूहमा बोलाएर मात्र कक्षा सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि स्वास्थ्य सुरक्षा मापदण्डलाई विशेष ध्यान दिनुपर्ने प्रवक्ता शर्माले बताए ।

यसअघि सरकारले परीक्षा सञ्चालनका लागि समेत मार्गदर्शन गरेको थियो । ९ मंसिरदेखि कक्षा १२ को परीक्षा हुँदै छ । गत वर्षको परीक्षाको ४० नम्बर प्राप्तांकका लागि प्रत्यक्ष परीक्षा हुँदै छ । कोरोना संक्रमित विद्यार्थी वा शिक्षकले भने विद्यालयमा जान पाउने छैनन् । संक्रमित शिक्षक, कर्मचारी र विद्यार्थी पूर्णरूपमा निको नहुन्जेलसम्म विद्यालय नआउने वातावरण मिलाउने र सिकाइ निरन्तरताका लागि वैकल्पिक उपाय पहिले नै तय गर्नुपर्नेछ ।

विद्यार्थीको सुरक्षालाई ध्यानमा राखेर कक्षाकोठा, शौचालय लगायतको नियमित सरसफाई गर्नुपर्नेछ भने विद्यालयमा सावुनपानी तथा सेनिटाइजरको व्यवस्था गर्नुका साथै नियमित तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । विद्यालय सञ्चालनका लागि आवश्यकता अनुसार कक्षाकोठा, सभाहल, छात्रावास, फर्निचर, शौचालय आदि पुनःव्यवस्थापन तथा मर्मत गर्नुपर्नेछ ।

स्थानीय तहले विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्नेछ । विद्यालयमा आवश्यक मापदण्ड पूरा भएको छ वा छैन भनेर यकिन जिम्मेवारी सम्बन्धित पालिकाको हो ।

कुनै विद्यालय खोल्न नसकिएको खण्डमा यसअघि सञ्चालन हुँदै आएको वैकल्पिक शिक्षण अभ्यासलाई नै निरन्तरता दिनुपर्नेछ । प्रवक्ता शर्माले कोरोना महामारीका कारण कुनै विद्यालय सञ्चालनमा आउन नसकेको खण्डमा यस अघिकै विद्यार्थी सिकाइ सहजीकरणअनुसार नै पठनपाठन गर्नुपर्ने बताए । केही विद्यालयहरूले भने यसअघि नै विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुरू गरेका छन् ।

प्रतिक्रिया