भारतका प्रधानमन्त्री मोदी र नव निर्वाचित अमेरिकी बाइडेनबीच फोन वार्ता

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका छन् ।

बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उनले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सँगसगै मिलेर काम गर्न चाहेको बताएका थिए ।

भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रभावकारी, प्रगाढ र राम्रो बनाउनका लागि रणनीतिक साझेदारी र छलफललाई निरन्तरता दिनु पर्नेमा समेत उनले जोड दिएका थिए ।

‘मैले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई टेलिफोन गरेर बधाई दिएको छु, फोन वार्ताका क्रममा सहकार्य गर्ने र अपसी सम्बन्धलाई अझ बलियो बनाउने बारेमा पनि सकारात्मक छलफल भएको छ,’ मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

विगतका सहमति तथा सम्झौता, कोरोनाभाइरसको महामारी, जलवायु परिवर्तन, हिन्द–प्रशान्त क्षेत्र लगायतका बारेमा संक्षेपमा कुराकानी भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिएका छन् । उनले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि न्यानो बधाई दिएका छन् ।

भारतीय मूलकी अमेरिकी नागरिक ह्यारिस विजयी भएकोमा भारतीयहरु नागरिकस्तरबाट पनि यस अघि नै खुशियाली व्यक्त भइरहेका छन् । उनी विजयी हुनुले अमेरिका र भारतको सम्बन्ध र सहकार्यलाई थप सहज र शसक्त बनाउने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया