सम्पादकीय

आज धनवन्तरी जयन्ती

सौर्य अनलाइन २०७७ कार्तिक २८ गते ७:४० मा प्रकाशित

धनवन्तरीलाई आयुर्वेदका पिता भनिन्छ । देवताहरूले समुन्द्र मन्थन गर्ने क्रममा कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन अमृत, शंख, चक्र र जडीबुटीका साथ भगवान् धनवन्तरी प्रकट भएको विश्वास गरिन्छ । यही विश्वासका आधारमा हरेक वर्षको तिहारको पहिलो दिन अर्थात कार्तिक कृष्णपक्षको चतुर्दशीका दिन धनवन्तरी जन्म जयन्ती मनाउने गरिन्छ । धनवन्तरी जयन्तीका अवसरमा आज आयुर्वेद क्षेत्रमा काम गर्नेहरूले विशेष कार्यक्रम गर्छन् । केही वर्षदेखि सरकारले पनि धनवन्तरी जयन्तीलाई पर्वका रूपमा मान्यता दिएको छ । धनवन्तरीद्वारा प्रदान गरिएको आयुर्वेदको अभिलेखीकरण नेपालमै भएको जनविश्वास छ । जुन कुरालाई छिमेकी मुलुक भारतले पनि स्वीकारेको छ ।

हिमालय पर्वत श्रृंखला तथा त्यस आसपासको क्षेत्र औषधीजन्य जडीबुटीले भरिपूर्ण रहेको आयुर्वेदीय मान्यताको पुष्टिसमेत भइसकेको छ । हिमालय पर्वत शृंखलाको धेरैजसो क्षेत्र पर्ने भएकोले नेपालमा आयुर्वेदीय महत्व धेरै छ । भगवान् धनवन्तरीको जन्म भएका कारण आजको दिनलाई धनत्रयोदशी पनि भनिन्छ । छिमेकी मित्रराष्ट्र भारतमा त्रयोदशीलाई त्रयेश भनिन्छ । त्यसैले उनीहरू आजको दिनलाई धनतरेश भन्दै मनाउँछन् । दीपावलीका लागि प्रयोग हुने सामग्री धनतरेशका दिन किन्नुपर्ने मान्यता भारतीयहरूमा छ । तर, नेपालका सन्दर्भमा भने विशुद्ध आयुर्वेद र कुकुर तिहारसँग संबन्धित छ आजको दिन ।

आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो । यो पद्धती पूर्वीया संस्कृतिको देन हो । तर, पछिल्ला दिनमा आयुर्वेदीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्रममा खुम्चिँदै गयो । थप विकसित हुन पाएन । उता विकल्पको रूपमा पश्चिमाहरूले आधुनिक चिकत्सिा पद्धति अवलम्वन गरे । जसलाई एलोपेथिक चिकित्सा पद्धति भनिन्छ । एलोपेथी विधा उपचारसँग बढी सम्बन्धित छ भने आयुर्वेद विधा उपचारका अलवा जीवन पद्धतीसँग बढी सम्बन्धित छ । आयुर्वेद ‘आयु र वेद’ गरी दुई शब्द मिलेर बनेको हो । आयुर्वेद भन्नाले ‘आयुको ज्ञान’ भनेर बुझिन्छ । मानव मूल्य र मान्यताका आधारमा सक्रियताका साथ लामो आयु जिउन कसरी सकिन्छ ? भन्ने विधा भएका कारण आयुर्वेदको महत्व ज्यादै धेरै छ । आयुर्वेदीय ज्ञानलाई जनजनमा विस्तार गर्न नसकेकै कारण विश्वमा विभिन्न थरी रोगहरू देखा पर्दै गएका हुन् भन्ने कुरामा एलोपेथिक विधाका विद्धानहरू समेत सहमत छन् ।

हाम्रा लागि आयुर्वेद गौरव हो । तर, यतिबेला भने ‘मेरा बाबुबाजेले कति घिउ खाएका रहेछन्, मेरो हात सुँघ् सुँघ्’ भन्ने उखान जस्तै भएको छ । अरू त के कुरा सामान्य ज्वरो आउँदासमेत सिटामल नखाई उपाय छैन । पहिलो कुरा त आयुर्वेदिक चिकित्सा पद्धती खिइँदै गइरहेको छ दोस्रो कुरा जनताको विश्वास पनि कम हुँदै गएको छ । हाम्रा जडिबुटीहरू कौडीको भाउमा विदेश निर्यात भइरहेका छन् । विदेशबाट वार्षिक अर्बाैं रुपैयाँको औषधी मुलुकमा आयत भइरहेको छ ।

तत्कालीन उपचारका लागि प्रभावकारी हुन नसके पनि दीर्घकालीन उपचारका लागि प्रभावकारी हुने भन्दै पश्चिमा मुलुकका जनताले पनि आयुर्वेद प्रति रुची बढाउन थालेका छन् । रोगको उपचारभन्दा पनि रोग लाग्नै नदिने पद्धती हो भन्ने विश्वास संसारभर फैलिरहेको छ । यस्तो अवस्थामा नेपालले आयुर्वेद शिक्षालाई प्रभावशाली ढंगले अघि बढाउनु पर्छ । हाम्रा जडिबुटीको विषयमा पाठ्यपुस्तकमा राख्न सकिन्छ । प्रत्येक विद्यालयमा कम्तिमा एक जनाको दरले आयुर्वेद विज्ञलाई राख्न सकिन्छ । आकस्मिक बाहेकका अरू उपचारहरू आयुर्वेदीय पद्धतिमार्फत गर्न सक्ने हो भने पनि नेपालमा धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय