एकैदिन ३० फरार प्रतिवादी पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकैदिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीय अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले ०७६ फागुन १९ को फैसलाले तीन दिन कैद र २ लाख ५० हजार जरिवान फैसला गरेको थियो । अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा ०५३ पुस ११ को फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका ६, कुटपिट मुद्दाका ६, ०५४ साउन १६ को फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए । पक्राउ परेकाबाट हुन आउने कैद १ महिना १८ दिन र जरिवाना ३ लाख ३७ हजार ९ सय ५० रुपैयाँ जरिवाना असुल भएको छ । उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया