चाडपर्व लक्षित माटोको भाडा बनाउन व्यस्त

इनरुवा । नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित रहेका कुम्भकार समुदाय माटोको भाँडा बनाउनका लागि व्यस्त भएका छन् । एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकारले स्थानीयवासीको चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीयवासी श्रीप्रसाद पण्डितले बताए । कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाँडाकँुडा बनाउने काममा व्यस्त बनेको पाइएको छ । भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गरेको छ । एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरू अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितले बताए ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ । दीपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरू समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिहरूको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडाहरू बनाउने रहेकाले सो कार्यक्रममा व्यस्त बनेको छ ।

आफूहरूले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडिदेखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए । कोरोना महामारीका बेलामा चाडपर्व लक्षित माटोको भाँडा निर्माण गरेको भए पनि बिक्री हुने कि नहुने भने चिन्ताले सताएको छ । वार्षिक रूपमा एक लाखदेखि १ लाख ५० हजारसम्मको माटोको भाँडाबाट आम्दनी गर्दै आएकामा यसपटक सोचेअनुसारको आम्दनीसमेत हुन नसकेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितको भनाइ छ । प्रजापति समुदायका व्यक्तिले हात तथा मेसिनबाट बनाउने भाँडाहरू बनाई गाउँदेखि सहरसम्म बेच्न लाने गरेका छन् ।

प्रतिक्रिया