‘कोलवृक्ष’ संरक्षित क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिका–२ जावास्थित लोपोन्मुख वनस्पति कोलवृक्ष बगैँचा (प्राचीन ककरपत्त नगर) क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । गाउँपालिकाले यस क्षेत्रलाई संरक्षण गरी पर्यटकीय स्थलको रूपमा स्थापित गर्न थालेकाले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।  प्राचीन कोलीय गणराज्यको एक सहर र बुद्धकालिन स्थल मानिने कोलवृक्ष क्षेत्रमा उक्त गाउँपालिकाले पुरातात्विक उत्खनन् गर्दैछ । बुद्धकालीन लोपोन्मुख वनस्पति ‘कोलवृक्ष’ रहेको उक्त स्थानको पुरातात्विक महत्व उजागर गर्दै नमुना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले उत्खनन् गर्न थालिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

केही वर्षदेखि यस क्षेत्रको संरक्षण र पर्यटकीय पूर्वाधारहरू निर्माण गर्दै आएकामा यो क्षेत्र प्राचीन कोलीय गणराज्यको एक सहर ककरपत्त नगरसमेत भएको बौद्धग्रन्थमा उल्लेख रहेकाले यसको उत्खनन् गर्न लागिएको उनले जानकारी दिए । ‘यहाँ बौद्धकालीन इतिहाससँग मिल्दाजुल्दा इँटा, मूर्ति, भाँडाकुँडासमेत भेटिएकोले उत्खनन्को आवश्यकता देखिएको हो,’ अध्यक्ष चौधरीले भने ।  चालु आर्थिक वर्षमैै यस क्षेत्रको उत्खनन् गर्ने गरी गाउँपालिकाले बजेट विनियोजन गर्नाका साथै पुरातत्व विभागसँग समन्वय गरिरहेको उनको भनाइ छ । बुुद्धकालमा कुष्ठरोग निवारणमा प्रयोग भएको कोलवृक्ष यहाँ मात्र पाइने र कोलवन रहेको क्षेत्र प्राचीन कोलीय गणराज्यको एक सहर ककरपत्त नगर रहेको बुद्धग्रन्थमा उल्लेख गरिएकाले पनि गाउँपालिकाले यस क्षेत्रलाई ककरपत्त नगर घोषणा गरेको जनाइएको छ ।

पुरातत्व क्षेत्रका अध्ययेता डा.कौशलेन्द्र श्रीवास्तवका अनुसार प्राचीन कालमा बनारसबाट स्वनिर्वासित भएका कुष्ठरोगी राजाराम र कपिलनगरका त्यस्तै रोग लागेकी शाक्यरानी प्रिया यस क्षेत्रको कोलवनमा निर्वासित जीवन बिताउँदै कोलको फल खाने र लेप लगाउने गरेर कुष्ठरोग निवारण गरेको बुद्धग्रन्थमा उल्लेख छ । राजा रामले पछि यही कोलवृक्ष फँडानी गरी राज्य बसाएको र उनकै नामबाट रामग्राम राज्य रहन पुगेको तथा यसै वृक्षको नामबाट प्राचीन कोलीय गणराज्य रहन पुगेको उक्त ग्रन्थमा उल्लेख छ ।

हाल यो क्षेत्र रामग्रामको नजिक रहेको र कोलवृक्ष यहाँ बाहेक अन्यत्र नपाइने भएकाले पनि गाउँपालिकाले यस क्षेत्रलाई गौरवको संरक्षित क्षेत्रको रूपमा उच्च प्राथमिकता दिएर संरक्षण, प्रवद्र्धन र पर्यटकीय विकास गर्न लागिपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । कोलवृक्षको अनुसन्धान जारी छ । जापानलगायत अन्य देशका अनुसन्धानकर्ता यसमा संलग्न छन् । स्थानीय भाषामा आकोल भनेर चिन्ने यस वनस्पतिको उत्पत्ति पनि नेपालमै भएको जिकिर गरिएको छ । कोलवृक्ष कुष्ठरोग, छालासम्बन्धी रोग, मधुमेह, उच्च रक्तचापजस्ता रोगको उपचारमा प्रयोग गरिएको कथन पनि पाइन्छ ।

जावामा कोलवृक्ष बगैँचाको रूपमा रहेको छ भने गाउँको चारैतिर पनि यो वनस्पति देख्न सकिन्छ । गाउँभरि नै यसको रुख पाइने भएकाले गाउँपालिकाले कोलवृक्षको गणना गर्ने तयारी गरेको छ । यो रुख रोप्नु नपर्ने र आपैmँ उत्पत्ति हुने गरेको स्थानीयवासी बताउँछन् । यहाँबाट कोलको बिरुवा रामग्राम स्तुप र लुम्बिनीमा पनि लगेर रोपिएको तर त्यहाँ सफल नभएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।  गाउँपालिकाले कोलवृक्ष संरक्षण गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्न अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार यस क्षेत्रको समग्र विकासका लागि विस्तिृत गुरुयोजनासमेत निर्माण गरिएको छ । करोडौँको योजना रहेकाले प्रदेश र संघीय सरकारको सहयोग आवश्यक हुने उनको धारणा छ ।

हाल उक्त स्थानमा ठूलो बुद्धको प्रतिमा स्थापना गरिनुका साथै वनभोज स्थल, ट्रस्ट, पर्यटक बस्ने स्थल निर्माण गरिएको छ । यहाँको पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जनमा जोड दिन होम–स्टे (आवास घर) सञ्चालनको तयारी तथा बहुद्देश्यीय सभाहल निर्माणको काम पनि भइरहेको छ । होम–स्टे सञ्चालनका लागि स्थानीयवासीलाई तालिम दिन लागिएको गाउँपालिकाले जनाएको छ । आगामी वर्ष उक्त स्थलसम्म पुग्ने सडक स्तरोन्नति, प्रवेशद्धार, बौद्ध विहार र उद्यान निर्माण गर्ने तयारी छ । यसैगरी सोही स्थानमा रहेको ऐतिहासिक बुद्धसरोवर ताललाई सुन्दर बनाएर डुंगा सञ्चालन गर्ने, प्राचीन इनार र कोटही माई मन्दिरको संरक्षण गरी पर्यटक आकर्षित गर्नेजस्ता पूर्वाधार निर्माण गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले बताए । यो क्षेत्र प्राचीन बुद्धकालीनस्थल नै भएकोले लुम्बिनी, रामग्रामसँग जोडेर एकिकृत विकास गरिनुपर्नेमा जोड दिँदै उनले यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिए ।

यहाँ रहेको बुद्ध सरोवर तालको पनि छुट्टै विशेषता छ । तालमा साइबेरियनलगायत विश्वका विभिन्न स्थानबाट आउने लोपोन्मुख चरा अवालेकन गर्न सकिन्छ । झण्डै पाँच बिघा जमिनमा फैलिएको यो ताल पनि रमणीय छ ।  कहिल्यै पानी नसुकेको यो तालमा विगतमा सुनको डुंगामा भाँडाकुँडा आउने र गाउँघरमा हुने विवाहलगायत अन्य उत्सवमा प्रयोग गर्ने गरिएको किम्वदन्ती रहेको स्थानीय मीननारायण चौधरीले बताए । उनले भने, ‘पूजा तथा उत्सवहरूमा भाँडाकुँडा आवश्यक पर्दा देवीको पूजापाठ गरेपछि डुंगामा भाँडाकुँडा आउने गरेको र काम सकिएपछि फेरि बुझाउने गरिएकोमा एकपटक उक्त भाँडा नबुझाएपछि डुंगा निस्कन छोडेको किंवदन्ती रहेको छ ।’

गाउँपालिकाकै धरोहरको रूपमा रहेको जावा क्षेत्र पर्यटकीयस्थल बन्ने भएपछि स्थानीयवासीमा पनि खुसी छाएको छ । यहाँको पर्यटन विकास हुनसके स्थानीयवासीको आयआर्जन बढने, रोजगारीको अवसर सिर्जना हुने तथा जीवनस्तरमा समेत परिवर्तन आउने अपेक्षा गरिएको कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउन सकिए विश्वकै लागि नमुना पर्यटकीय गन्तव्य हुनाका साथै खोज अनुसन्धानकर्ताका लागि पनि गन्तव्य बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया