कर्णालीमा १५ सयभन्दा बढीले शुल्क तिरेर गरे कोरोना परीक्षण

कर्णाली । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु दुई हजार तिरेर एक हजार ५३२ जनाले पिसिआर परीक्षण गरेको पाइएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा एक हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले शुल्क तिरेरपिसिआर परीक्षण गरेका छन् । शुल्क तिरेर परीक्षण गरेपनि अस्पतालहरुले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन् ।

प्रदेश अस्पतालका कोरोना स्रोत व्यक्ति डा. नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निःशुल्क परीक्षण गरिरहेको बताए । लक्षण नदेखिएका एवं परीक्षण गरेर आफै ढुक्क हुन चाहनेहरुले शुल्क तिर्ने गरेको उनको भनाइ छ ।

कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी सामुदायिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया