आजदेखि बडादसँको बिदा सुरु भएको छ । अत्यावश्यकबाहेक सरकारी तथा निजी कार्यालय बन्द भएका छन् । शैक्षिक संस्थाहरू त कोरोनाका कारण यसै पनि बन्द थिए । सप्तमी (पूmलपाती) देखि विजयादशमीसम्मको यो चार दिन राजधानी काठमाडौं तथा सहरी क्षेत्र सुनसान हुने भए पनि ग्रामीण क्षेत्रमा भने निकै चहलपहल हुने गर्छ ।
दसैँ मनाउन टाढाटाढाबाट समेत आफ्नो थातथलो फर्कने नेपाली परम्परा नै हो । कोरोनाको महामारीका कारण यसवर्ष विगतमा झैँ निर्धक्क भएर, दुःख बिर्साउँदै गाउँघर फर्कनसक्ने अवस्था छैन । जो जहाँ छौ त्यहीँ बसेर दसैँ मान्न सरकारले पनि पटकपटक आग्रह गरिहेको छ ।
तर, कतिपयले जोखिम हुन्छ भन्ने जान्दाजान्दै पनि सरकारको आग्रहलाई बेवास्था गर्दै दसैँ मान्न गाउँ जाने तरखर गरिरहेका छन् । अनुमान गरिएभन्दा बढी नै मानिसहरू काठमाडौंबाट बाहिरिएका छन् । जसका कारण पहाडका गाउँघरमा पनि कोरोना संक्रमण फैलने जोखिम बढेको छ ।
कचौरा आकारको सानो उपत्यका काठमाडौंमा कोरोना संक्रमणको महामारी छ । मुलुकभरीका कुल सक्रिय संक्रमित मध्ये दुईतिहाइ जति त काठमाडौं उपत्यकामै छन् । एउटा गाउँमा एक जना संक्रमित गएर चार दिन बसी सबै घरमा टीका लगाउन पुग्यो भने के होला ? गाउँले सबै संक्रमित हुन्छन् ।
अहिलेको अवस्था हेर्दा दसैँका बेला एउटा गाउँमा एक जना मात्रै होइन धेरै नै संक्रमितहरू पुग्छन् कि जस्तो देखिन्छ । त्यसैले सावधानी जरुरी छ । कतिपय त बसभित्रै संक्रमित भए होलान् । अब गाउँमा गएर आफ्नो घरमा मात्रै सीमित भई दसैँ मानिदिए हुन्थ्यो । नेपालीको मौलिक चाड दसैँ धार्मिक तथा सांस्कृतिक पर्व मात्रै नभएर सामाजिक तथा आर्थिक पर्व पनि हो । देवी दुर्गाको पूजापाठ तथा भक्ति गरिने भएकोले दसैँ धार्मिक तथा सांस्कृतिक पर्व हो ।
मनोरञ्जन, हर्षोल्लास, मीठोमसिनो खानपान, तथा दाजुभाइ इष्टमित्रहरूको जमघट तथा भेटघाट हुनु भएकोले दसैँ सामाजिक पर्व पनि हो । विश्वको एउटा कुुनामा रहेका नेपाली र अर्को कुनामा रहेका नेपालीबीच भेटघाट हुने मुख्य अवसर भनेकै दसैँ हो । यस हिसाबले दसैँको सामाजिक महत्व निकै ठूलो छ ।
प्रायःजसो नेपालीको घरमा वर्षभरी जति खर्च हुन्छ त्यसको एकतिहाई अंश दसैँका बेला खर्च हुन्छ । औषत नेपालीको घरमा वर्षभरी जति रकम भित्रिन्छ त्यसको एकतिहाइ अंश दसैँकै बेला भित्रिन्छ । किसाननले कृषि उपज बिक्री गरेर सबैभन्दा धेरै रकम भित्र्याउने भनेकै दसैँका अवसरमा हो । त्यसकारण बडादसैँ नेपालीहरूको आर्थिक चाड पनि हो ।
कोरोनाका कारण यसपटक दसैँको रौनक कुनै पनि क्षेत्रमा देखिन पाएन । डर त्रासकाबीच मानिने पर्व होइन दसैँ । जे भए पनि दसैँको औपचारिकता अब केहीदिनमै पूरा हुन्छ । यो संकटको घडीमा सकेसम्म आपूmलाई जोगाऔँ । बडादसैँ २०७७ को मंगलमय शुभकामना ।
प्रतिक्रिया