संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन वरिष्ठ नेता नेपालको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् ।

महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नुपर्नेमा सरकारको यस निर्णयले नागरिकमा आतङ्क सिर्जना गरेको भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् ।

संक्रमक रोगसम्बन्धी विद्यमान कानूनी प्रावधानले पनि सरकारलाई संक्रमितको उपचार गर्ने दायित्व सुम्पिएको स्मरण गराउँदै पूर्व प्रधानमन्त्री नेपालले महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने बताए ।

सरकारले यही कात्तिक २ गतेदेखि विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक तथा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

आज प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालले संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय अनुचित रहेको पनि बताएका छन् । उनले सरकारको निर्णयका आधारमा सरकारी अस्पतालले निःशुल्क उपचार बन्द गरेको कारण संक्रमित नागरिक थप मारमा परेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया