गैँडा संरक्षणमा चितवन राष्ट्रिय निकुञ्ज

गैँडा गणना २०१५ अनुसार हाल नेपालमा ६ सय ४५ ओटा एकसिंगे गैँडा छन् । प्राचीन समयमा नेपाल, भारत, चीन, पाकिस्तान र बर्माका केही भागमा गैँडा पाइने गरेको भए पनि अहिले नेपाल र भारतमा मात्रै एक सिंगे गैँडा अस्तित्वमा रहेका छन् । २००७ सालसम्म ८ सय ५० भन्दा बढी संख्यामा रहेको एकसिंगे गैँडा चोरी सिकारीको निशानामा पर्ने गरेको छ । गैँडाको खाग र खुर विश्व बजारमा अवैध रूपमा महँगो मूल्यमा बिक्री हुने भएकाले पनि यसको चोरी सिकारी हुने गरेको हो । गैँडाको खागले यौनवद्र्धक औषधिको काम गर्ने अन्धविश्वासका कारण चीनमा यसको गैरकानुनी रूपमा बिक्री हुँदै आएको बताउने गरिन्छ ।

नेपालबाट मारिएका गैँडाको खाग चीनमा लगेर बिक्री गर्ने गरिएको संरक्षणकर्मी बताउँछन् । २००७ साल अघिसमम ८ सय ५० भन्दा बढीको संख्यामा रहेका गैँडा २०१३ तिर एक सयको संख्यामा झरेको थियो । २०१४ सालमा चार सय, त्यसको दुई वर्ष पछाडि चीन सय गैँडा मात्रै जीवित रहेको चितवन राष्ट्रिय निकुञ्जको भनाइ छ । चोरी सिकारीका कारण नेपालमा गैँडा मार्ने क्रम नरोकिएपछि २०१९ सालमा गैँडा संरक्षणका लागि अवधारणा तयार पारेर राप्ती नदीको दक्षिणी भागमा महेन्द्र मृगकुञ्ज बनाएर गैँडा संरक्षणको लागि पहल भएको थियो ।

मृगकुञ्ज स्थापनासँगै चितवनका गैँडा जोगाउनको लागि अवकासप्राप्त सैनिकद्वारा ०२३ सालदेखि गैँडा गस्ती सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए । गैँडा गस्ती सुरु भएपछि ०२५ सालमा गैँडाको संख्या केही बढेर १ सय ८ पुगेको उनको भनाइ छ । गैँडा संरक्षणको काम निकै चुनौतीपूर्ण रहेकोले यसको संरक्षणमा निकुञ्ज र सेनाका साथै समुदायको पनि ठूलो भूमिका रहेको कुँवरले बताए ।

गैँडा लगायतका लोपोन्मुख वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले ०२९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन बन्यो । ऐन आउनुभन्दा १५ वर्ष अगाडि नै मस्यौदा बनेको भए पनि राष्ट्रिय निकुञ्ज ऐन आउने बेलासम्म गैँडाको वासस्थानको पहिचानसमेत गरिसकिएको थियो । चितवन र यसको वरिपरिका क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तुको संरक्षण गर्दै सुरक्षा परिचालन गर्ने, अनुमतिविना प्रवेश निषेध गर्दै चितवनको केही जंगली क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्दै ०३० सालमा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरियो ।

लोपोन्मुख प्रजातिका वन्यजन्तुहरूको संरक्षण गर्न भन्दै चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका केही भाग समेट्दै स्थापना गरिएको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल अहिले ९ सय ५२ वर्ग किलोमिटर रहेको छ । सुरुआती अवस्थामा चार जिल्लाको ५ सय ४४ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेर निकुञ्ज स्थापना गरिँदा चितवनमा १ सय ४७ ओटा गैँडा थिए ।

अवकास प्राप्त सेनाले गस्ती गरेपछि निकुञ्जमा गैँडाको संख्या क्रमिक रूपमा बढ्दै गएको पाइन्छ । अवकास प्राप्त सैनिकबाट मात्रै गैँडाको सुरक्षा सम्भव नभएपछि निकुञ्ज स्थापनाको दुई वर्ष पछाडि नै ०३२ सालबाट नेपाली सेनालाई गैँडा संरक्षणको लागि चितवन राष्ट्रिय निकुञ्जमा परिचालन गरियो । निकुञ्ज स्थापनाको पाँच वर्षपछि ०३५ सालमा नै यसको क्षेत्र विस्तार गर्दै ९ सय ३२ वर्ग किलोमिटर पु¥याइएको थियो ।

निकुञ्जको क्षेत्र विस्तारसँगै ०५३ सालमा आएर मध्यवर्ती क्षेत्रसमेत घोषणा गरियो । सरकारले निकुञ्जको वरिपरिको क्षेत्रलाई समेट्दै मध्यवर्ती क्षेत्र घोषणा गरेसँगै वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई समेत सहभागी गराउन थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानदेखि विभिन्न अभियानका कारण निकुञ्ज प्रभावितहरू समेत वन र वन्यजन्तु संरक्षणमा चासो दिँदै आएका बरालको भनाइ छ ।

चोरी सिकारी नियन्त्रणका लागि निकुञ्ज एक्लैको प्रयास सार्थक नहुने र यसका लागि सबैको भूमिका महत्वपूर्ण रहने बरालले बताए । चितवन राष्ट्रिय निकुञ्जको वरिपरी रहेका चितवन, नवलपरासी, मकवानपुर र पर्साको ७ सय ५० वर्गकिलोमिटर क्षेत्रफललाई समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरी निकुञ्जको आम्दानीको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रका बासिन्दालाई दिने व्यवस्था गरियो ।

यससँगै चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको छ । गैँडा संरक्षणको लागि चुनौती पहिचान गरी नियमित गस्तीको काम सुरु गरेपछि चितवन राष्ट्रिय निकुञ्जले चारपटकसम्म शून्य चोरी सिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले बताए । चितवन राष्ट्रिय निकुञ्जमा रहेका विश्वकै दुर्लभ वन्यजन्तु गैँडा संरक्षणको लागि नेपाली सेनाले स्विपिङ अप्रेसन, दैनिक पेट्रोलिङ, वासस्थान व्यवस्थापन, अप्रेसन महाहन्टजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको रामको भनाइ छ ।

निकुञ्जले सन् २०११ मा पहिलोपटक शून्य चोरी सिकारी वर्ष मनाएको थियो । त्यसपछि सन् २०१३ मा शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जले लगातार २०१५ र १६ मासमेत शून्य चोरी शिकारी वर्ष मनाउन सफल भएको रामले बताए । शून्य चोरी सिकारीमा निकुञ्ज, सेना र समुदायको महत्वपूर्ण भूमिका रहेको रामको भनाइ छ ।

सेनाले निकुञ्जको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दाखेल्दै पनि उनीहरुको आँखा छलेर सिकारीले गैँडा मार्दै आएका छन् । लगातार तेस्रोपटक शून्य चोरी सिकारी वर्ष मनाउने तयारीमा रहेको निकुञ्जमा मुख्यालय कसरा नजिकै ०७३ चैत २५ गते राती गैँडा मारेपछि सुरक्षा चुनौती थपियो । ०७४ को वैशाख २० गते निकुञ्जले लगातार तेस्रो र समग्रमा पाचौँपटक शून्य चोरी सिकारी नियन्त्रण मनाउने तयारी गरिरहँदा जगतपुरमा गैँडा मारिएको थियो ।

त्यसपश्चात निकुञ्जमा बढाइएको सुरक्षा सावधानीका कारण केही वर्ष निकुञ्जमा चोरी सिकारीका कारण गैँडाको मृत्यु भएको थिएन । करिब साढे तीनवर्ष पछि पुनः गत भदौ २१ गते चोरी सिकारीका कारण एउटा गैँडाको मृत्यु भएको छ । यद्यपि उक्त गैँडाको खाग र खुर भने सुरक्षित रहेको सहायक संरक्षण अधिकृत रामले जानकारी दिए ।

संक्रमणकालको फाइदा उठाउँदै सिकारीले निकुञ्जका गैँडाहरू आफ्नो पासोमा पार्ने गरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । विशेष गरी सेनाको गण परिवर्तन हुने समयमा निकुञ्जमा चोरी सिकारी बढ्ने गरेको उनको भनाइ छ । हालको सामान्य अवस्थामा बाहेक द्वन्द्वकालमा निकुञ्जका धेरै गैँडा चोरी सिकारीका कारण मरेका उनले बताए । निकुञ्जमा सेनाले सुरक्षा दिएपछि बढ्दै गएको गैँडाको संख्या नेपालभर ०५७ सालमा ६ सय १२ पुग्यो ।

त्यसपछिको केही समय मुलुकको आन्तरिक द्वन्द्वको चपेटामा गैँडासमेत परेको देखिन्छ । ०५९ मा गैँडाको संख्या घटेर ५ सय ४४ पुगेको थियो । लगत्तै ०६२ सालमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या ३ सय ७२ मा झरेको देखिन्छ । त्यो समयमा नेपालभर ४ सय ९ वटा मात्रै गैँडा रहेका थिए । नेपालमा शान्ति प्रक्रियाको थालनी भएपछि भने गैँडाको संरक्षणसमेत विस्तारै बढ्दै गएको बरालले बताए ।

सन् २०१५ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवनमा ६ सय ५ तथा नेपालभर ६ सय ४५ वटा गैँडा पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेनाको पोस्ट द्वन्द्वकालमा सात ओटामा खुम्चिएको थियो भने अहिले ५६ ठाउँमा पोस्ट स्थापना गरिएको छ । ०५२ देखि ०७३ सालसम्म निकुञ्जको गैँडा मुद्दामा फरार रहेका विभिन्न अभियुक्तहरू पक्राउ गर्न सुरक्षाका सबै संयन्त्रसँग सहकार्य गरिएको छ । निकुञ्जले हालसम्म १ सय ५० भन्दा बढी व्यक्तिलाई गैँडा मुद्दामा कारवाही गरिसकेको छ ।

त्यस्तै गैँडा मारेको घटनामा संलग्न रहेको आरोपमा विभिन्न सयभन्दा बढी व्यक्तिको खोजी कार्य जारी राखेको छ । गैँडा मुद्दामा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैँडा विभिन्न समयमा बर्दिया र शुक्लाफाँटामा समेत स्थानान्तरण गरिँदै आएको छ । सन् २००० देखि चितवनका गैँडा बर्दिया र कञ्चनपुर लैजान लागिएकोमा सन् २०१७ सम्म सय गैँडा स्थानान्तरण गरिसकिएको छ । स्थानान्तरण गरिएकामध्ये अहिले ४० वटा गैँडा मात्रै ज्यूँदा रहेका छन् । नेपालबाट दुई वटा गैँडा उपहारस्वरूप चीनलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया