कोरोनाले प्रभावित विकासे आयोजना

माहामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमणको प्रभाव साना तथा ठूला आयोजनामा पर्ने गरेको छ । पाल्पा जिल्लामा खेलमैदान, सडक, सिँचाइ, महिला सामुदायिक भवन, खानेपानी, शिक्षासम्बन्धी आयोजनालगायत समयमै सञ्चालन गर्न नसकिएको यहाँका स्थानीय तहले जनाएका छन् । पाल्पाको रामपुर नगरपालिकामा कोरोनाका कारण नगरपालिकाका दुई वटा नगर गौरवका आयोजना गत आर्थिक वर्षमा सुरु नै गर्न सकिएन । एक करोडको रातमाटा खालिबन जब्गादी सडक र १ करोड २० लाख बजेटको आर्मीक्याम्प डल्ले चौतारी सडक स्तरोन्नति गर्ने ठूला आयोजना सञ्चालन हुन सकेनन् ।

‘कोरोनाको माहामारीले गत वर्ष गर्न नसकिएका आयोजना तथा कार्यक्रमलाई यस आर्थिक वर्षमा पहिलो प्राथमिकता दिएर सञ्चालन गर्ने तयारी गरेका छौँ, शीतभण्डार निर्माण, नगरपालिका कार्यालयको भवन निर्माण कार्य भने कोरोनाको जोखिम परिस्थितिमा पनि निरन्तर सञ्चालन भइरहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने ।  १० वटै वडाका वडागत तथा नगरका गौरवका आयोजना तथा कार्यक्रम कोरोनाको जोखिम परिस्थितिका कारण सञ्चालन हुन सकेन । वडा–१ मा ३४ लाख पाँच हजार, २ मा ४१ लाख ३० हजार, ३ मा ३७ लाख ४० हजार, ४ मा ५० लाख ३४ हजार र वडा नं ५ मा एक करोड २४ लाख २५ हजार बराबर बजेटको काम हुन सकेन ।

त्यस्तै वडा–६ मा ९३ लाख २९ हजार, ७ मा २४ लाख, ८ मा १५ लाख ७५ हजार, ९ मा ३३ लाख ५३ हजार ६ सय ४० र १० मा १७ लाख ५५ हजार गरी जम्मा ४ करोड ७५ लाख ४६ हजार ६ सय ४० बराबरको रकमका विभिन्न आयोजना तथा कार्यक्रम गर्न नसकिएको नगरपालिकाले जनाएको छ । कोरोनाका बाबजुत पनि ठूला आयोजना लसुने ओमभन्ज्याङ देउराली सडक र ओमभन्ज्याङ सुरुमडाँडा पिपर्दी सडक भने एक/एक करोडको लागतमा स्तरोन्नतिको काम सम्पन्न भएका छन् । सो सडक आयोजनाका लागि प्रदेश सरकारबाट ५० लाख, गाउँपालिकाबाट ४० लाख र उपभोक्ताबाट १० लाख रकम छुट्टाइएको थियो ।

आव ०७७÷७८ का लागि ठूला भनिएका ५० लाखका दुई वटा खानेपानी, तीन वटा सडक स्तरोन्नति, एक पर्यटन प्रवद्र्धनका योजना सिफारिस भएका छन् । ठाँटी भञ्ज्याङ खानेपानी, मौलाथर खानेपानी, अघाखोला झेस्काङ गाबुडाँडा मोटरबाटो, मार्सेडाँडा लेनमुनी सडक, सेजुगाउँ पन्टार सडक र रिमिघा पर्यटन प्रवद्र्धनका योजना यो वर्ष सञ्चालन हुनेछन् । ती योजनाका लागि प्रदेश सरकारको २५ र गाउँपालिकाको २५ लाख रकम विनियोजन गरिरएको छ ।

बगनासकाली गाउँपालिकाको टोक्सेभन्ज्यांग यम्घा मद्रान सडक स्तरोन्नतिका लागि एक करोड बजेट निकासा भए पनि कोरोनाकै कारण करिब १० लाख देखि १२ लाखसम्मको मात्र काम भएको छ । आयोजनाका लागि प्रदेश र स्थानीय सरकारबाट ५०/५० लाख रकम विनियोजन भएको थियो ।  त्यस्तै दरुंघादेखि दर्लम महाकाली हुँदै टाकुरासम्मको सडक स्तरोन्नति गर्न प्रदेश र स्थानीय सरकारले ५०/५० लाख रकम विनियोजन गरे पनि करिब आठ लाखसम्मको मात्र काम भएको छ । नयाँ पोखराथोक नायर चौपारी खानीछाप जाने सडकका लागि प्रदेश र स्थानीय सरकारको ५०/५० लाख रकम निकासा भएकोमा करिब १२ लाख बराबरको काम भएको छ ।

गाउँपालिकाका वडागत करिब ८० प्रतिशत योजना सम्पन्न भएका छन् भने गाउँस्तरीय ठूला सडक, खानेपानीजस्ता योजना समयमा नै सम्पन्न गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउँछन् । ‘कोरोनाको कहरले तालिम, गोष्ठी, सभा, समारोहजस्ता कार्यक्रम गर्न नपाइए पनि वडागतका सबै योजना सम्पन्न गरेका छौँ भने गाउँस्तरीय ठूला खालका सडक, खानेपानीका योजना सामान ढुवानीको अभावमा सञ्चालन गर्न सकेनौँ,’ अध्यक्ष बस्यालले भने ।

तिनाउँ गाउँपालिकामा दोभान बजार क्षेत्रमा सडक पक्की गर्नका लागि संसदीय विकास कोषबाट प्राप्त ५० लाखको रकममध्ये ५० प्रतिशत मात्र काम सम्पन्न गरियो भने बाँकी काम बन्दाबन्दीले गर्न नपाएपछि यस आर्थिक वर्षमा सम्पन्न गरिँदैछ । गत वर्ष नै गाउँपालिकाको कार्यालय भवन निर्माण थाल्ने भनिए पनि कोरोनाले गर्दा सुरु भएन ।  कोरोनाकै कारण ओखलढुंगा अंकुशे मोटरबाटोको स्तरोन्नति पनि पूरा हुन सकेन । जसको लागि प्रदेश र गाउँ सरकारले ५०÷५० लाख रकम विनियोजन भएतापनि काम सुरु नै गर्न नसकिएको गाउँपालिको जनाएको छ ।
संघीय सरकारबाट वडा–१ स्थित चिउरे खानेपानी योजना, वडा–४ स्थित धार्मिक पर्यटकीयस्थल सत्यवती ताल पर्यटन प्रवद्र्धनका लागि एक/एक करोड, वडा–६ मा पर्ने शिखरडाँडा खानेपानी आयोजना सञ्चालनका लागि प्रदेश र स्थानीय तहबाट ४०/४० लाख रकम छुट्टाइएको छ ।

माथागढी गाउँपालिकाले भने कारोनाका बाबजुत साना ठूला सबैजसो योजना सम्पन्न गरेको छ । विभिन्न प्राविधिक क्षेत्रका तालिम सञ्चालनार्थ वडा–४ को झडेवामा माथागढी प्राविधिक शिक्षालय निर्माणको काम गर्न समस्या परेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताउछन् ।
पर्यटकीय क्षेत्रतर्फ माथागढीको महत्व जोगाउन सिँढी निर्माण गर्न डिपिआरको काम सम्पन्न गरेको छ । सिँढी निर्माणार्थ विनियोजित १८ लाखमा तीन लाख डिपिआरमा सकिएको छ । यसका लागि प्रदेश सरकारले १५ लाख रकम छुट्टाएको छ । पूर्वखोला गाउँपालिकाको खल्लुभञ्ज्याङ बिर्ताबजार सडक स्तरोन्नति गर्न अघिल्लो आवमा प्रदेश र गाउँपालिकाको ५०÷५० लाख रकम रहे पनि कामै नगरी रकम फ्रिज भएर गयो । यसवर्ष सो आयोजनालाई अगाडि बढाउन प्रदेश सरकारसँग रकम पुनः मागका लागि प्रस्ताव पेश गरिएको छ ।

गाउँपालिकाको सडकसँगैप्रदेश सरकारबाट हुने खानेपानी आयोजना पनि सञ्चालन हुन सकेनन् । वडा–३ स्थित अर्खलडाँडा खानेपानी योजनाको २५ प्रतिशत मात्र काम भयो । बाँकी काम यो वर्ष हुदैछन् । आयोजनाका लागि २० लाख रकम रहेपनि करिब सात लाखको मात्र कार्य प्रगति छ । काम सम्पन्न गर्न आवश्यक रकम प्रदेश सरकारसँग माग गर्ने, प्रदेशबाट रकम प्राप्त नभएमा गाउँपालिका आफैँले रकम निकासा गरेर भए पनि योजना अगाडि बढाउने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताउँछन् ।

प्रदेश सरकारको २० लाख सहयोगमा वडा–५ स्थित बिरकोटमा परेको शिखरडाँडा खानेपानी योजनाको काम भने ७५ प्रतिशत सम्पन्न भयो । बाँकी २५ प्रतिशत काम यसैवर्ष भित्र गाउँपालिकाले रकम निकासा गरेपछि सम्पन्न गरिने जनाइएको छ । यहाँका शिक्षा, स्वास्थ्य, सडक, खानेपानीजस्ता क्षेत्रमा असर परेको छ । सामान ढुवानी गर्न नपाउँदा ठूला आयोजना सञ्चालनमा समस्या भएको छ ।

यस्तै रिब्दिकोट गाउँपालिकाको देउराली ख्याहा मोटरबाटो स्तरोन्नति गर्न एक करोडको बजेट काम नभएपछि फ्रिज भएर गयो । प्रदेश सरकारबाट ५० लाख र पूर्वाधार विकास कोषअन्तर्गत आएको ५० लाख रकम प्राप्त भएको हो । पूर्वाधार विकास कोष अन्तर्गतको ५० लाख रकममध्ये पाँच लाखको मात्र काम भएको छ ।

वडा–८ स्थित बतासे फेक सडक स्तरोन्नति गर्न संघीय सांसद कोषको ४० लाख र गाउँपालिकाको १० लाख रकम थियो । सो रकममध्ये पाँच लाख बराबरको मात्र काम भएको छ । कोप्चेखोला लिफ्टिङ खानेपानी आयोजनाका लागि एक करोडको बजेट रहे पनि पूरा काम सम्पन्न हुन सकेन । सो बजेटमध्ये २० लाख जति रकम फ्रिज भएर गएको छ भने बाँकी काम यसै वर्षभित्र सम्पन्न गर्ने गाउँपालिकाका अध्यक्ष नारायण जिसीले जानकारी दिए । गाउँपालिकामा सडक, खानेपानी र पर्यटन क्षेत्रमा धेरै असर पु¥याएको उनको भनाइ छ ।

रैनादेवी छहरा गाउँपालिकाको ठूला भनिएका सडक, खेलकूद मैदान, भवन निर्माणका कामहरू अलपत्र परेका छन् । गत वर्ष नै बोलपत्र आह्वान गरी १८ महिनाभित्र काम सम्पन्न गर्ने भनेर सम्झौता भएको गाउँपालिकाको कार्यालय भवनको काम सुरु नै भएन ।

यसैगरी कालीगण्डकी सपना सुन्दरी जेभी कन्ट्रक्सन प्रालिमार्फत पाँच करोडको लागतमा काम सक्ने गरी बोलपत्र भएको थियो । कोरोनाको विषम परिस्थितिमा सजगता अपनाएर काम गर्न अनुरोध गरेपनि हालसम्म पनि ठेकेदार कम्पनीले काममा चासो नदिँदा निर्माणको काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताउँछन् ।

‘कोरोनाका बाबजुत पनि साना खालका योजना सबै सम्पन्न गरेका छौँ, गाउँपालिकाको सबैभन्दा ठूलो योजना कार्यालय भवन निर्माण हो, निर्माण कम्पनीले नै आलटाल गरेकाले काम सुरु हुन सकेको छैन,’ उनले भने । त्यस्तै सुन्दरे ढुंगा नेपाने जुठा मोटरबाटो पक्की गर्ने काम पनि रोकिन पुगेको छ । संघ र गाउँपालिकाको समपुरक बजेटबाट १४ करोडको लागतमा हुने दुई वर्षे अवधिको आयोजना गत वर्षबाटै सुरु गर्नुपर्ने भए पनि अहिलेसम्म सुरु भएको छैन ।

निस्दी गाउँपालिकाले १ देखि ७ वडा सम्मकै सडक विस्तार गर्न प्रदेश सरकारबाट एक करोड र गाउँपालिकाबाट एक करोडको बजेट छुट्टाइए पनि काम शुरु गर्न सकिएको छैन । मित्याल बजारको सडक पक्की गर्न ७० लाख बजेट विनियोजन भए पनि कामै गर्न नसकिएको जनाइएको छ । सभाहल निर्माण गर्न प्रदेश सरकारको ६० लाख बजेटमध्ये ३६ लाखको काम भयो बाँकी काम गर्न नसक्दा रकम फिर्ता भयो । गाउँपालिकाको वडा–३ र ६ मा वडा कार्यालय भवन निर्माणका लागि ७० लाख रकम विनियोजन गरिए पनि वडा– ३ मा आठ लाख बराबरको काम सम्पन्न भयो भने वडा–६ मा भने काम सुरु हुन सकेको छैन ।

प्रतिक्रिया