बनेपालीको एकल लघुकथा वाचन

काठमाडौं । साहित्यकार अगिब बनेपालीको एकल लघुकथा वाचन सम्पन्न भएको छ । शनिबार भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा बनेपालीका एक दर्जन लघुकथा वाचन गरिएको थियो । सिर्जनशील लेखन समाजले आयोजना गरेको सो कार्यक्रममा लघुकथा समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम रोदन प्रमुख अतिथि रहेका थिए । उनले बनेपालीका लघुकथामा नेपालको पछिल्लो परिवेशको चित्रण रहेको बताए । उप–प्रा.डा.बालाकृष्ण अधिकारीले वाचित लघुकथामाथि टिप्पणी गरेका थिए । उनले लघुकथाले समकालिन राजनीतिक, सामाजिक तथा मिथकीय विषयलाई उठान गरेको बताए । उनले लघुथामार्फत बनेपाली भ्रष्टाचार, सामाजिक तथा राजनीतिक विकृतिमाथि व्यंग्य गरेको भनाइ राखे ।

डा.पुष्करराज भट्टले लघुकथाकार बनेपालीले पचासको दशकदेखि लघुकथा लेख्न थालेको बताउँदै समसामयिक विषयलाई कलात्मक रुपमा उतार्न सक्ने खुबी उनमा रहेको जिकिर गरे । उनले पछिल्लो समय लघुकथा विस्तारित हुँदै गएको धारणा व्यक्त गरे । सह.प्रा. डा धनप्रसाद सुवेदीले लघुकथाका बारेमा चर्चा गर्दै बनेपालीका लघुकथाले नेपाली समाजको यथार्थलाई प्रस्तुत गरेको बताए । बनेपालीलाई लघुकथा वाचनमा डा.बालाकृष्ण अधिकारी, शान्ति सापकोटा, कल्याण पन्त, मन्दिरा मधुश्री, डा. धनप्रसाद सुवेदी, अभय श्रेष्ठ, चेतनाथ धमला, सुमा श्रेष्ठ, शारदा लामिछाने र राजुराम मुनिकर्मीले सघाएका थिए ।

प्रतिक्रिया