क्यारिकेचर कार्यशाला

काठमाडौं । कार्टुनिस्ट क्लब अफ नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा ‘नेपाली क्यारिकेचर २०७७’ कार्यशाला सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट शुक्रबार भएको सो कार्यशालामा प्रतिष्ठानका प्राज्ञ रमेश खनालले कार्टुनमा क्यारिकेचरको महत्व विशिष्ट रहने विचार व्यक्त गरे । उनले वैश्विक रुपमा फैलिएको कोरोना संक्रमणका कारण यस वर्षको कार्यक्रम भर्चुअल माध्यमबाट गरिएको जानकारी दिए ।

उनले भने, ‘विश्वमा क्यारिकेचरको महत्व र विशिष्टता १६औं शताब्दीदेखि सुरु भएको हो । नेपालमा भने सात दशकअघि सुरु भए पनि चालिसको दशकपछि यसको विकास प्रभावकारी रुपले भएको पाइन्छ ।’ प्राज्ञ खनालले समाजमा कार्टुनले सामाजिक सन्देशलाई सटिक र प्रभावकारी ढंगले प्रवाह गर्ने भएकाले यसको ग्रहणीयता जनस्तरसम्म रहेको जिकिर गरे । उनले थपे, ‘प्रतिष्ठानले नेपाली कार्टुनको खोज अनुसन्धानमा काम गरिरहेको छ । यसअघि पनि प्रतिष्ठानले कार्टुन प्रदर्शनी, कार्यशाला, पुस्तक प्रकाशन लगायतका काम गरिसकेको छ ।’ खनालले पत्रकारितामा समेत कार्टुनको आवश्यकता बढेर गएको बताउँदै पत्रिका पढ्दा पाठकले पहिला कार्टुन हेर्ने बताए ।

कार्टुनिस्ट क्लबका सचिव योगेशकुमार खपांगीले क्यारिकेचरमा चलेका पछिल्ला ट्रेनका विषयमा चर्चा गर्दै क्यारिकेचर कार्टुनको मुख्य अंग भएको बताए । उनले क्यारिकेचरले कार्टुनिस्टको क्षमतालाई प्रकट गर्ने भएकाले यसमा दख्खल राख्नुपर्ने विचार राखे ।  क्लबका सल्लाहकार अशोकमान सिंले नेपालमा संस्थागत ढंगले क्लबले कार्टुन र यसका विविध आयामका बारेमा काम गर्दै आएको सुनाए । उनले क्यारिकेचर कार्टुनको मुटु भएको सुनाउँदै यसले कार्टुनलाई विशिष्ट बनाउने धारणा व्यक्त गरे ।

क्लबका अध्यक्ष अविन श्रेष्ठले कार्टुन र क्यारिकेचरका बारेमा चर्चा गर्दै नेपाली कार्टुनिस्टले कला पक्षमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले विचारलाई कलामार्फत अभिव्यक्त गर्नु नै कार्टुन भएको बताए । उनले क्यारिकेचरमा रेखा र रङसँगै भाव पक्ष पनि सशक्त रुपमा आउनुपर्ने बताउँदै भने, ‘कार्टुनमा क्यारिकेचर मुख्य पक्ष हो । यसमा कार्टुनिस्ट दक्ष हुनुका साथै भावलाई प्रभावकारी रुपले उतार्न सक्ने हुनुपर्छ ।’ श्रेष्ठले क्यारिकेचर व्यक्ति वा वस्तुको अतिरञ्जनापूर्ण प्रस्तुति भएको सुनाउँदै रङ र रेखामार्फत कार्टुनिस्टले क्यारिकेचरमा वस्तु वा व्यक्तिको व्यक्तित्व झल्काउन सक्नुपर्नेमा जोड दिए ।

उनले विचार पक्षमा नेपाली कार्टुन अगाडि रहे पनि कला पक्षमा अझै सुधार गर्नुपर्ने जोड दिए । उनले पछिल्लो समय नेपालमा कार्टुनको महत्व बढ्दै गएको र कार्टुनिस्टको कमी रहेको बताए । त्यस्तै, भर्चुअल कार्यशालामा रवि मिश्र, योगेश खपांगी, अविन श्रेष्ठले क्यारिकेचर बनाएका थिए । सो कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल, आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङ लगायत तीन दर्जन सहभागी भएका थिए । विगत चार वर्षदेखि नियमित रुपमा क्लबले कार्यशाला, प्रतियोगिता तथा प्रदर्शनी गर्दै आएको जनाउँदै क्लबका सदस्य रवि मिश्रले यस वर्ष कोरोना कहरका कारण भर्चुअल प्रदर्शनी गरिने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार पुरस्कारका साथै प्रमाणपत्र पाउने छन् ।

प्रतिक्रिया