खोजखबर

नेकपा विसर्जनको खतरातिर

पुरुषोत्तम पौडेल २०७७ कार्तिक २ गते ७:५५ मा प्रकाशित

पुरुषोत्तम पौडेल

गज्जब लाग्छ, हामी पानीजहाज कार्यालय उद्घाटन, ग्यास पाइपलाइन उद्घाटन, हावाबाट बिजुली निकाल्ने कार्यक्रमको शिलान्यास, प्रधानमन्त्रीको क्वाटर शिलान्यास, संसद् भवन शिलान्यास, राष्ट्रपति क्वाटर शिलान्यास, मुख्यमन्त्रीहरूका लागि भेँसेपाटीमा आवास शिलान्यास गरेर विकासको बाढी ल्याएको ठानिरहेका छौँ

नेपाल कम्युनिस्ट पार्टीको सरकार गठन भएको तीन वर्ष पुग्न लाग्यो । सरकारको नेतृत्व नेकपाका शक्तिशाली एवं लोकप्रिय नेता केपी शर्मा ओलीले गरी रहनुभएको छ । करीब दुईतिहाइ बहुमत नजिक रहेको नेकपाको सरकारले दुई वर्षसम्म दुईतिहाइ बहुमत पुर्याएर सरकार चलायो । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाहेक सबै दलको समर्थन प्राप्त गर्न पनि सफल भयो । लामो समय नेपालले उठाउँदै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालको नक्सा जारी गर्न र निशानछापका सवालमा संविधान संशोधन गर्न सफल भयो । यीवाहेक आमजनसरोकारका सवालमा सरकारको अवस्था के छ ? स्थिरता विकाश र सामाजिक न्यायको सुन्दर फ्रेमवर्कभित्र खडा भएको नेकपाको सरकारको मूल्यांकन गर्न अब ढिला गर्नुहुन्न ।

देशमा पहिलोपटक कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार गठन भएको हुनाले आमजनतामा व्यापक आशा र उत्साह हुनु स्वभाविक थियो । लामो समयसम्म त्याग र समर्पणका साथ शान्तिपूर्ण जनसंघर्षको नेतृत्व गरेर आएको पार्टी नेकपा एमाले र सशस्त्र जनयुद्धको माध्यमबाट क्रान्तिकारी परिवर्तनको चाहनासहित ठूलो वलिदान गरेर आएको पार्टी नेकपा माओवादी केन्द्रको संयुक्त चुनावी घोषणा पत्र र बहुमतको सरकारमार्फत ठूलो परिवर्तन गरिने नाराले नेपाली जनतालाई अझ बढी आकर्षित गरेको थियो । दुवै पार्टीको तर्फबाट लामो समयसम्म देश र जनताको सेवा गरेर मुलुकमा व्यापक परिवर्तन ल्याउने अठोट व्यक्त भएको थियो । सिंहदरबारको अधिकार गाउँमा ल्याएर जनतालाई देशको मालिक बनाउने उद्‍घोष गरिएको थियो ।

निर्वाचन प्रचारमा नेकपा एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डका मेची–महाकाली भ्रमण र भ्रमणका क्रममा जनताका बीच व्यक्त भएका उद्गार र व्यक्त भएका प्रतिवद्धताको कुरा अलग छ । यस क्रममा हामीले विकासका मामिलामा आकाशपाताल जोड्यौँ । सामाजिक सुरक्षा, वर्गीय र जातीय विभेदको अन्त्य अनि र सम–न्यायको कुरालाई जोडदार ढंगले उठायौँ । महिला, दलित तथा जनजातिका अधिकारका सवालमा सवैलाई एक ठाउँमा जोड्याैँ । यी सबै कुरा आजकल सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हेर्न र सुन्न पाइन्छ । त्यतिखेर हामीले गरेका भाषणका क्लिप्सहरू र चुनाव घोषणा पत्रका एजेन्डाहरू अनि पार्टीले अघि सारेका कार्यक्रमिक दस्तावेजहरूलाई अगाडि राखेर आफूलाई समीक्षा गर्ने बेला घर्किन लागिसकेको छ ।

लोकतन्त्रमा विरोधीहरूको विरोधलाई पनि सुनेर तथ्यबाट पुष्टि हुन्छ भने कदर गरिन्छ । आमजनताको प्रतिक्रिया आफ्नो ठाउँमा छ । कार्यकर्ताहरूको आलोचना, सुझाव र टिप्पणी छँदै छ । पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरूको अनुभव र अनुभूति छुट्टै हुन सक्छन् । अहिले पार्टीको उपल्लो तह सचिवालय भित्रको गुनासो र स्थायी कमिटीे भित्रको असन्तुष्टि र उसले गरेका निर्णयलाई नै अध्ययन गर्दा पुग्छ । हामी कता गइरहेका छाैँ ? हामी के के गरिरहेका छौँ ? सरकारका कामप्रति आमअसन्तुष्टिका कारण के हुन सक्छ ? आम जनता, नेता र कार्यकर्ताहरूमा किन व्यापक गुनासो छ ? मान्छे त्यसै त बौलाउँदैन । आखिर हामी भित्रको कमजोरीचाहिँ के हो ? हाम्रो कामले किन नतिजा दिन सकिरहेको छैन ? यतातिर अलिकति सोच्नु आवश्यक भइसकेको छ ।

हामीले विकासका ठूला आयोजनाका कुरा गर्यौँ । चामत्कारिक विकासका कुरा गर्यौं । शपथ ग्रहण लगत्तै स्वयं सम्माननीय प्रधानमन्त्रीले दुई वर्षमा नतिजा दिन्छाैँ भन्नुभएको थियो । आजसम्म एउटा मेलम्चीको पानी आई पुगेन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरू गर्ने अत्तोपत्तो छैन । आजसम्म कतिवटा ठूला आयोजना सुरू गर्यौँ ? हामी पोखरा, लुम्बिनी र अरू कतिपय विमानस्थलका कुरा गर्छौं । यी आयोजना हामीले सुरू गरेर तीन वर्षमा पूरा गरेका होइनाैँ ? अपर तामाकोसी र मेलम्चीका कुरा गर्यौँ । यिनको न्वारान कताबाट कहिले भएको हो ? कमसेकम यिनै योजना पनि के हामीले समयमा पूरा गर्न सक्याैँ ? विभिन्न राजमार्गका कुरा गर्छाैँ हाम्रो घोषणापत्रले बोलेको फास्ट–ट्रयाकलाई समयमा सक्न के गर्दै छौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल किन बेवारिसे भयो ? ठूलठूलो स्वरले बोलेका समानुपातिक विकाश आयोजना कता छन् ? न्यायपूर्ण बजेट वितरणको नारा कता हराएको छ । हामीले मूल्यांकन गरेका छौँ ?

नेपाल कम्युनिस्ट पार्टी वर्गको राजनीति गरेर आएको पार्टी हो । यो मार्क्ससवादी विचारको आधारमा जनताबाट उठेको पार्टी हो । यो विचार र सिद्धान्तले नै गरिब तथा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । क्रान्तिकारी परिवर्तन र गरिब जनताको मुक्तिको निम्ति लडेर आएको पार्टी अहिले व्यवहारमा वर्गीय पक्षधरता र माक्र्सवादको वकालत गर्न सकिरहेको छैन । कम्युनिस्ट सरकारका विकास आयोजनाहरूको सञ्चालन पुरानै तरिकाबाट भइरहेका छन् । बजेट वितरणको तरिका अहिले पनि पद प्रतिष्ठा र पावरकै पछाडि कुदिरहेका छन् ।

विकास आयोजनाका ठेक्कापट्टा मिलेमतो र भ्रष्टाचारका दुर्गन्धमा कमी आएको छैन । सरकारले गर्ने राजनीतिक नियुक्ति र अवसरको वितरणका लागि कुनै व्यवस्थित विधि र प्रणाली छैन । बनाइएका विधि प्रणाली कार्यकर्ताहरू र जनतालाई अल्मल्याउने कागज मात्र भएका छन् । ‘चाकडी गर फल खाउ’ नै हाम्रो सिद्धान्तको रूपमा देखिएको छ । अझ हामीले लक्षित गरेको वर्ग र समुदाय हाम्रा नियुक्ति तथा बढुवाका प्राथमिकताको कुरै छोडौ घेराभित्र पनि परिरहेका छैनन् । हाम्रो हालत डरलाग्दो भइसकेको छ ।

हामी आमजनताको शिक्षाको सुविधा र स्तर बढाउन सकिरहेका छैनाैँ । कोभिड–१९ को आक्रमणले स्वास्थ्य क्षेत्रको हावा खुस्काइदिएको छ । रोजगारीको क्षेत्रमा हामीले एककदम उचाल्न सकेनाैँ । कोभिडबाट बाँच्नका लागि भारतसहित विभिन्न देशबाट आएका मजदुर साथीहरू जीवनलाई जोखिममा राख्दै पुनः उतै फर्कन वाध्य भए । रत्नपार्कमा एक छाक खानका लागि लाइन लागेको देखेर पनि हाम्रो सरकार आँखा खोलिरहेको छैन । सरकारमा बसेका र सरकारमा जान खुट्टा उचालेका नेताहरू सुन्दर र आकर्षक मन्त्रालय आफ्नो भागमा पार्न र विश्वास अविश्वासको सतरंज खेलमा मग्न देखिएका छन् ।

गज्जब लाग्छ हामी पानीजहाज कार्यालय उद्घाटन, ग्यास पाइपलाइन उद्घाटन, हावाबाट बिजुली निकाल्ने कार्यक्रमको शिलान्यास, प्रधानमन्त्रीको क्वाटर शिलान्यास, संसद् भवन शिलान्यास, राष्ट्रपति क्वाटर शिलान्यास, मुख्यमन्त्रीहरूका लागि भेँसेपाटीमा आवास शिलान्यास गरेर विकासको बाढी ल्याएको ठानिरहेका छौँ । किसानले रासायनिक मल पाएनन् । मजदुरले ज्याला पाएनन् । अनौपचारिक क्षेत्रका श्रमिकहरूले खान पाएनन् । बेरोजगार युवाहरूले कामको मेसो पाएनन् । यतातिर हाम्रो ध्यान गएको छैन । जान खोजेको पनि देखिँदैन । हामी आफूलाई कम्युनिस्ट भनिरहेका छौँ । के कम्युनिस्टले गर्ने कामको तरिका यस्तै हो ?

हाम्रो काम गर्ने तरिकामा समेत कुनै परिवर्तन आएको छैन । हामी सरकार चलाइरहेका छौ तर सरकारी निकाय र सेवामुखी कार्यालयहरूमा जनतालाई हेर्ने सोच र काम गर्ने शैलीमा कुनै परिवर्तन आएको छैन । त्यहाँ भ्रष्टाचारी र कमिसन खोरहरूको बिगबिगी यथावत छ । मानौँ या नमानौँ अहिले पनि जनताको नजरमा हामी, हाम्रो पार्टी र हाम्रो सरकार पूरै सामन्ति चरित्रमा देखिइरहेको छ । हाम्रो ठाँट–वाँट, हाम्रो वर–व्यवहार, हाम्रो शान–शौकत सामन्ती राजाको पालामा भन्दा थोरै पनि कम देखिएको छैन ।

नेपाली जनताले गणतन्त्र ल्याएर पनि आफ्नो हिसाब र मूल्य बढेको अनुभूति गरेको छैन । यसको मतलब के हुन्छ भने हामीले जीवनभरी लडाइँ गरेको अनि वर्षांै जेल बसेको सबै बेकार भइरहेको छ ? अझ नेकपाभित्र विगत ६÷६ महिना चलेको अन्तर–संघर्ष र सहमतिको समाधानसमेत देखावटी प्रमाणित हुँदै छ । यदि, यही तरिकाले अगाडि बढ्दै जाने हो भने हाम्रो वदहालीलाई कसैले रोक्न सक्दैन । अब नेकपा भित्रका नयाँ पुस्ताले सोच्नु आवश्यक छ । देश र जनताको भविष्यका लागि दबाब बढाउनु आवश्यक छ । अन्यथा देशको बर्बादी र नेकपाको विसर्जन रोक्न कठिन हुनेछ, चेतना भया ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय