दैलेख अस्पताल सिल

दैलेख । दैलेख जिल्ला अस्पतालमा कार्यरत एक जना चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार आएको पिसिआर रिपोर्टअनुसार अस्पतालमा कार्यरत एक जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेख, दैलेख जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. निरञ्जन पन्तले जानकारी दिए । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । शनिबारदेखि कात्तिक ४ गतेसम्मका लागि इमरजेन्सी सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. पन्तले जानकारी दिए ।

यसैबीच शुक्रबार जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी हाल दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ‘खोकी लागेपछि कोरोनाको शंका लागेर परीक्षण गराएका थिए, परीक्षण गर्दा संक्रमण पुष्टि भयो,’ उनले भने, ‘मैले काम गर्ने सिलसिलामा धेरै व्यक्तिहरूसँग भेटघाट भएको छ, मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’ यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी दैलेखका सह–संयोजक हेमन्त दशौँदीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । शनिबार मात्रै चार महिला र १८ पुरुषसहित २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार २ सय २४ जना पुगेको छ । ती मध्ये १ हजार १ सय २४ जना निको भई डिस्चार्ज भइसकेका छन् । हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या सय जना छन् ।

यता स्थानीय प्रशासनले दैलेख सदरमुकामका होटल, चियानास्ता पसल र रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले सदरमुकामका होटल, चियानास्ता पसल र रेस्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन दिएको हो । सूचनामा कोरोना भाइरस (कोभिड–१९) का कारण दैलेख बजार क्षेत्रमा होटल व्यवसाय गर्ने व्यवसायीहरू ठूलो संख्यामा संक्रमित हुँदै गएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि होटल, चियानास्ता पसल र रेस्टुरेन्टहरू तत्कालका लागि बन्द गर्न भनिएको छ ।

विश्वव्यापी रूपमा फैलिइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र जिल्लागत संरचनाको बैठकको निर्णयअनुसार कोरोना संक्रमण पुष्टि भएका व्यवसाय गर्ने व्यवसायी र व्यवसायीको परिवारका सदस्यहरु प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल, व्यवसाय र सेवाहरु पूर्णरूपमा बन्द गर्नुपर्नेछ । फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सर्तकता मापदण्ड अनिवार्य प्रयोग गर्ने तथा अनिवार्य रूपमा व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया