‘गाँवै रमाइलो’ बाट सवितालाई पहिलो सर्वोत्कृष्ट अवार्ड

काठमाडौं । लोकदोहोरी गायिका सविता परियारले पहिलो पटक सर्वोत्कृष्ट अवार्ड हात पारेकी छन् । उनले केही दिन अगाडि बजारमा आएको ‘गाँवै रमाइलो’ बोलको गीतमा सर्वोत्कृष्ट गायिकाको विधातर्फ नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ को अवार्ड हात पारेकी हुन् ।

उक्त गीतमा गायिका परियारलाई गायक विमल परियारले आवाजमा साथ दिएका छन् । सो गीत अहिले आम दर्शक स्रोताले मन पराइरहेका छन् । भर्खरै सम्पन्न ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई सम्मान तथा प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको आयोजक टिमले जनाएका छन् ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गायिका मन्जु पौडेल, निर्देशक प्रकाश भट्ट, कलाकार विनोद केसी, कलाकार उत्तम केसी, निर्माता तथा युवा नेता मदुकुमार श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

अवार्डको सल्लाहकार समूहमा चलचित्र लेखक तथा निर्देशक मोहन निरौला, चलचित्र निर्देशक, कलाकार एवं संचारकर्मी दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ रंग पत्रकार विदुर गिरी, अभिनेता तथा निर्माता नवराज श्रेष्ठ रहेका थिए । यस अवार्ड हात पारेसँगै गायिका सविता परियारले कलाकारीता क्षेत्रमा अझै अगाडि बढ्न थप हौसला प्राप्त भएको बताइन् ।

प्रतिक्रिया