संगीतमा शरदको छलाङ

काठमाडौं । शरदराज मैनाली नेपाली सांगीतिक क्षेत्रमा चिनिएको नाम हो । यस क्षेत्रमा उनी गीतकार तथा संगीतकारको रुपमा परिचित छन् । सानैदेखि गीतसंगीतको नशामा डुब्ने स्वभावका कारण उनी साथीको एक समूह बनाएर समेत गीत संगीतमा रमाउँथे । अनुशासित, गहन र दर्शकको मनछुने शब्द चयन गरेर गीत लेख्दै आएका उनका शब्दमा चिनिएका गायक गायिकाले स्वर दिएका छन् । शशि रावल, रेश्मा सुनवार, रजिना रिमाल, मनिषा मैनाली, नवीन के. भट्टराई, सनुप पौडेल, राजेन्द्रकुमार कार्की, सन्तोष लामा, मनिष सिंह अधिकारी (युग ब्याण्ड), अतुल कार्की (स्ट्रिटब्याण्ड), नेपाल आइडलका निशान भट्टराई, विवेक आचार्य, सन्दीप कार्की लगायतले चर्चित गायक गायिकाले उनका गीतमा सुमधुर आवाज दिएका छन् ।

जनजीवनसँग नजिक रहेर गीत लेखन गर्दै आएका उनले सन् २००१ मा ‘अब्लेज शोल’ नामक ब्याण्ड समूह बनाएर सांगीतिक यात्रा थालेका थिए । ‘गीत संगीतमा उत्कृष्ट र फरकपन दिलाउने अब्लेज शोल ब्याण्डको उद्देश्य हुने गथ्र्यो,’ शरदले सम्झिए, ‘अब्लेज शोल ब्याण्डले थोपा एब्लमबाट सांगीतिक करिअर सुरु गरेको थियो ।’  उनले आठ वटा गीत रहेको उक्त एल्बममा केही रक र केही गीत पप, मेलोडी र सेन्टिमेन्टल समेत समेटिएको जानकारी दिए । शरदले भने, ‘पहिलो एल्बमपछि ब्याण्डका साथीहरु विदेशतिर लागें । मैले पनि गीत संगीतलाई निरन्तरता दिन सकिन ।’ वीरगञ्जमा जन्मि हुर्किएका शरद पछिल्लो समय राजधानीको कपन बालुवाखानी निवासी हुन् ।

ब्याण्डका लागि ‘मिठो सपना’ गीतमा शब्द तथा संगीत गरेका शरदलाई गीतको संगीतमा प्रदीप मानन्धरले सघाएका थिए । सो समयदेखि संगीतमा होमिएका उनी अहिले गीत लेखन र संगीतमा समेत निरन्तर लागिरहेका छन् । उनले आफ्नो विगत सम्झिँदै भने, ‘त्यतिबेला म भर्खरै गिटार सिक्दै थिएँ । नयाँ जोश जाँगर लिएर काम गर्दैगर्दा देखेको मिठो सपना मिठो हुँदै रहेछ । त्यही भएर पहिलो एल्बमको नाम नै मिठो सपना राखियो ।’

पहिलो एल्बमपछि ब्याण्ड अब्लेज शोलका साथीहरु रोजगारीको सिलसिलामा तिरबितर भएपछि उनले फेरि युग ब्याण्ड स्थापना गरे । जसमा ३ सदस्यमात्र थिए । जसमा मनिषसिंह अधिकारी, कपिलध्वज थापासँगै उनी लिड भोकलिस्ट । युग ब्याण्डसँग काम गर्दागर्दै ‘७ सालको क्रान्ति’ बोलको गीत उनले लेखेका थिए । उक्त गीतको शब्दका कारण नेपालका चलेका गीतकारले समेत शरदको प्रशंसा गरेका थिए । उनीहरुले गीतले फरक धार र फरक सोच ल्याउन सफल भएको बताएका थिए । उनका यो गीतले कतिपय नवगीतकारलाई समेत प्रेरित गरेको थियो ।
युग ब्याण्ड अगाडि बढाउँदै गर्दा शरदको हातमा चलचित्र ‘द्रव्य’ को संगीत गर्ने जिम्मेवारी हात लाग्यो । उनी पनि यस्तै मौकाको खोजीमा थिए । चलचित्रका लागि उनले तीन गीत आफ्नै शब्द तथा संगीतमा तयार पारे । ‘चलचित्रमा संगीत गर्ने काम पाउँदा ममा खुसीको सीमा थिएन’ उनले भने ‘शून्य पारिश्रमिकमा मैले संगीत गर्नुप¥यो । अवसरका लागि त्यो पनि गरे ।’

चलचित्रमा रहेको ‘नशामा डुबीडुबी’, ‘निलो आकाश’ र ‘नौलो नौलो बिहानी’ गीतमा उनको संगीत रहेको थियो । जसमा गायिका रेशमा सुनुवार, रजिना रिकाल, सन्तोष लामा र मनिष सिंह अधिकारीले स्वर दिएका थिए । गीत संगीतलाई निरन्तरता दिने सोच हुँदाहुँदै पनि पारिवारिक समस्याका कारण रोजगारीका लागि उनी सन् २०१३ युएई गए ।  गीत संगीतको नसा लागिसकेका उनले युएईमा पनि त्यसलाई भुल्न सकेनन् । त्यहाँ हुँदा पनि उनी गीत संगीतमा नै सक्रिय रहिरहे । उतैबाट उनी नेपालमा रहेका चर्चित गायक गायिकालाई गीतका शब्द र त्यसको संगीतसमेत गरेर पठाउने गर्दथे ।

सनुप पौडेल तथा शशि रावलको निकै चर्चा कमाएको गीत ‘सागरको गहिराई’ उनले उतैबाट पठाएका थिए । त्यसपछि गायक नवीन के. भट्टराईसँग उनले ‘तिमी नै’ बोलको गीतमा काम गरे । यो गीत नवीनलाई उनले सन् २०११ मै सुनाएका थिए । तर गीत रेकर्डको अवसर भने उनी युएईबाट बिदामा आउँदा जु¥यो । गीतको भिडियोसमेत उनी आफैले निर्देशन गरेका थिए । यसै क्षेत्रबाट थुप्रै अवार्ड र पुरस्कार पाएका उनले नेसनल पावर न्युजद्वारा आयोजित अवार्डमा ‘चोयाको डोको’ बोलको लोकदोहोरी गीतबाट समेत उत्कृष्ट गीतकारको अवार्ड थापेका थिए । त्यसपछि उनले ‘तिमी नै’ गीतबाट पनि राष्ट्रिय संगीतकर्मी संघद्वारा आयोजित अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड हात पारे ।

नवीन के. भट्टराई, सञ्जय श्रेष्ठ, विजय गुरुङ लगायतका गायकको गीतबाट संगीतप्रति आकर्षित भएको सुनाए । उनले नवीन के भट्टराईले भर्खर ल्याएको एल्बममा तीन गीतको शब्द तथा दुई गीतमा संगीतसमेत भरेका छन् ।  कर्मा ब्याण्डबाट धेरैको साथ र सहयोग पाएका उनले लेखेका गीतलाई दीपक बज्राचार्य, दिपेश मुल्मी, जेम्स प्रधान, कमलमान सिंह, सुरेन्द्रमान सिंह, भूपेन्द्र बज्राचार्यले समेत मनपराउने गर्दछन् ।
पुराना तथा नयाँ पुस्तामाँझ भिजेका गीतकारका रुपमा परिचित शरदले आफ्नै शब्द तथा संगीतमा सात गीत ल्याउने तर्खरमा छन् । जसमा युग ब्याण्डको पुरानो गीत ‘मिठो सपना’ लाई केको बदलामा नाम दिएर ‘मिठो सपना २’ समेत ल्याएका छन् । करिब दुई महिनाअघि सार्वजनिक यो गीत अहिले चर्चामा समेत रहेको छ । गीतमा नवीन के. भट्टराई, विवेक आचार्य र शरद आफैले स्वर दिएका छन् । गीतको भिडियोसमेत निर्माण भएको छ । जुन अमेरिकामा छायांकन भएको हो ।

प्रतिक्रिया