एकै गाउँका दुई शव फेला

महोत्तरी । जिल्लाको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो भने खुश्बुको शव उनको घरदेखि पाँच मिटर उत्तरमा रहेको आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । उनीहरु दुवै के–कति कारणले झुण्डिएको अथवा उनीहरुको मृत्यु कसरी भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।

महोत्तरीका अर्का सङ्क्रमितको मृत्यु

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

मिर्गौला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा २६ गते उनी कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ युवक सिकिस्त बिरामी भएपछि मंङ्गलबार उनको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ । युवकको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।– रासस

प्रतिक्रिया