कोरोना परीक्षणका लागि एन्टिजेन किट

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का संक्रमित बढ्न थालेपछि सरकारले एन्टिजेन परीक्षणका लागि स्वीकृति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालालाई मात्रै आधादेखि एक घण्टामा रिपोर्ट दिन सकिने एन्टिजेन परीक्षण गर्न पाउने अनुमति दिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ असोजमै राष्ट्रिय परीक्षण मापदण्डलाई चौथोपटक परिमार्जन गर्दै एन्टिजेन परीक्षणका लागि बाटो खोलेको थियो । तर, गाइडलाइन नहुँदा परीक्षण भने सुरु हुन सकेको थिएन । यो विधिबाट कोरोना पोजेटिभ केस पत्ता लगाउन सजिलो हुन्छ भने नेगेटिभ रिपोर्ट भने भरपर्दो हुनेछैन ।

एन्टिजेन परीक्षणमा कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ । यदि नमुनामा सो प्रोटिन रहेको देखिए त्यसको उपस्थितिले शरीरमा भाइरस सक्रिय रहेको जनाउँछ । एन्टिजेनकै प्रतिक्रिया स्वरूप शरीरले एन्टिबडी उत्पादन गर्छ । यो परीक्षण गर्ने प्रक्रिया र पहिला प्रयोग गरिएको एन्टिबडी परीक्षणको प्रविधि लगभग उस्तै नै हो । तर, यसले पिसिआरजस्तो शतप्रतिशत नतिजा भने दिँदैन ।  स्वास्थ्य मन्त्रालयले जारी गरेको परीक्षण मापदण्डमा धेरै व्यक्तिको एकैपटक परीक्षण गर्नुपरे, छिटो निक्र्यौल गर्नुपर्ने अवस्था रहे तथा एकै स्थानमा धेरैजना बसोवास गर्ने स्थानजस्तै ब्यारेक, कारागार तथा वृद्धाश्रम लगायतका स्थानमा एन्टिजेनमा आधारित द्रुत परीक्षण किटबाट परीक्षण गर्न सकिने उल्लेख छ ।

एन्टिजेन किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आए त्यसलाई पोजिटिभ नै मानेर थप प्रक्रिया अगाडि बढाउनुपर्छ । तर, निगेटिभ रिपोर्ट आएमा भने त्यसलाई पूर्ण रूपमा निगेटिभ मान्न भने पाइने छैन । परीक्षण गरिएको व्यक्तिमा संक्रमणको कुनै पनि लक्षण छैन र एन्टिजेनमा निगेटिभ रिपोर्ट आएको र सो व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा पनि परेको छैन भने पिसिआर नगरे पनि हुन्छ । तर, यदी परीक्षण गरिएको व्यक्तिमा संक्रमणको लक्षण छ भने सो व्यक्तिको पिसिआर गर्न सुझाइएको छ । पिसिआर उपलब्ध नभए पुनः एन्टिजेन परीक्षण नै गर्न भनिएको छ । त्यसपछि पोजिटिभ वा निगेटिभ जे रिपोर्ट आउँछ सोहीअनुसार उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयले एन्टिजेन किट परीक्षणका लागि डब्लुएचओ, एफडिए, इयुएबाट र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त किटहरू प्रयोग गर्न भनेको छ । डब्लुएचओले केही साता अगाडि एबोट र एसडी बायोसेन्सर ब्रान्डका दुई एन्टिजेन किटको प्रयोग गर्न अनुमति दिएको थियो । चिकित्सकहरूका अनुसार यो परीक्षणबाट कोरोना पोजेटिभ भएको केस देखाउने बताए । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले पिसिआर परीक्षण नभएको स्थानका लागि एन्टिजेन निकै उपयोगी हुने बताए ।  परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने गाइडलाइनमा उल्लेख छ । एन्टिजेन्ट परीक्षणको शुल्क एक हजार तोकिएको छ ।

३ हजार ५ सय ५६ संक्रमित थप
मंगलबार ३ हजार ५ सय ५६ जनालाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ५ सय ५६ जनामा संक्रमण देखिएको जानकारी दिए ।
मंगलबारसम्म १२ लाख ७ हजार ९१ पिसिआर परीक्षण गरिएकामा १ लाख १५ हजार ३ सय ५८ जनामा संक्रमण देखिएको छ । उनका अनुसार विगत २४ घण्टामा १ हजार ५ सय ३ जना संक्रमण निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म ७८ हजार ७ सय ८० जनाको रोग निको भएको छ । नेपालमा निको हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ । अझै पनि ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म सघन उपचार कक्ष (आइसियु) मा ३ सय ७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना संक्रमण देखिएको छ । तीमध्ये ७ सय ८९ महिला र १ हजार ३ सय ४० जना पुरुष रहेका छन् । काठमाडौं जिल्लामा १ हजार ७ सय ४६ जना, ललितपुरमा २ सय १६ जना र भक्तपुरमा १ सय ६७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया