पाँच दर्जनलाई अवार्ड,

काठमाडौं । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारलाई सम्मान गरिएको छ । क्रियटिभ इन्साइट मिडियाको आयोजनामा राजधानीमा ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७७’ सम्पन्न भएको हो । नेपाली कला तथा संस्कृतिको क्षेत्रमा निरन्तर रुपमा काम गरिरहेका कलाकारलाई सम्मान एवं प्रोत्साहन दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।  उक्त अवार्डमा गीत संगीत, चित्रकला र सौन्दर्य कलामा सक्रिय व्यक्तित्वको सहभागिता रहेको थियो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गायिका मञ्जु पौडेल, निर्देशक प्रकाश भट्ट, कलाकार विनोद केसी, उत्तम केसी, निर्माता मदुकुमार श्रेष्ठ, समाजसेवी प्रकाशकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । अवार्डको सल्लाहकार समूहमा चलचित्र लेखक तथा निर्देशक मोहन निरौला, चलचित्र निर्देशक, कलाकार एवं सञ्चारकर्मी दिनेश डिसी, गायिका देविका बन्दना, रंग पत्रकार विदुर गिरी, अभिनेता तथा निर्माता नवराज श्रेष्ठ रहेका थिए ।

शुभकामना मिडिया सोलुसनले इभेन्ट व्यवस्थापन गरेको सो कार्यक्रमको आयोजक कमिटीमा अध्यक्ष सूर्य चन्द, संयोजक सविता पोखरेल, कार्यक्रम निर्देशक सुमन पण्डित, सदस्य सचिव रोशन पोखरेल, सदस्यद्वय तुलसी गिरी भावुक र सन्दिप महत रहेका थिए । अध्यक्ष चन्दले संगीतकर्मीले कोरोना कहरका बीच लगाइएको बन्दाबन्दीको अवस्थामा पनि कार्यक्रम गरिएको बताए । उनले कलाक्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गर्न पाएकोमा खुसी लागेको भनाइ राखे । सहरी विकास राज्यमन्त्री मानन्धरले कलाक्षेत्रमा निरन्तर क्रियाशील रहेका कलाकारलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस्तो कार्यक्रमले कलाकारलाई अझै उर्जा थप्ने बताए ।

कार्यक्रममा सहभागी भएका कलाकारमध्येबाट निर्णायकले उत्कृष्ट १ घोषणा गर्दै अवार्ड प्रदान गरेका थिए । विभिन्न ६२ विधामा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममासोना अमात्यले सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड चुम्न सफल भइन् । आभास श्रेष्ठले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड, आधुनिक संगीतकार विकास चौधरी, आधुनिक गीतकार हरि उप्रेतीले अवार्ड चुम्न सफल भए । त्यस्तै, उत्कृष्ट दशैं गीत गायक लोक पौडेल भए भने उत्कृष्ट मौलिक गायिका सुनिला गुरुङले हात पारिन् । त्यस्तै मानसराजले सर्वोत्कृष्ट पप गायकको अवार्ड, गायिका लक्ष्मी पुरीले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड, कृष्ण केसीले सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड, सविता परियारले सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड चुम्न सफल भए ।

त्यसैगरी यस वर्षको पब्लिक च्वाइस अवार्ड सुरेन्द्रकुमार दाहाल (एसके दाहाल), पपुलर मोडलतर्फ रिना थापा, पपुलर गायिका लोकदोहोरीतर्फ सिता केसी, पपुलर गायक लबकुमार भट्ट, पपुलर गायिका आधुनिकमा सुजाता केसी, पपुलर गायिका तिजतर्फ कोपिला गौतमले अवार्ड चुम्न सफल भए । त्यस्तै, सर्वोत्कृष्ट युगल गायन आधुनिकमा शिखर सन्तोष र सुष्मा पूर्णिमा अर्याल, पूर्वेली युगल गायनमा मेनुका राई र युवा राईले अवार्ड हात पारे ।

अवार्डमा आधुनिक, लोकदोहोरी, पप, लोकपप, आधुनिक पप, दशैं गीत, तिज गीत र पूर्वेली गीत गरी विभिन्न ६२ विधाका स्रष्टा र सिर्जनाले अवार्ड चुमेका थिए । त्यस्तै अवार्ड कार्यक्रमको अवसरमा सौन्दर्य व्यवसाय, समाजसेवी, कलाकार, गीतकार, खेलाडी, पत्रकार लगायत २० जनालाई सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया