सागको सामान खरिदमा अनियमितता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अर्न्तगत ब्याडमिन्टनको सामान खरिदमा अनियमितता भएको निश्कर्ष निस्किएको छ । सागमा ब्याडमिन्टन खेलाडीका लागि खरिद गरिएको जुत्ता र म्याटमा अनियमितता भएको भन्दै छानबिन समितिले निश्कर्ष निकाकलेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई दिएको निर्देशन अनुसार राखेपले गत महिना सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा अनियमितता छानबिन समिति गठन गरेको थियो ।

समितिले गत महिनादेखि नै अनियमितताको छानविन सुरु गरेको थियो ।  छानबिन समितिले खेलाडीको सामग्री खरिदमा अनियमितता भएको निश्कर्षसहित मंगलबार राखेपमा प्रतिवेदन बुझाएको छ । सबै विषयको अध्ययन गरेर मंगलबार राखेपलाई प्रतिवेदन बुझाएको भट्टराईले जानकारी दिए ।

खेलाडीले आफूले पाएका सामग्री निकै कमसल भएको बताएपछि र फर्जी बिल पेश गरेको भन्दै ब्याडमिन्टनका पदाधिकारीबाटै परेको उजुरीको आधारमा राखेपले छानबिन थालेको थियो ।  भट्टराईले छानबिन अनियमितता पाइएको र फर्जी बिल कसरी पारित भयो भन्ने अर्को चिन्ताको बिषय भएको बताए । छानबिन समितिमा भट्टराईसहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल र पासाङ शेर्पा सदस्य रहेका थिए ।

प्रतिक्रिया