मुगुमा विशेषज्ञ सेवा सूचारु, एक हप्तामा चारजनाको शल्यक्रिया

मुगु । जिल्ला अस्पताल मुगुमा विशेषज्ञ सेवा सूचारु भएको एक हप्तामा चार जनाको शल्यक्रिया गरिएको छ । जिल्लामा विशेषज्ञ सेवा सूचारु नहुदाँ सामन्य बिरामी हुँदा लाखौँ रकम खर्च गरेर जिल्ला बाहिर जानुुपर्ने बाध्यता थियो ।

एक हप्तादेखि जिल्ला अस्पताल मुगुमा विशेषज्ञ सेवा सूचारु भएसँगै मुगुमै जटिल रोगको शल्यक्रिया सूचारु भएपछि मुगुका गरिब तथा विपन्न परिवार लामो समयदेखि रोग पाल्दै आएकाहरुलाई राहत महसुस् भएको छ । एक हप्तामा विभिन्न रोगका चार जनाको शल्यक्रिया गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

सोमबारसम्म आन्द्राको प्वाल परेका छायाँनाथ रारा नगरपालिकाका ४५ वर्षिय सुरेन्द्र बुढाको अप्रेशन , छायाँनाथ रारा नगरपालिका– ३ निगाले गाउँकी जलदेवि बुढाको फिस्टुलाको अप्रेशन, छायाँनाथ रारा नगरपालिका–४ भामवाडाका सन्दीप रावलको हात फ्याक्चरको अप्रेशन र मुगुम कामारोगं गाउँपालिका–७ का छोर्देन लामाको लामो समयदेखि हातको ईन्फेक्सभएको हातको अप्रेशन गरिएको एमजि डिपि डाक्टर सिद्धार्थ धोज खातीले बताए ।

उनका अनुसार अन्य जटिल रोग आन्द्रा प्वाल परेका, फेस्टुला, हाइड्रोसिल, हर्नियाँ, एपेन्डिसाइटिस, सिएस जस्ता जटिल शल्यक्रिया र सामन्य शल्यक्रिया सेवा सूचारु भएको र निरन्तर सेवा उपलब्ध हुने पनी डा. खातीको भनाई छ ।

सास्तीबाट मुगुबासी मुक्त

मुगुका स्थानीय सामान्य शल्यक्रिया गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने बाध्यताबाट मुगुवासीले मुक्ति पाएका छन् । जिल्ला अस्पतालमा विगत लामो समयदेखि विशषेज्ञ चिकित्सक नहुँदा मुगु वासीलाई समस्या हुने गरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुगु जिल्ला अस्पतालबाट पनि विशेषज्ञ सेवा सूचारु गरेपछि मुगु बासीले बाहिर जिल्ला जानुपर्ने बाध्यताबाट मुक्ति पाएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ सेवाका लागि मुगु जिल्ला अस्पतालमा एमडिजिपी डा. सिद्धार्थ धोज खातीलाई पठाएपछि जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवा जिल्लामा उपलब्ध भएको जिल्ला अस्पातल व्यवस्थापन समितिका अध्यक्ष पारसमणी मल्लले बताए । उनका अनुसार विशेषज्ञ सेवा सूचारु भएसँगै विभिन्न रोगको समस्या झेल्दै आएका मुगु बासीले मुगुमै उपचार सेवा पाएपछि खुशी भएका छन् ।

दुर्गमका स्थानीयले लडेर अंगभंग हुँदा समयमै उपचार नपाएर अपाङ्ग शरीरसहित बाँच्न बाध्य थिए । हुने खानेले समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचार गर्ने गरेका छन् । तर, यहाँका अधिकांश जनता गरिब भएका कारण हाडजोर्नी लगायत अन्य रोग लाग्दा गाउँमै पुरानो प्रविधि र जडीबुटीबाट उपचार गर्ने गरेका छन् ।

जिल्ला अस्पताल मुगुमा विशषेज्ञ सेवा सूचारु भएपछि वर्षौँदेखि रोग पाल्दै आएकाहलाई राहत महसुस भएको छ । पछिल्लो समय विशेषज्ञ डाक्टर आएको जानकारी पाएसँगै बिरामी चेक जाँचको लागि जिल्ला अस्पतालमा आउने र स्वास्थ्य चेकजाँच गराइ उपचार र सल्लाह लिने भइरहेको छ ।

डा. खाती भगवान्

डा. सिद्धार्थ धोज खातीले जिल्ला अस्पताल मुगुमा आई सेवा सूचारु गरेसँगै मुगालीहले भगवान्को रुप लिएर डा. खाती मुगु आएको अनुभूति गरेका छन् ।

‘कोरोना फैलिएको बेला कोहीलाई कतै जान दिँदैनन् पैसा नभएर उपचार गर्न सकेका थिएनौं, लामो समयदेखि हातको ईन्फेक्सन पीडाले चिन्ता लागेको थियो,’ छोर्देन लामाले भने ‘मुगुमा विशेषज्ञ सेवा सूचारु भएको सूचना सुनेर आउँदा हातको अप्रेशन भयो, कल्पना नगरेको उपचार भयो खुशी छु ।’

यहिले जिल्ला अस्पताल मुगुमा ८ जना डाक्टरले सेवा दिइरहेका छन् । बिहानैबाट डा. खाती लगायत अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी विभिन्न रोगको जेक जाँच गर्न आएका स्थानीयको उपचारमा तल्लिन रहेको जिल्ला अस्पातलले जनाएको छ ।

यस्ता सेवा निरन्तर

अब जिल्ला अस्पताल मुगुमा आन्द्रा प्वाल परेका, फेस्टुला, हाइड्रोसिल, हर्नियाँ, एपेन्डिसाइटिस, सिएसजस्ताजटिल शल्यक्रिया र सामन्य शल्यक्रिया सेवा निरन्तर उपलब्ध हुने जिल्ला अस्पताल मुगुले जनाएको छ ।

जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा यी सेवा लिन महंगो खर्चमा जिल्ला बाहिर जुम्ला, सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायत भारतको लखनउमा मुगालीहरु जाने गरेका थिए ।

जिल्ला अस्पताल मुगुको पहलमा कर्णाली प्रदेश सरकारको समन्वय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलब्धतामा मुगु अस्पतालमा एमडिजिपी डाक्टरको व्यावस्था गरि सेवा सूचारु गरेको जिल्ला अस्पताल मुगुका व्यवस्थापन समितका अध्यक्ष पारसमणी मल्लले बताए ।

अन्य आवश्यक उपकरणका र विशेषज्ञ सेवा अन्य सेवाका लागि र विशेषज्ञ चिकित्सकहरु जिल्लामा पठाइदिन प्रदेश सरकारसँग माग गर्दै आएको अध्यक्ष मल्लको भनाइ छ ।

प्रतिक्रिया