उपत्यकामा बढ्दो संक्रमण : ‘काठमाडौंवासीलाई छैन कुनै चिन्ता !’

काठमाडौं । सोमबार दिउँसो काठमाडौंको ठमेल नजिक रहेको शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा पुग्दा निक्कै ठूलो भिड थियो । विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या ह्वात्तै बढेको हो । दैनिक हजारको संख्यामा विद्यार्थीहरू आउने गरेको शाखाका रामेश्वर राईले जानकारी दिए । शाखामा दिनभर विद्यार्थीको चापले गर्दा सामाजिक दुरी राख्न कठिनाई भएको देखिन्छ । काठमाडौंमा दैनिक दुई हजारभन्दा बढी संक्रमित फेला परिरहेका बेला देखिएको भिडले भयावह अवस्थाको उपस्थिति देखाएको छ । उसो त यस्तो भिड यहाँ मात्र होइन्, विभिन्न सरकारी कार्यालयमा देखिन्छन् ।

चाडपर्व नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा अहिले भिड उस्तै छ । पसलमा मान्छे पस्न मिलेसम्म खाँदिएर पसेका छन् । गल्ली, सडक कतै उभिनै नसकिने भिड छ । मास्क सबैले लगाएका छन् । तर, सही तरिकाले मास्क लगाउनेको संख्या निक्कै कम छ । कसैको मास्क झरेर चिउँडोमुनि झरिसकेको छ भने कतिपयले नाक छाडेर अन्य भाग छोपेका छन् । भौतिक वा सामाजिक दुरीको त त्यहाँ कुरै नगरौँ ।

सार्वजनिक यातायातको क्षेत्रमा पनि अवस्था उस्तै छ । ट्राफिक प्रहरीले चेकजाँच गर्ने ठाउँमा केही सजकता अपनाइए पनि अन्य ठाउँमा कोचेर मानिस हाल्ने गरिएको छ । लापरवाहीका कारण कुल संक्रमणको ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर भेटिएका २ हजार ४ सय ४० मध्ये काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ हजार १ सय ७८, ललितपुरका २ सय ५० र भक्तपुरका १ सय ३ जना छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ । मन्त्रालयका अनुुसार हालसम्म पिसिआर विधिबाट १० लाख ८८ हजार २ सय २९ परीक्षणहरू गरिएका छन् । त्यसैगरी २४ घण्टामा १३ हजार ७ सय ८१ पिसिआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ३३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ जना रहेको छ ।

प्रतिक्रिया