किसानलाई मार्सी धान भित्र्याउन चटारो

खलंगा । जुम्लाका किसानलाई कालीमार्सी धान काट्न चटारो भएको छ । यहाँका आठ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ । धान पाक्न थालेपछि किसानलाई कोरोना कहरमै धान काट्न भ्याइनभ्याइ भएको किसान लक्ष्मी कुमाइले बताए ।  यहाँका किसानले लगाएको प्रायः सबै खेतको धान यो याममा पाकेर खेतमा झुल्न थालेको किसान बताउँछन् । किसानहरूले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आउने जनाएका छन् । यतिखेर पाक्न थालेको मार्सी धान असोजमै काट्ने थालेको चन्दननाथ नगरपालिकाका रमानन्द आर्यालले जानकारी दिए ।

जिल्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो ‘कालीमार्सी’ । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौंसम्म पु¥याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरू बताउँछन् ।

करिब सात सय वर्षअघि जुम्लीहरूका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बिउ ल्याएको विश्वास गरिन्छ । यसको सक्कली बिउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरूका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मीठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङको हुन्छ ।

खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यहाँका किसान बताउँछन् । यो चामलको माग सहरबाट बर्सेनि बढेर आएको छ ।

प्रतिक्रिया