विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

कावासोती । नवलपुरको कावासोती–३ स्थित जनविकास विद्याश्रम आधारभूत विद्यालयलाई युवा व्यवसायीहरुले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । जिल्लाको कावासोती– ३ सभापति चोकमा संचालित डिडि ट्रेडर्सका सञ्चालकद्वय दामोदर अधिकारी र डम्बर नारायण श्रेष्ठ एवं युवा व्यवसायी तथा समाजसेवी नवराज भण्डारीले उक्त सामग्री आइतबार एक कार्यक्रमका बिच विद्यालयलाई प्रदान गरेका हुन् ।

सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं कावासोती नगरपालिका–३ का वडाध्यक्ष अमृतकुमार श्रेष्ठले पछिल्लो समय युवा व्यवसायीहरु सामाजिक तथा मानवीय सहयोगका कार्यमा सक्रिय देखिनु खुशीको कुरा भएको भन्दै उक्त कार्यको प्रशंसा गरे ।

कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएयता निरन्तर कोरोना प्रभावितका लागि सहयोग र राहत जुटाउनका प्रयत्नशील रहँदै आएका वडाध्यक्ष श्रेष्ठले विद्यालयलाई प्रदान गरिएका स्वास्थ्य सुरक्षा सामग्रीले विद्यार्थीको प्रत्यक्ष सम्पर्क कक्षा सञ्चालनमा सहजता ल्याउने विश्वाश व्यक्त गरे ।

विद्यालयमा सिकाइ सहजीकरणका लागि आइतबारदेखि सञ्चालित प्रत्यक्ष सम्पर्क कक्षामा अध्ययन गर्न आएका विद्यार्थीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउने उद्देश्यले एक सय दश थान प्रोटेक्टिभ आइसोलेसन मास्कसहितका स्वास्थ्य सामग्री वडाध्यक्ष अमृतकुमार श्रेष्ठकाे पहलमा विद्यालयलाई प्राप्त भएको विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले जानकारी दिए ।

सरकारले हालै जारी गरेको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार वैकल्पिक सिकाइको पहुँचमा नरहेका विद्यार्थीलाई सिकाइ सहजीकरण गर्न विद्यालयमा सञ्चालित प्रत्यक्ष सम्पर्क कक्षामा अध्ययन गर्न आउने विद्यार्थीलाई संक्रमणको जोखिमबाट बचाउन उक्त सामग्रीले मद्दत पुग्ने प्रधानाध्यापक न्यौपानेले बताए ।

कोरोनाको डरले लामो समयदेखि विद्यालय आउन नपाएको र अहिले विद्यालय आउँदा स्वास्थ्य सुरक्षाका सबै सामग्री प्रयोग गरेर पढ्न पाउँदा आफूहरुले सुरक्षित महसुस् गरेको र खुशी लागेको विद्यालयको कक्षा सातमा अध्ययनरत विद्यार्थी विपिन सुवेदीले बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य पन्चबहादुर पुनको अध्यक्षता एवं युवा व्यवसायी दामोदर अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया