न्यून शुल्कमा गाउँमै ‘गरिखाने शिक्षा’

सुर्खेत । करिब तीन वर्षअघिसम्म दैलेखको भैरवी गाउँपालिका–६ घुम्नेखालीमा एसएलसी पास भएकाहरू उच्चशिक्षाका लागि सहरतिर पढ्न जान्थे । पूरक परीक्षा, एक्जेम्टेडबाट पास भएका केही विद्यार्थी मात्रै गाउँमा पढ्थे । भैरवी गाउँपालिका–६ अर्थात् साविकको कुसापानी गाविसको यथार्थता थियो । त्यतिबेला घुम्नेखालीका विद्यार्थीको मानसपटलमा रहेको एउटै शव्द थियो, एसएलसी पास भएपछि पढ्न सहर जाने । तर, अहिले घुम्नेखालीको वास्तविकता यस्तो छैन । गाउँका विद्यार्थी गाउँमै पढ्छन् । त्यति मात्रै कहाँ हो र ? सहरबाट विद्यार्थीहरू पढ्न गाउँ जान्छन् । विगत दुई वर्षदेखि गाउँका अधिकांश विद्यार्थी उच्चशिक्षा गाउँमै पढ्न थालेका छन् । केहिले प्राविधिक शिक्षा लिन्छन् बाँकीले साधारण शिक्षा ।

जसको कारण हो एउटा सामुदायिक विद्यालय । दैलेख जिल्लाको पश्चिम क्षेत्र भैरवी गाउँपालिका–६ घुम्नेखालीमा अवस्थित आदर्श माध्यमिक विद्यालयले गाउँका विद्यार्थीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्न सुरु गरेको छ । गाउँका मात्रै होइन विद्यालयमा सहरबाटसमेत विद्यार्थीहरू प्राविधिक शक्षा लिन जान्छन् । विद्यालयले ग्रामीण इलाकामै ‘गरिखाने शिक्षा’ प्रदान गरेको छ । त्यो पनि देशकै सर्वाधिक न्यून शुल्कमै ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीले विद्यालयले देशभरकै सबैभन्दा सस्तोमा तीन वर्षे कृषि बालीविज्ञान र तीन वर्षे पशुविज्ञान विद्यालयमा अध्यापन भइरहेको बताए । विगत दुई वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी कृषि वालिविज्ञान र अघिल्लो शैक्षिक सत्रदेखि पशुविज्ञानको अध्यापन भइरहेको उनले बताए ।

डोल्पा, हुम्ला, जुम्ला, सल्यान, अछामबाट विद्यार्थीहरू आदर्श माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा लिइरहेका छन् । त्यति मात्रै होइन केही वर्ष पहिले घुम्नेखालीकै विद्यार्थी पढ्न जाने सहर सुर्खेत र कोहोलपुरका विद्यार्थीले पनि गाउँमा व्यावसायिक शिक्षा लिइरहेका छन् । हाल विद्यालयमा कृषि र पशुविज्ञानमा करिब सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयलाई भैरवी गाउँपालिका र जिल्लाकै बहुप्राविधिक विद्यालय, प्राविधिक शिक्षाको हब र कृषिसम्बन्धी अध्ययन केन्द्र बनाउने योजनासमेत रहेको प्रधानाध्यापक शाहीले बताए ।

‘भैरवी गाउँपालिकाका स्थानीय नागरिकहरूको मुख्य पेसा कृषि तथा पशुपालन नै हो । यहाँका नागरिकहरूको आर्थिकोपार्जनको सम्भावना पनि कृषि तथा पशुपालन नै हो । तर, यहाँ दक्ष प्राविधिकहरूको अथावले आधुनिक रूपमा कृषि तथा पशुपालनलाई लिन नसक्दा खान मात्रै पुग्ने स्थिति थियो । तर, अहिले स्थानीयस्तरमै दक्ष प्राविधिक उत्पादन हुन थालेपछि आधुनिक कृषि र पशुपालनबाट आर्थिकोपार्जनको ढोका खुलेको छ ।’ एक स्थानीय अभिभावकले भने, ‘सर्वाधिक सस्तो मूल्यमा हाम्रा सन्तानले हाम्रै घरको खाना खाएर साँझबिहान काम गरेर पढ्न पाउँदा त्योभन्दा ठूलो खुसी केही चाहिँदैन ।’

साधारण शिक्षा लिने विद्यार्थी पढाइ सकाएर बेरोजगार भई खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि जान बाध्य हुन थालेपछि प्राविधिक शिक्षाको महत्व बढेको हो । प्राविधिक शिक्षा लिएपछि के गरी खान सहज हुने भएकाले पनि त्यसतर्फ विद्यार्थीको आकर्षण बढेको छ । त्यसैले शिक्षासँगै युवाहरूलाई स्वरोजगार वनाउने र स्थानीयस्तरमै व्यावसायिक बनाउने उद्देश्यले प्राविधिक विषयहरू अध्यापन गराउन सुरु गरिएको विद्यालयले जनाएको छ ।

‘गाउँमा एसलएसी तथा एसइई उत्तीर्ण विद्यार्थीहरू प्राविधिक विषय अध्ययन गर्न सहर जानुपर्ने बाध्यता अन्त्य गर्न यस विद्यालयले प्राविधिक शिक्षालाई जोड दिने प्रयास गरेको हो ।’ विद्यालयको बालीविज्ञानका शिक्षक धीरेन्द्रबहादुर चन्दले भने, ‘विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्न स्थानीयले साँझबिहान घरको काम गरी घरमै बसेर कम खर्चमा शिक्षा हासिल गर्न पाउँछन् ।’

विद्यालयका अनुसार गाउँमा यस्तो कृषि तथा पशु विज्ञानसम्बन्धी अध्यापन गराउँदा विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिने गरिएको छ । यस ठाउँमा खेतीयोग्य जमिन पर्याप्त रहेको र सिँचाइको सुविधा भएकाले पनि अधयन सकाएर व्यावसायिक खेती गर्न समस्या नहुने उनीहरूको दाबी छ ।

विद्यालयका अनुसार अहिले एसइईमा उत्तीर्ण ४८ जना विद्यार्थीमध्ये ५० प्रतिशत बढीले सोही ठाउँमै प्राविधिक शिक्षा लिने तयारीमा रहेका छन् । बाँकी केहीले सोही विद्यालयमा ११ कक्षामा भर्ना हुने तयारीमा रहेका छन् ।

पशुविज्ञानका विद्यार्थीको प्रयोगात्मक शिक्षालाई ध्यानमा राखी विद्यालयले बाख्रा फारम सञ्चालन गरेको छ । भने कृषिविज्ञानका लागि १० वर्षका लागि केही जग्गा भाडामा लिएको छ भने केही खरिद गरिसकेको र केही खरिदको प्रक्रियामा रहेको जनाएको छ ।

यस शैक्षिक सत्रको लागि पनि विद्यालयले तीन वर्षे कृषि बालीविज्ञानका लागि ४० जना र तीन वर्षे पशुविज्ञानको लागि ४० वटा सिटका लागि भर्ना खुलेको जनाएको छ ।

प्रतिक्रिया