एक अर्ब बढि राजस्व उठाउन सकस

वीरगन्ज । राज्यलाई राजस्व ( कर ) नतिर्ने नियतले सञ्चालित व्यावसायिक फर्मका सञ्चालक फरार भएपछि पर्सामा १ अर्ब भन्दा बढि रकम राजस्व उठाउन सरकारलाई सकस भएको छ । आन्तरिक राजस्व कार्यालयले कर उठाउन प्रयास गर्दा व्यवसायी नै भारततर्फ फरार भएपछि सो कर उठाउन सकस भएको हो ।  पर्सामा यस्तै नियतले सञ्चालित व्यावसायिक फर्म सञ्चालक कर तिर्नुपर्ने परिस्थिति आएपछि अधिकांश भारततर्फ फरार हुने गरेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ । उनीहरू व्यावसायिक फर्म नै बेचेर फरार हुँदा कुल ९८ करोड ८४ लाख राज्यले पाउनुपर्ने रकम गुम्ने खतरा बढेर गएको आन्तरिक राजस्व कार्यालय पर्साका सूचना अधिकारी हृदयनारायण महतोले बताएका छन ।

वर्षौं कर नबुझाउने तर व्यवसाय मात्र सञ्चालन गर्ने गलत मनसाय भएका व्यवसायीको कारण राज्यको कर उठ्ने सम्भावना निकै कम भएको उनको भनाइ छ । ती व्यावसायिक फर्म सञ्चालक अधिकांश भारततर्फ फरार भएको पनि उनले बताए ।

भ्याट र पान दुवैतर्फ बक्यौता
आन्तरिक राजस्व कार्यालयको तथ्यांक अनुसार कुल रकममध्ये ५१ करोड १६ लाख भ्याटतर्फको बक्यौता छ । यसमा करिब ३ हजार जति करदाता छन् । ती करदाता र व्यावसायिक फर्महरूमध्ये बन्द अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानाको पनि केही रकम उठाउनुपर्ने तथ्यांकले देखाएको छ । ‘आयकर ( पान )तर्फ ४७ करोड ६८ लाख बक्यौता उठाउनु पर्नेछ । यो रकम पनि कुल ३ हजार २÷३ सय जति करदाताबाट उठाउनुपर्ने रकम हो’, महतोले भने ।

झन्डै दुई दशक अर्थात् २०५८ सालदेखि यता कर नतिर्ने करदाताको उठ्न बाँकी राजस्व रकम मध्येको यो रकम भएको सूचना अधिकारी महतोको भनाई छ । वर्षौं कर नतिर्ने करदातालाई ताकेता गर्दा तथा कर निर्धारण भएपछि उनीहरू व्यवसाय नै बन्द गरी हिड्ने गरेका छन । ती करदाताको मनोवृत्ति नै खराब भएकाले राज्यको कर पनि उठ्ने सम्भावनामा प्रश्न चिह्न देखिएको राजस्व कार्यालय पर्साले ठहर गरेको छ ।

प्रतिक्रिया