बारा । निजगढ लालबकैया खोलामा आश्रित परिवारले निर्धारित मापदण्डभित्र रही खोलामा जान सहमति भएको छ । वर्षाको समय सकेर पनि नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लागिरहँदा खोलामा आश्रित परिवारलाई बिहान र बेलुकी छाक टार्न समस्या भएको भन्दै सडक अवरुद्ध आन्दोलन सुरू भएको थियो ।
निजगढ नगरपालिकाले स्थानीय श्रमिक, मजदुर, ट्रयाक्टर ढुवानी व्यवसायी, क्रसर उद्योगी, ठेकदारसहितको छलफलमा तत्कालका लागि सो समस्या समाधान भएको निजगढ नगरपालिकाले जनाएको छ ।
आइइई रिपोर्टमा उल्लेख भएको मापदण्डअनुसार नगरपालिकाले तोकेको क्षेत्रबाट स्थानीय मजदुरहरूद्वारा हाते औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन्, संकलन गर्न पाउने सहमति भएको हो । यसरी संकलन गरिएका नदीजन्य पदार्थ नगरपालिकामा कर तिरी स्थानीय ट्रयाक्टर प्रयोग गरेर खरिद तथा ढुवानी पैठारी गर्न दिन सहमति भएको छ ।
सो सहमतिलाई निजगढ कार्यपालिकाको बैठकबाट अनुमोदन भएपछि तोकिएको क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्, संकलन गर्न दिइने निर्णय भएको जनाइएको छ । कानुनी अड्चनलाई समेत मध्यनजर गर्दै सर्वपक्षीय सरोकारवालासँग छलफल गरी तत्कालीन समस्याको निकास निकाल्दै सहमतिमा पुगिएको निजगढका प्रमुख सुरेशकुमार खनालले बताए ।
राजस्व चुहावटलाई नियन्त्रण गरी समुन्नत निजगढको विकासको गतिलाई क्रियाशील बनाउन, खोलामा आश्रित श्रमिक मजदुरहरूको रोजीरोटी, ट्रयाक्टर ढुवानी व्यवसायी, उद्योगीलगायत सर्वपक्षीय हितमा तत्कालीन समस्या निराकरण गर्ने गरी सहमति भएको नगर उपप्रमुख लीलादेवी लामिछानेले बताइन् । खोलामा उत्खनन् रोक्का राख्दा आफूहरूको रोजीरोटी गुमेको भन्दै बकैया खोलामा आश्रित दुई सयभन्दा बढी श्रमिक मजदुरले समस्या समाधानका लागि निजगढ नगरपालिकालाई आग्रह गरेका थिए ।
प्रतिक्रिया