अपहरित भनिएका वडाध्यक्ष महिलासँग भेटिए !

सल्यान । अपहरणमा परेका भनिएका सल्यानका एक जना वडाध्यक्ष दाङको तुलसीपुरमा रहेको होटेलमा फेला परेका छन् । यही ११ असोजमा सदरमुकाम खलंगा जान्छु भनी घरबाट निस्किएका शारदा नगरपालिका–१३ का वडाध्यक्ष तुलसीराम रावत सम्पर्कविहीन भएका थिए ।  अपहरणमा परेका भनिएका रावत सम्पर्कविहीन भएपछि प्रहरीमा खोजतलासको उजुरीसमेत परेको थियो । प्रहरीले खोजतलासका क्रममा उनलाई १४ असोजमा दाङको एक होटेलमा फेला पारेको प्रहरीले जनाएको छ ।

तुलसीपुरको एक मम पसलमा भेटिएका वडाध्यक्ष रावतले आफ्नो व्यक्तिगत लेनदेनको कारणले दाङ झरेको बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले जानकारी दिए । बेपत्ता रहेका भनिएका रावतलाइ दाङको तुलसीपुर–७ मा पर्ने दाङ–सल्यान सडकखण्डको दाजुभाइ मम पसलबाट सल्यान र दाङको प्रहरीले फेला पारेको उनले बताए । ‘वडाध्यक्ष रावतले विप्लव कार्यकर्ताले चन्दा मागेर तनाव दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने कुरा भने पनि पुष्टि भइसकेका छैन, हामीले अनुसन्धान गरिरहेका छौँ’, थापाले भने । वडाअध्यक्ष रावतलाई बिहीबार परिवारको जिम्मा लगाइएको छ ।

वडाध्यक्ष रावत गत शनिबार सल्यानको श्रीनगरबाट नाइट बस चढेर दाङको तुलसीपुर पुगे । त्यहाँबाट परिवारलाई फोन गरेर आपूm विप्लबको अपहरणमा परेको र २० हजार रकम आवश्यक भएको भनी रोएको जस्तो आवाजमा बताए । तर, अहिले प्रहरीका अनुसार उनी कुनै अपहरणमा नपरेको बरु आफ्नै व्यक्तिगत तनावले परिवारबाट टाढा बसेको बुझिएको प्रहरीको भनाइ छ । बुधबार होटलमा उनी एक्लै नभई अन्दाजी २६ वर्षीया एक महिलासँग फेला परेको स्रोतको दाबी छ । तर, यस विषयमा पनि जिल्ला प्रहरी कार्यालय सल्यानले कुनै प्रतिक्रिया भने दिएको छैन । प्रहरीका अनुसार वडाध्यक्षलाइ मात्रै तुल्सीपुरबाट सल्यान ल्याइएको हो ।

वडाध्यक्ष महिलासँग भेटिएपछि घटना थप आश्चर्यजनक बनेको छ । तुल्सीपुरमा बस्ने ती महिलाका पति वैदेशिक रोजगारीमा रहेको र वडाध्यक्ष रावतसँग केही समय अघिदेखि सम्पर्कमा रहेको स्रोतले बताएको छ । यातायात क्षेत्रमा हुँदाको समयमा नै वडा अध्यक्ष र ती महिलाबीच परिचय भएको बुझिएको छ । अहिले आएर नाटकीय ढंगले आपूm अपहरणमा परेको भनेर परिवारलाई वडाध्यक्ष आपैmँले फोन गरेकोसमेत बुझिएको छ ।

वडाध्यक्ष अपहरणमा परेको आशंकामा परिवारले प्रहरीमा उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश–५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ मिलेर रावतको खोजी गरेका थिए । यही विषयलाई लिएर विप्लव माओवादीले भने विज्ञप्तीमार्फत आपूmहरूले अपहरण नगरेको जनाएको थियो ।

प्रतिक्रिया