भारी परिमाणमा हरियो केराउ बरामद

वीरगञ्ज । भारतीय सिमानासँग जोडिएको पर्साको इनर्वा गाउँबाट प्रहरीले करिब रु दुई करोड ५० लाख मूल्यबराबरको तीन लाख २५ हजार किलो हरियो मटर बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार हरियो मटर वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै एउटा गोदाममा भण्डारण गरी राखिएको अवस्थामा सो परिमाणको मटर बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

उनले चाडपर्वलाई लक्षित गरी भारततर्फ तस्करी गर्ने उद्देश्यले नेपाल भारत सीमा नजिकैको एउटा गोदाममा भण्डारण गरिएको अवस्थामा प्रहरीले छापामारी गोदाम सिल गरिएको बताए ।

ललितपुर निवासी वेदान्तजङ्ग राणाको नाममा दर्ता रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङले तस्रो मुलुकबाट मगाएको सो हरियो मटर सीमा नजिक एउटा गोदाममा अवैधरूपमा राखिएको अवस्थामा फेला परेको बताइएको छ ।

अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मङ्गलबार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्र्याक्टरको पिछा गर्दै जाँदा सो गोदामसम्म प्रहरी पुगेपछि उक्त मटर भण्डारण गरिएको अवस्थामा फेला परेको हो ।

प्रिज्म कम्पनीले केराउ विक्री गरेको बिलमा खरिदकर्ताको ठाउँमा आफ्नै नाम उल्लेख गरिएको भने पनि बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा उक्त कम्पनीको आधिकारिक कार्यालय रहेको छ । अहिले भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा तस्करहरुले घर भाडामा लिई सामानहरु राख्ने गरेको र रातको समयमा ती सामान भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ । – रासस

प्रतिक्रिया