अर्थबजार

एसएलसी फेल, १६ जनालाई जागीर

सौर्य अनलाइन २०७७ असोज १५ गते १८:०० मा प्रकाशित

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीका दीपक खुना २०६३ सालमा एसएलसी परीक्षामा अनुत्रीण भएपछि केही दिन तनावमा परे । ‘त्यो बेलाको एसएलसी फेल भए घरबाटै पढेर अर्को साल फेरि परीक्षा दिनुपर्ने व्यवस्था थियो’, हाल महेन्द्रनगरमा घर पेन्टरका रूपमा परिचित खुनाले भने, ‘पढाइ नसक्ने अवस्था आएपछि लागेँ पेन्टर बन्न तिर ।’

विसं २०६३ सालको असफलताले सीपमूलक काममा सक्रिय भएर लागेका खुनाल अहिले १६ जना युवालाई आयमूलक काममा रोजगारी दिइरहेका छन् । सालघारी घडेरीमा आफूले कमाएको पैसाले पाँचकोठे पक्की घर बनाएका खुनाले महेन्द्रनगरमा निजी तथा सरकारी भवन पेन्ट (रङरोगन) गर्ने कामको ठेक्का लिँदै आएका छन् ।

उनले पेन्टिङको कामबाट मासिक रु ४० हजार कमाइ हुने गरेको बताए । ‘शुरुमा काम सिक्न दिनभर मजदुरी गर्दा रु ८० देखि १०० सम्म पाउँथे’, उनले भने, ‘करिब पाँच वर्ष पेन्टर भएँ, त्यसपछि ठेकेदार ।’ उनले आफू मातहत अहिले थारु समुदायका गरेर १६ पेन्टरले काम गरिरहेको बताए ।

‘विदेशमा पाँच दश वर्ष दुःख गर्नुभन्दा स्वदेशमै सीपमूलक काम सिकेर जीविकोपार्जन गर्न कठिन छैन’, उनले भने, ‘सरकारले पनि युवा पुस्तालाई अश्वासन दिए झै स्वरोजगार बनाउन लगानी गरेको देखिनँ ।’

महेन्द्रनगरमा पछिल्ला केही वर्षयता सीपमूलक काम घर बनाउनेदेखि पेन्टिङको कामसम्ममा थारु समुदायका युवायुवती बढिरहेका छन् । ‘हामीले काम सुरु गर्दा नेपालीले पनि राम्रो काम गर्लान् र भनेर विश्वास नै गर्थेनन्’, खुनाले भने, ‘लकडाउन खुकुलो भएपछि नेपाली पेन्टरहरुलाई काम भ्याननभ्याइ छ ।’ स्थानीय युवाहरु सीपमूलक काममा अग्रसर हुन थालेपछि भारतीयहरु विस्थापित भइरहेका छन् ।

लामो समयदेखि बर्जर पेन्ट खपतमा सघाउ पुर्याएपछि तीन सातअघि मात्रै बर्जर पेन्टको कम्पनीलाई खुनालाई पल्सर मोटरसाइकलसमेत प्रदान गरेको छ । ‘योभन्दा पहिले पनि मलाई एउटा मोटरसाइकल मिलेको थियो’, उनले भने, ‘काम खोज्दा सहयोग गर्दै आएको यहाँको जयलक्ष्मी ट्रेडर्सलाई कहिल्यै भुल्दिन ।’

खुनाका बुबा भीमदत्तनगरपालिका कार्यालयमा सवारीसाधन मर्मत शाखामा कार्यरत छन् । उनका भाइ सहकारीमा जागीरे छन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको नेपाल–भारत सीमानाका बन्दका कारण भारतीय पेन्टरहरु यहाँ आउन नपाएको बताए । ‘मौका दिए मैले नै तालीम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सक्छु’, उनले भने, ‘प्राविधिक शिक्षामा विपन्न समुदायका नागरिकको पनि पहुँच भए फलदायी हुन सक्छ ।’

कामको अनुभव सुनाउँदै खुनाले ठूला घरमा रङरोगन गर्दा मजदुरको बीमासमेत गर्ने गरेको बताए । पछिल्लो समय सालघारीका ३० जनाभन्दा बढी थारु समुदायका युवा पेन्टरका रूपमा यहाँको बजार क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय