सिन्धुलीगढी विजयोत्सवको अवसरमा ‘सिन्धुलीगढी चित्रकथा’ विमोचन

सिन्धुली । ‘सिन्धुलीगढी चित्रकथा’ कला पुस्तक विमोचन गरिएको छ । अनलाईन प्रविधि भर्चुअलमार्फत काठमाडौंबाछ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई र सिन्धुलीबाट कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले विमोचन गरेका हुन् । अंग्रेज सेनालाई परास्त गरेको दिन (असोज १५) गतेको अवसरमा समृद्ध सिन्धुली अभियानले ‘सिन्धुलीगढी चित्रकथा’ पुस्तक प्रकाशन गरेको हो ।

उक्त पुस्तक विमोचन गर्दै मन्त्री भट्टराईले सिन्धुलीगढीमा बीर गोर्खालीले अंग्रेज सेनालाई परास्त गरेर नेपालीको स्वतन्त्रता जोगाउन भूमिका निर्बाह गरेकाले त्यस स्थलको विकास गर्न सरकारले काम गरिरहेको बताए । मन्त्री भट्टराईले तराइबाट नजिक रहेका सिन्धुलीगढी, सिन्धुलीको अग्लो डाडाँ फिक्कल जस्ता स्थानलाई गर्मी छल्न जान हिल स्टेशनका रुपमा विकास गर्ने तयारी रहेको बताए ।

यस्तो अंग्रेजसँग युद्ध भएको सिन्धुलीगढीलाई अहिलेको समयमा नेपाल–बेलायत मैत्री स्थलको विकास गर्न सकिने पनि बताए । पूर्वमन्त्री हरिबोल गजुरेलले सिन्धुलीगढीको ऐतिहासिक दरबार पुनःनिर्माण गर्न सरकारले पहल गर्नुपर्ने बताए । सिन्धुलीगढीलाई पर्यटकीय स्थल बनाउन आफू लागि परेको पूर्वमन्त्री गजुरेलको भनाई छ ।

कार्यक्रममा इतिहासकार प्रा. डा. दिनेशराज पन्तले सिन्धुलीगढीले नेपालको एकिकरणमा समेत भूमिका निर्वाह गरेको बताउँदै उक्त स्थलमा जथाभावी संरचना निर्माण गरेर इतिहास मेटाउनु नहुनेमा जोड दिए ।

समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढी हुँदै जनकपुरसम्म हरेक वर्ष गर्दै आएको राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा यस वर्ष कोभिड १९ का कारण गर्न नसकिएको बताउँदै आगामी वर्षदेखि निरन्तरता दिने जानकारी दिए ।

अभियानले सन् २०१६ मा सुरु गरेको साइकल यात्रा चार वर्षसम्म निरन्तर सफलतापूर्वक सम्पन्न भएको थियो । साइकल यात्रामाफर्त ऐतिहासिक सिन्धुलीगढीको प्रवर्धन गर्न अभियानले व्यसाययिक यात्रा गराउन थालेको हो । यस्तै कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादु खत्रीले नेपालमा पर्यटक भित्र्याउन सिन्धुलीगढीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सिन्धुलीगढीलाई प्रर्वद्धन गर्न सबैले हातेमालो गर्नुपर्ने मेयर खत्रीको भनाई छ । सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेज फौजलाई विक्रम संवत् १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए ।

संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक वर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवत्को १४ औँ सताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ ।

प्रतिक्रिया