श्रीलाली गुराँसले सुरु गर्यो एटिएम सेवा

काठमाडौ। पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा एटिएम सेवा सुरु गरेको छ । २२ औ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरे ।  उनले २२ वर्षे अवधिमा संस्थाले आफ्नो लगानीमा १५ असो बाट श्री लालीगुँरास दुग्ध प्रसोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको घोषणा गरे । संस्थाले गोदाबरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायीक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको छ ।  चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फाम स्थापना गरेर उत्कृष्ठ संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिदै जाने प्रतिबद्धता जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए । संस्थाले बुधबारबाट संस्थाको एटिएम सेवा सुरु गरेको छ । एटिएम सेवाको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका हुन ।  पुल्चोक स्थित मुख्य कार्याललयमा राखिएको एटिएमबाट सेवा दिइएको हो । अब सबै शेयर सदस्य एटिएम सेवा लिन सक्ने संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा आफ्ना अन्य सेवा सुविधा काउण्टरमा एटिएम बुथ स्थापना गरी सोही स्थानबाट सेवा दिने बताए ।

ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्युरोड ,भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ । संस्थामा हाल झण्डै २१ हजार शेयर सदस्य छन् । ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ । १८ भदौ २०५६ मा दर्ता भई सोही बर्षको १५ असोजबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत लालीगुराँस राष्ट्रियमावि र लालीगँुरास कलेज प्रालि तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षाक्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थामा लगानी रहेको छ ।

संस्थाले आफ्नो सेवालाई स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालि प्रदान गर्दै आई रहेको छ । संस्थाले आगामी वर्ष आफ्ना सदस्यलाई थप सुविधा दिन उपत्यकाका विभिन्न स्थान विभिन्न क्षेत्र र जिल्लामा सेवाहरु विस्तार गर्ने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै गएको बताए ।

उनले ब्यादर घटाउने, एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुन पाउने जस्ता अब्यवहारिक नीति ल्याएर दुःख दिन थालेको उल्लेख गरे । नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष समेत रहेका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोण फरक हुनुपर्ने बताउदै नकरात्कम दृष्टीकोणलाई परिवर्तन गर्न जरुरी रहेको स्पष्ट पारे ।

प्रतिक्रिया