सिलाई कटाईमा महिलाको आर्कषण

कालिकोट । पछिल्लो समयमा कालिकोटका महिलाहरु सिलाई कटाईमा ब्यस्थ देखिन्छन् । सदमुकाम मान्म बजारको जिरोप्वाइन्ट देखि प्रतिमाचोक सम्म महिलाहरु दिनभरी सिलाई कटाई व्यवसायमा लागि रहेका हुन्छन् । कोही सिकाउने गर्छन, भने कोही सीप सिक्ने गरेका भेटिन्छन । थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि कालिकोटका महिलाहरु सिलाईकटाई व्यवसाय प्रति आकर्षित भएका हुन । कटकटकटकटक मेसिनको आवाजमा आफ्नो सीप सिकाउने र सिक्नेहरुको घुइचो देख्न सकिन्छ । कालिकोट सदमुकाम मान्म निवासी केही महिलाहरु को दैनिकी सिलाइ कटाइमै वित्छ ।

सिलाइ कटाइ व्यवसाय गरी घपरिवार पाल्न र आफूलाई चाहिने खर्चको जोहो गर्न सजिलो भएको सान्नी त्रिवेणी गाउँपालिका ६ की कोइला सन्ज्यालले बताईन् । कोइला मात्र हैनन् रास्कोट नगरपालिका १ निवासी नौरता शाहीले पनि सीप सिकाउदै र सिक्दै आएकी छन् । उनले भनिन्, ‘कालिकोटका महिलाहरु पछिल्लो समय सिलाई कटाईमा धेरै व्यस्थ देखिन्छन् ।’ सिलाइ कटाई व्यवसाय गरे राम्रो आम्दानी हुन्छ भन्दै तालिम लिनका लागि आउनेहरुको संख्या जिल्लामा झन झन बढ्दै गएको छ ।

सिलाइ कटाइ व्यवसायसिक्नेहरुको संख्या बढ्दै गएपछि सिकाउनेहरुलाई पनि फाइदा पुगेको छ । सुर्खेत जिल्लामा जन्मथलो भएकी ज्योति खत्रीले कालिकोटलाई कर्मथलो बनाएर सिलाई कटाई व्यवसाय सिकाउदै आएकी छन् । उनले भनिन, ‘अहिले सम्म एक हजार भन्दा बढिलाई सिलाई कटाई व्यवसाय सिकाउने मौका पाएकी छु ।’ नीजिस्तरमा खुलेका तालिम केन्द्रमा करिब १० महिलाले सिलाइ कटाइको तालिम लिइरहेका छन् ।

सरकारी स्तरमा खुल्ने तालिमको अवसर प्रायः जसो कम नै हुन्छ । तर जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरेको छ । हाल ज्योति एण्ड टिका सिलाई कटाई प्रशिक्षण केन्द्रलाई सादा नेपाल र सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरी सिलाई कटाई तालिम संचालन भइरहेको छ । एक महिनाको तालिममा सीप सिकेर गाउँमै व्यवसाय संचालन गर्ने तालिम लिन आउने महिलाहरुले बताए । दलित समुदायले मात्र सिलाइ कटाइको काम गर्नुपर्छ भन्ने गलत मान्यता भएपनि कम हुदैं गएको छ । सिलाइ कटाइ प्रति गैर दलित समुदायका नागरिकको आकर्षण बढ्दा छुवाछुत र जातीय विभेद पनि हट्ने कतिपयको बुझाइ छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया