कौसी फोटो प्रतियोगिता

काठमाडौं । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय फोटो प्रतियोगिता हुने भएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ मा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका प्रतियोगीले मात्र भाग लिन पाउने प्रालिका प्रबन्धक मनोज श्रेष्ठले जानकारी दिए ।

उनले सहरमा कौसी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले भने, ‘प्रतियोगितमा सहभागी हुनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा तीनवटा फोटो र एउटा भिडियो पठाउनुपर्ने छ ।’ पठाइएको फोटोमा क्याप्सन अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ । विवरण नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने, फोटो स्पष्ट र ठूलो साइजको हुनुपर्ने र फोटो इमेलबाट मात्र पठाउनुपर्ने प्रावधान राखिएको छ । यस प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए ।

सर्वोत्कृष्ट पुरस्कार बिजेतालाई ५५ हजार ३५० मूल्य बराबरको कौसी खेती गर्ने विभिन्न सामग्री प्रदान गरिनेछ । विधागत पुरस्कारअन्तर्गत तरकारी खेतीतर्फ प्रथम हुनेलाई २५ हजार ३५०, दोस्रो हुनेलाई १६ हजार ८५० र तेस्रो हुनेलाई १० हजार ५० मूल्य बराबरको कौसी खेतीका विभिन्न सामग्री प्रदान गरिने आयोजकले जनाएको छ । साना जनावर (कुखुरा, बट्टाइँ, परेवा, हाँसलगायत) विधातर्फ प्रथम हुनेलाई सात हजार, दोस्रोलाई छ हजार र तेस्रोलाई पाँच हजार प्रदान गरिने छ भने साना फलफूल तथा पुष्प खेती विधातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार प्रदान गरिने बताइएको छ ।

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । त्यसका साथै हलोखर डटकम पेज लाइक र सेयर अनिवार्य गनुपर्ने हुन्छ । जुन फोटोमा जसको जति लाइक, कमेन्ट र सेयर हुन्छ । त्यसले त्यति नै अंक प्राप्त गर्ने आयोजकले जनाएको छ । फोटो पठाउने अन्तिम यही असोज मसान्तसम्म रहेको छ । आगामी कात्तिक १ गते सबै प्रतियोगिताको फोटो एकैसाथ हलोखबर डट कमको पेजमा पोस्ट गरिनेछ । कात्तिक महिनाभर सो फोटो फेसबुकमा रहनेछन् । यसको नतिजा मंसिर १ गते सार्वजनिक हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया