पुरस्कारको लफडा

काठमाडौं । साहित्यकार तथा राजनीतिकर्मी मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान तत्काल नलिने घोषणा गरेका छन् । उनले पुरस्कार घोषणासँगै केही व्यक्ति र समूह आफ्नो चरित्रहत्या गर्न लागेको भन्दै पुरस्कार नलिने जनाएका हुन् । आइतबार खेमराज हरिकला समाज कल्याण प्रतिष्ठानले यस वर्षको ‘पद्मश्री साधना सम्मान’ प्रश्रित र समालोचक तथा लेखक सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई ‘पद्मश्री साहित्य पुरस्कार’ दिने जनाएको थियो ।

आफ्नो चरित्रहत्या गर्न केही व्यक्ति र समूह लागेको जिकिर गर्दै प्रश्रितले ‘खेम हरिकला सामाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गरेका छन् । उनले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘खेम हरिकला समाज कल्याण परिषद्ले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु । यो समाचार प्रकाशित भएपश्चात् अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्रहत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।’

यसैबीच प्रश्रितले आयोजकसँग सल्लाहमै पुरस्कार तत्काल नलिने घोषणा गरेको जनाएका छन् । उनले भने, ‘मेरो नाममा के के बबण्डर गरे, उहाँहरुले दुवै जनालाई बोलाएर पुरस्कार दिने योजना बनाउनुभएको थियो, एक जनाले नलिने भनेपछि अहिले (कार्यक्रम) नराखौं भनेको हुँ ।’ उनले प्रतिष्ठानलाई वातावरण अलि राम्रो भएपछि कार्यक्रम गर्न उपयुक्त हुने सल्लाह दिएको सुनाए ।

प्रश्रितसँगै प्रतिष्ठानले उपन्यासकार उप्रेतीको ‘हंस’ लाई पुरस्कार दिने जनाएपछि लफडा सुरु भएको हो । उप्रेतीले आइतबार यौनहिंसाको आरोप लागेका लेखकसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन गाह्रो हुने बताएपछि विवाद बढेको हो । उप्रेतीले शारदा भुसालले आत्मकथा ‘धरातल’ पुस्तक लेखेरै प्रश्रितले आफूमाथि यौनहिंसा गरेको आरोप लगाएकाले सँगै पुरस्कार लिन नसक्ने जिकिर गरेका थिए ।


विवाद बढेपछि उप्रेतीले पद्मश्री पुरस्कार नलिने घोषणा गरेका छन् । प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने निर्णय गरेका उप्रेतीले सोमबार औपचारिक रुपमा पुरस्कार नलिने निर्णय गरेका हुन् । पुरस्कार घोषणालगत्तै सामाजिक सञ्जालमा उनले पोस्ट गरेको स्टाटसमा प्रश्रितलाई सम्मान गर्ने कुरा विवादित बनेको थियो । भुसालको यो आरोप प्रश्रितले खण्डन गर्दै आएका छन् ।

उप्रेतीले आफूले भने, ‘आयोजकले पुरस्कारबारे जानकारी दिँदा खुसी हुँदै धन्यवाद भनेको थिएँ । बिहान उठेरमात्रै मोदनाथ प्रश्रितको नाम देखेर छक्कै परेँ ।’ उनले कुनै आवेदन नदिई, कतै दर्ता नगरी आयोजकले ‘हंस’ छनोट गरेको निर्णयप्रति आफ्नो सम्मान रहेको बताए ।

प्रतिक्रिया