खेलाडीको ग्रेडिङमा पुनर्विचार गरिने

काठमाडौं । नेपाली क्रिकेटमा पछिल्लो समय खेलाडीको ग्रेडिङका विषयमा विवाद उत्पन्न भएपछि ग्रेडिङ पुनर्विचार गरिने भएको छ । चितवनमा गत मंगलबार बसेको क्यानको बोर्ड बैठकले पहिलो पटक १९ महिला खेलाडीलाई केन्द्रीय सम्झौतामा राखेको थियो । त्यस्तै पुरुषतर्फ १८ खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्याक्टमा राखेको थियो ।  तर, पुरुष र महिला दुवैतर्फ खेलाडी वर्गीकरणमा धेरै खेलाडीमाथि अन्याय भएको भन्दै क्यानको चौतर्फी आलोचना भएको थियो । कुनै खेलाडी टोलीको नियमित सदस्य हुँदाहुँदै पनि वर्गीकरणमा नपर्नु र कुनै राष्ट्रिय टोलीमा नपरेका खेलाडी वर्गीकरणमा परेको भन्दै क्यानको आलोचना भएको थियो ।

त्यसै कुरालाई लिएर आइतबार मात्र क्रिकेट खेलाडी संघले क्यानको खेलाडी वर्गीकरणमा त्रुटी भएको भन्दै त्यसलाई सच्याउन क्यानलाई आग्रह गरेको थियो । खेलाडीको वर्गीकरणमा पुनर्विचार गर्दा खेलाडीलाई पनि सहज हुने संघका महासचिव पारस खड्का हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । क्यानको बोर्ड बैठकले ग्रेडिङका विषयमा छलफल गर्ने भएको छ । महिला र पुरुष टोलीको केन्द्रीय सम्झौतामा निकै त्रुटि भएको भन्दै क्यानको आलोचना भएपछि उक्त विषयमा बोर्ड बैठकले पुनः छलफल गर्ने भएको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानको बोर्ड बैठकले गरेको निर्णय उसैले नै सच्चाउनले बताए ।

पुनः ग्रेडिङका विषयमा कुनै पनि मापदण्ड नराखिएको उनले बताए । सबै प्रक्रियाबाट खेलाडीको वर्गीकरण गरिएको हुनाले अब बोर्ड बैठकले मात्र छलफल गरी निर्णय गर्ने अध्यक्ष चन्दले बाह्रखरीसँगको कुराकानीमा बताए । उनले यसै विषयमा छलफल गर्नका लागि केही समयमा बोर्ड बैठक बसाल्न सकिने पनि बताएका छन् ।  ‘पुनः खेलाडीको वर्गीकरणको विषयमा कुनै मापदण्ड राखिएको छैन । पहिले नै खेलाडी ग्रेडिङको सम्पूर्ण मापदण्ड अपनाएर वर्गीकरण गरिएको थियो । बीचमा वर्गीकरणको विषयमा धेरै चर्चा परिचर्चाहरु भए । अब यसको समाधान बोर्ड बैठकबाट निकालिने भएको छ । अहिले हामी त्यसै विषयमा सोचिरहेका छौं,’ अध्यक्ष चन्दले भने । क्यानसँगको केन्द्रीय सम्झौतालाई पुनर्विचार गर्न भन्दै पुरुष टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहितको टोलीले शुक्रबार क्यानलाई ज्ञापनपत्र बुझाएको थियो । त्यस्तै महिला टोलीको कप्तान रुबिना क्षेत्रीसहितको टोलीले आइतबार ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया