पाँच गोलको थ्रिलरमा रियल विजयी

मड्रिड । भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) निर्णायक बन्दा रियल म्याड्रिडले पाँच गोलको थ्रिलरमा रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो । फेडेरिको भालभर्डेले रियललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, पहिलो हाफको अन्त्यतिर अलिसा मान्डी र विलियम कालाभारोले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बेटिसलाई खेलमा अग्रता दिलाए ।

दोस्रो हाफमा एमर्सनको आत्मघाती गोलको मद्दतले रियल खेलमा फर्कियो । पछि लुका मोर्डिचमाथि प्रोफेसनल फल गरेपछि भीएआरले उनलाई रातो कार्ड देखाएको थियो । बेटिसका मार्क बार्टाले ह्यान्ड बल गरेपछि रियलले पुनः भीएआरको मद्दतले पेनाल्टी पायो । खेलको ८२ औँ मिनेटमा कप्तान सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

यो सिजन रियलको यो पहिलो जीत हो । पहिलो खेलमा रियल भालाडोलिडसँग रियल गोलरहित बराबरीमा रोकिएको थियो । शनिबार भएका अन्य खेलमा भ्यालेन्सिया र हुएस्का तथा गेटाफे र आलाभेसले बराबरी खेल्यो भने रियल सोसिडाडले इल्चेलाई ३–० ले हरायो ।
यता, बार्सिलोनाले आइतबार भिल्लेरियालको सामना गर्दै सिजनको शुरुवात गर्दैछ ।

प्रतिक्रिया