धानबाली खेतमै उम्रिन तथा कुहिन थाल्याे !

पर्सा । लगातार परिरहेको वर्षाका कारण पाकेको धानबाली खेतमै उम्रिन तथा कुहिन थालेको छ। पर्सा जिल्लाको ठोरी, सुवर्णपुर, निर्मलबस्ती, जिराभवानी, जगरनाथपुर, शंकरसरैया, सेढवा, पटेर्वा सुगौली, पोखरिया, कालिकामाई, धोबिनी, छिपहरामाई लगायतका नगरपालिका तथा गाउँपालिकामा भदई मन्सुली र सोना सारो जातका धान पाकेको छ तर लगातार वर्षाका कारण बाली भित्र्याउन नसकेको धोबिनी गाउँपालिका–४ लंगडीका किसान सुरेश महतोले बताए । धान पाकिसक्यो तर लगातार वर्षाले खेतमा पानी बगेका कारण काटन सकिएको छैन महतोले बताए ।

कतिपय किसानले कम्पाइन (हार्भेस्टर) मेसिनबाट धान काट्न नसकेर ज्यामी लगाएर धान ल्याए पनि घाममा सुकाउन नपाएर धानमा ढुसी लाग्न थालेको छ । खेतमा लागेको पानीका कारण हार्भेस्टरले धान काटदा मेसिन नै भासिने गरेको छ । हार्भेस्टरबाट धान कटानी गर्दा प्रतिबिघा पाँच मन दुर्ई क्विन्टल धान तिर्नुपर्छ । वर्षाका कारण हार्भेस्टर चल्न नसकेपछि महँगो ज्याला तिरी ज्यामी लगाएर किसानहरूले धान काटन थालेका छन् । ज्यामी लगाउँदा मन पसेरीको दरले ज्याला तिर्नुपर्छ ।

मन पसेरीमा एक मन अथवा ४० किलो धानमा पाँच किलो धान ज्यामीले पाउँछ र बाँकी ३५ किलो धानबाट थ्रेसरलाई पनि तिर्नुपर्छ । ज्यामी लगाएर धान काटदा उत्पादनको ४० प्रतिशत धान ज्यामीले लिन्छ बाँकी किसानले पाउँछन् । तर, वर्षाका कारण ज्यामीले समेत धान काटन नसकेको किसानहरूको गुनासो छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोनामा सरकारले लगाएको लकडाउन मा ऋण काढेर खेतीमा लगानी गरेका किसानहरूले अहिले बाली भित्र्याउन नसक्दा ठूलो समस्यामा परेका छन् । यता कोरोनाका कारण कामकाज ठप्पप भएकाले किसानहरूलाई खेतमा लगाएको धानबाली काटेर खाने र बिक्री गर्न परिरहेका कारण वर्षात्ले गर्दा धानबाली भित्र्याउन समस्या भइरहेको छ ।

प्रतिक्रिया