आँधिखोलामा पारिवारिक राफ्टिङ

स्याङ्जा । कोरोना महामारीले थलिएको पर्यटन श्रेत्रलाई पुनःउत्थान गर्ने उद्देश्यले स्याङ्जाको आँधिखोलामा पारिवारिक राफ्टिङको आयोजना गरिएको छ । विगत सात वर्षदेखि आयोजना गरिँदै आएको राफ्टिङ यस वर्ष भने लक डाउनका कारण बन्द गरिएको थियो ।  विश्व पर्यटन दिवसको अबसरमा सरकारले देश दर्शन कार्यक्रम सुरु गरेको छ भने स्थानीय स्तरमा निजी श्रेत्रका पर्यटन व्यवसायी पनि पुनःउत्थानका लागि चासो देखाएका हुन् ।  ०७० सालबाट प्रत्येक वर्ष साउनदेखि असोजसम्म आयोजना गरिने राफ्टिङ यस वर्ष भने कोरोनाका कारण केही ढिलो आयोजना गरिएको हो । अन्यत्र वर्षात्को समयमा राफ्टिङ नगरिने हुँदा आँधिखोलामा भने साउनदेखि असोजसम्म उत्तम हुने पर्यटन व्यवसायी कृष्ण जंग केसीले बताए ।

धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिने आँधिखोलामा नदीजन्य बस्तुको दोहनले आपूmहरू चिन्तित बनेको पर्यटन व्यवसायी कृष्णजंग केसी बताउँछन् । उनी भन्छन्, ‘क्षणिक लाभका लागि ढुंगा गिट्टी बेच्नुभन्दा दीर्घकालीन लाभका लागि पर्यटकलाई प्रकृति बेचौँ । ’  असोजभर प्याकेजमा राफ्टिङको मज्जा लिन सकिनेछ । पानीको बहाब र गहिराइ कम हुने भएकोले आँधिखोलामा पारिवारिक राफ्टिङ गर्दा निकै आनन्द महसुस हुने आन्तरिक पर्यटकहरू बताउँछन् । परिवारसँग राफ्टिङमा आएकी साकिरा अर्याल भन्छिन्, ‘साँच्चै आँधिखोला सुरक्षित रहेछ । डर छैन मज्जा धेरै भो । खोलामा बग्दै प्रकृति अवलोकन गर्दा स्वर्गको अनुभव गरेँ ।’

प्राकृतिक हिसाबले मात्रै होइन धार्मिक हिसाबले पनि यो खोला निकै महत्वपूर्ण मानिन्छ । धार्मिक पात्र श्रवण कुमारको दृष्टिविहीन मातापिताले पुत्र वियोगमा बगाएको आँशुबाट बनेको अन्धाअन्धी खोला हुँदै आँधिखोला भएको भन्ने धार्मिक विश्वास छ भने आँधिखोला स्याङ्जा जिल्लाको सभ्यता पनि हो ।  आँधिखोलाको संरक्षण र प्रवद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाउनसके क्यानोनिइङ, प्याराग्लाइडिङ, साइक्लिङ, राफ्टिङजस्ता साहसिक खेल स्याङ्जाको समृद्धिको आधार बन्न सक्छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया