प्रवासबाटै नेपाली गीतको मोहः ज्योतीले ल्याइन् ‘यो कस्तो माया’

काठमाडौं । ‘न सहारा दिन्छ तिम्रो मायाले, न छुट्करा दिन्छ तिम्रो मायाले ।’ ‘यो कस्तो माया लाएछु मैले, न छुट्न सकिन्छ, न जुट्न सकिन्छ । ‘यी शब्दले कुनै पनि मायाप्रेममा बाँधिएका सुन्दर जोडीको जिवनका भोगाइमा मेल खान्छ ।

यस गीतकी लेखक हुन् ज्योती गुरुङ । उनले यस गीतमार्फत विदेशमै भए पनि प्रवासबाटै सांगीतिक क्षेत्रमा मौलिकताको बाटो रोजेकी छन् । स्याङ्जा जिल्ला स्थायी घर भएकी गीतकार गुरुङ विगत केही वर्ष अगाडिदेखि युकेमा बसोबास गर्दै आएकी छन् । प्रायः कलाकारीता क्षेत्रमा स्याङ्जा जिल्लाकै कलाकार बढी भएको पाइन्छ ।

आफू प्रवासमै भए पनि मातृभूमि देश नेपाल र मौलिक गीत संगीतको मोहले तानेपछि यस ‘यो कस्तो माया’ नाम गरेको हरेक मायाप्रेममा गाँसीने जोडीका यथार्थ विषयलाई चित्रण गरेर गीत बजारमा ल्याएको रचनाकार गुरुङले बताइन् । उनका कलमी हातले कोरेका प्रेम प्रसंगका शब्दको गीतमा चर्चित गायिका मेलिना राईले समधुर आवाजमा स्वर दिएकी छन् ।

त्यस्तै, उक्त गीतमा गायक एवं संगीतकार अर्जुन सुनामले संगीत भरेका छन् भने बिबी अनुरागीको संगीत संयोजन रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको मर्म र शब्दको भाव अनुसार नै कडा मिहेनतले गीतमा संगीत भरेको संगीतकार अर्जुन सुनामले जानकारी दिए ।

जेजी क्रियशनको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । युकेकै विभिन्न रमणिय स्थानमा उक्त भिडियो छायांकन गरिएको गीतकार गुरुङले जानकारी दिइन् । प्रायः नेपाली गीत संगीतको भिडियो विदेशमा छायांकन भएर बजारमा आएको कमै मात्रामा पाइन्छ ।

यस गीत र भिडियोले नेपाली गीत र म्युजिक भिडियो विदेशमा पनि छायांकन हुँदो रहेछ भन्ने सांगीतिक क्षेत्रमा उदाहरण कायम गरेको छ । कुशल श्रेष्ठले उक्त भिडियो निर्माण गरेका छन् । उनले निर्देशन, छायांकन र सम्पादन समेत एक्लै गरेका हुन् । त्यस्तै, धुर्व निराैला, निरु कोइराला, आस्था जोशी र बाल कलाकार स्वस्था जोशी बटाजुको त्यस भिडियोमा अभिनय रहेको छ ।

यस गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्म नेपालबाट गीतकार तथा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले महत्वपूर्ण भूमिका निभाएर सहयोग गरेको गीतकी रचानाकार ज्योती गुरुङले बताइन् । उनले सुरुमै नेपालबाट आफूलाई युके जानमा पनि अध्यक्ष बिजीको महत्वपूर्ण साथ एवं भूमिका रहेकोसमेत जानकारी दिइन् ।

आगामी दिनमा पनि यस सांगीतिक क्षेत्रदेखि विविध विषयमा रमेश बिजीकै साथ र सहयोगले अघि बढ्ने आशा लिएको बताइन् । ‘उहाँको धेरै महत्वपूर्ण भूमिकाबाट म यो स्थानमा आएको छु, बाँकी दिनमा पनि उहाँकै साथले सांगीतिक क्षेत्रमा अघि बढ्ने आशा लिएको छु’, गुरुङले भनिन् ।

कलाकार बन्न चाहने र नेपाली गीत संगीतको मौलिकतालाई कदर गर्नेलाई हरेक कोणबाट साथ दिने अध्यक्ष रमेश बिजीले बताए । यस ‘यो कस्तो माया’ गीतले नेपाली गीत संगीतको मौलिकता बोकेको उनले जिकिर गरे ।

‘विदेशी भूमिमा रहेर पनि ज्योती जिको नेपाली गीत संगीतको चासो र मोहप्रति मलाई गर्वको महसुस् भएको छ, सुरुवातमै प्रवासबाट मौलिक गीत बजारमा ल्याएर उहाँ नेपाली सांगीतिक बजारमा एक उदाहरणिय कलाकार बन्नुभएको छ’, अध्यक्ष बिजीले भने ।

प्रतिक्रिया