स्वास्थ्य मापदण्ड अपनाउँदै नवलपुरमा विद्यालय सञ्चालन

कावासोती । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका जिल्लाका केही विद्यालयले स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको पठनपाठन सुरु गरेका हुन् ।

वैकल्पिक शिक्षण विधिको सम्भावना नरहेका विद्यालयले स्वास्थ्य मापदण्डको पालना गर्दै पठनपाठन सुरु गरेका हुन् । जिल्लाका विभिन्न स्थानीय तहमा केही विद्यालयले कक्षा ६ देखिमाथिको पठनपाठन सुरु गरेको शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अन्य वैकल्पिक विधिबाट पठनपाठन गर्न सम्भव नभएका स्थानका केही विद्यालयले पठनपाठन सुरु गरेका हुन् ।

अनलाइन कक्षाको सम्भावना नभएका स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन भएका हुन् । ‘बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा कोरोनाको जोखिमसमेत कम भएको हुँदा त्यस्ता ठाउँका केही विद्यालयले पठनपाठन सुरु गरेका छन्’, एकाइ प्रमुख पोखरेलले भने । ती स्थानमा अन्य वैकल्पिक विधिबाट पढाउने अवस्था पनि नभएपछि विद्यालयमै पठनपाठन शुरु गरेका छन् । जिल्लामा सामुदायिक ३१२ र संस्थागत ९३ विद्यालय छन् ।

पठनपाठनशुरु गरेको शान्ति निकुञ्ज माध्यामिक विद्यालय कावासोतीका प्रधानाध्यापक हरि न्यौपानेका अनुसार कक्षा ६ देखि माथिका कक्षा सञ्चालन गरिएको छ । साना बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउन असहज हुने भएपछि ६ कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरिएको छ ।कक्षा ६, ८ र १० का विद्यार्थी आइतबार, मङ्गलबार र बिहीबार विद्यालय आउँछन् ।

कक्षा ७, ९ र १२ का विद्यार्थी सोमबार, बुधबार र शुक्रबार आउँछन् । कक्षा ११ को भने पठनपाठन सुरु नगरिएको उनले जानकारी दिए । ‘एक दिनको अन्तर राखेर विद्यार्थी पढ्न आउँछन्, एउटा कक्षामा कम्तीमा २५ जनासम्म विद्यार्थी, एउटा बेन्चमा दुई जना मात्रै राखेर कक्षा सञ्चालन गरिएको छ’, प्रधानाध्यापक न्यौपानेले भने । विद्यालयले थर्मलगनले ज्वरो नाप्ने र घरबाट आउँदाजाँदासमेत विद्यार्थीलाई अनिवार्यरूपमा दूरी कायम गर्न लगाएको छ । – रासस

प्रतिक्रिया