इभाङ–चतुरे सडकमा कालोपत्रे सुरु

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे सडकको कालोपत्रेको काम पुनः सुरु भएको छ । विश्वमहामारी कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न सरकारले गरेको लक डाउनका कारण स्थगित भएको काम करिब ६ महिनापछि सुरु भएको हो ।
नेपालटार–शान्तिडाँडा–मंगलबारे–धुसेनी–गजुरमुखी–इभाङ–चतुरेमोड–दमक खण्डमा पर्ने इभाङ–चतुरे सडक कालोपत्रेको काम अहिले तीब्र गतिमा अगाडि बढेको छ ।

लक डाउनका कारण स्थगित भएको काम पुनः सुचारु भएपछि स्थानीयवासी हर्षित भएका छन् । यसअघि वर्षात्को पानीले सो सडक क्षतिग्रस्त बनाउँदा पनि कम्पनीले मर्मत नगरेको भन्दै आक्रोसित भएका थिए । गाउँगाउँमा कृषि सडक पुगेको भए पनि मुख्य सडक नहुँदा स्थानीय स्तरमा उत्पादित नगदे बालीले राम्रो मूल्य नपाउँदा किसानहरू दुःखी थिए । तर अब सडकको काम तीव्र गतिमा अगाडि बढेसँगै माङसेबुङवासी हर्षित भएका हुन् ।

सो सडक कालोपत्रेका लागि भएको सम्झौता बमोजिम करिब ६२ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर राजेन्द्रप्रसाद यादवले जानकारी दिए । माङसेबुङ गाउँपालिका–२ को तिखे गोलाइबाट वडा–३ को चतरे बजारसम्मको १३ दशमलव २७९ किलोमिटर सडक कालोपत्रे हुँदै छ । निर्माण कम्पनी कालिका गजुरमुखी जेभीले सो कामको ठेक्का पाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत ३१ करोड रुपैयाँको लगानीमा माङसेबुङ–२ तिखे गोलाइदेखि माङसेबुङ–३ चतुरेसम्मको सडक कालोपत्रे भइरहेको छ । सो सडक चतुरेस्थित दमक–चिसापानी–रवि (फाल्गुनन्द मार्ग) सँग जोडिनेछ ।

निर्माण कम्पनीले पाँच वर्षको अवधिमा उक्त सडकको कालोपत्रे गर्ने कामको चरणगत रूपमा कार्य सम्पन्न गर्नुपर्ने सर्त रहेको छ । पाँच वर्षमध्ये दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माणका बखत भएका कमीकमजोरी सच्याएर सुधार गर्नका लागि अर्को एक वर्ष दिइएको छ । बाँकी दुई वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्नुपर्ने समय कम्पनीलाई दिइएको छ ।

आयोजनाका लागि नेपाल सरकारको २० प्रतिशत र एसियाली विकास बैंकको ऋण ८० प्रतिशत खर्च हुने भएको छ । २५ मंसिर ०७५ मा आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलीडारबीच सम्झौता भएको थियो । जम्मा ३ दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र नालीबाहेक ५ दशमलव २५ मिटर सबवेसहित नाली निर्माण हुनेछ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा कालोपत्र सुरु भएपछि त्यहाँका बासिन्दा उत्साहित भएका छन् । सो सडक कालोपत्रे भएपछि माङसेबुङ क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा सर्वसाधारणको छ ।

प्रतिक्रिया