तेजाब छ्यापे २० वर्ष कैद !

काठमाडौं । सरकारले तेजाब आक्रमणसम्बन्धी कसुरमा कठोर सजायको व्यवस्था गरेर अध्यादेश ल्याउने भएको छ । विद्यमान कानुनी व्यवस्था निक्कै फितलो भएको पीडित र सम्बन्धित सरोकारवालाले भनिरहेका बेला सरकारले २० वर्ष सजाय तोक्नेगरी अध्यादेश तयार पारेको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा गरेर ऐन बनाएको छ । गत २५ भदौमा प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्रमणका पीडितसँग सामूहिक छलफलका क्रममा प्रधानमन्त्री ओलीले कडाभन्दा कडा कानुन बनाएर १५ दिनभित्र मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएका थिए । सोही कार्यक्रममा उपस्थित भएका पीडितलाई पनि प्रधानमन्त्रीले कडा कानुन ल्याउने आश्वासन दिएका थिए ।

सोही निर्देशनबमोजिम कानुन मन्त्रालयले अब बस्ने मन्त्रिपरिषदको बैठकमा तेजाब आक्रमणलाई नियमन गर्ने र दण्ड, सजायको गरी दुइटा अध्यादेश लैजाने तयारी गरेको छ । मन्त्रालयले गृह मन्त्रालय र सरोकारवाला निकायहरूसँग छलफल गरेर दुइटा अध्यादेशको मस्यौदा तयार पारेको हो । अध्यादेशमा एसिड आक्रमणबाट पूर्ण क्षति भएमा २० वर्ष सजाय र १० लाख जरिवाना प्रस्ताव गरिएको छ ।

‘तेजाब आक्रमणका कारण कुनै पनि व्यक्तिको दुवै आँखा गयो भने, दृष्टि जल्यो भने, सुन्ने शक्ति हरायो, नाक जल्यो, अनुहारमा पूर्ण रूपमा क्षति भयो भने २० वर्ष कैद र १० लाख जरिवाना हुनेछ,’ स्रोतले भन्यो, ‘२० वर्ष भनेपछि २० वर्ष नै बस्नुपर्छ । अरू अपराधमा जस्तो आचरण सुधारिएमा लगायतका प्रावधानहरू यसमा राखिएको छैन । पूरै सजाय भुक्तान नगरिकन आक्रमणकारी बाहिर निस्कन पाउँदैन ।’

एउटा आँखा, एउटा कानमा क्षति भयो भने १० देखि २० वर्षसम्म कैद प्रस्ताव गरिएको छ भने अंगभंग हुने र शारीरिक क्षति भयो भने पाँच देखि १० वर्ष कैद बस्नुपर्ने प्रावधान राखिएको छ । एसिड आक्रमणबाट कसैको ज्यान गए अहिले भएकै अधिकतम सजाय जन्मकैदलाई यथावत् राख्ने र अंगभंग र शरीर कुरूपलगायत गराए २० वर्षसम्म कैद हुने गरी मस्यौदा बनाइएको छ । यो अपराधमा संलग्नलाई सजाय छुट दिन नमिल्ने प्रावधान पनि मस्यौदामा छ । लागुऔषध, बलात्कार, मानव बेचबिखन, भ्रष्टाचारलगायत एक दर्जन कसुरलाई अहिले पनि ‘सजाय मिनाहा गर्न नमिल्ने’ सूचीमा राखिएको छ ।

‘एकदमै कडा कानुन तर्जुमा गरिएको छ । ज्यान मार्ने, अनुहार कुरुप बनाउने, अंगभंग तुल्याउने नियत राखेर तेजाब छ्यापिएमा २० वर्षसम्म कैद र १० लाख जरिवाना निर्धारण गरिएको छ’, मन्त्रालय स्रोतले जानकारी दियो । त्यसमा आँखा, नाक, कानलगायत संवेदनशील अंगमा क्षति पु¥याएमा त्यसमा छुट्टै सजाय तोकिएको छ ।

मौजुदा कानुन(फौजदारी अपराध संहिताको दफा १९३)मा तेजाबसम्बन्धी कसुरमा अपराधको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । शरीरको अन्य अंग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । र, बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्ने प्रावधान छ ।

यतिले मात्र पीडितलाई न्याय नहुने भएको कडा कानुन तर्जुमा गरिएको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयले बिक्री वितरण नियमन गर्न अलग्गै कानुन तयार गरेको छ । अध्यादेशमार्फत् ल्याउन लागिएको कानुनमा तेजाब बिक्री वितरणमा कडाइ गरिनेछ । कानुनको प्रावधानविपरीत बिक्रीवितरण गरे सजाय र जरिबानाको व्यवस्थापन गरिएको मन्त्रालयको भनाइ छ । अध्यादेश अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने कानुनमा तेजाब विक्रिका लागि लाइसेन्स लिनुपर्ने हुन्छ ।

‘विक्री वितरणको नियमनका लागि कति बेच्न पाउने, लाइसेन्स कसरी पाउने, कसरी नवीकरण गर्ने यी सबै प्रावधान राखिएको छ,’कानुन मन्त्रालय स्रोतले भन्यो,‘तेजाब बेच्नेले किन्नेको सबै रेकर्ड राख्नुपर्छ । किन्ने मान्छे कहाँ बस्छ, के गर्छ, के प्रयोजनका लागि लैजान लागेको हो, सबै प्रष्टसँग उल्लेख गर्नुपर्छ ।’

एसिड बिक्री तथा यसको प्रयोग कसले गर्ने भन्नेमा मापदण्ड नहुँदा दुरुपयोग हुने गरेपछि लाइसेन्सको व्यवस्था गर्न लागिएको हो । उद्योग र कारखानादेखि सुनचाँदी पसल लगायतमा यसको खपत हुन्छ र सजिलै खरिद गर्न पाइन्छ । प्रहरीका अनुसार एसिड आक्रमणका अधिकांश घटनामा रिसइबी, प्रतिशोध, प्रेम सम्बन्धमा खटपट, घरकलह, अंशबन्डा विवाद, आवेग लगायतसँग जोडिएको पाइन्छ ।

प्रतिक्रिया