हत्या आरोपितद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

सप्तरी । ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताए ।

हत्याको उजूरी परेको जानकारी पाएपछि परिवारका सदस्यसहित इन्सेक सप्तरीको कार्यालय आएको आरोपितलाई इन्सेक प्रतिनिधि पोखरेलले प्रहरी कार्यालयमा उपस्थित भएर मुद्दा लड्न दिएको सल्लाहबमोजिम हाजिर भएको रविका छोरा सरोजकुमारले बताए । बल्थीका ८० वर्षीय सुविलाल यादवको हत्या आरोपमा रविविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत जेठ ११ गते उजूरी दर्ता भएको थियो ।

घरपरिवारका सदस्यबीच वैशाख २३ गते भइरहेको सामान्य विवादमा गाईवस्तु चराइरहेका आरोपितले आएर कुटपिट गर्दा सुविलाल घाइते भएको र सोही चोटका कारण मृत्यु भएको जनाउँदै मृतकका छोरा जागेश्वरले प्रहरीमा उजूरी दर्ता गराएका थिए । अभियुक्त रविलाई प्रहरीले बिहीबार जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ ।

प्रतिक्रिया