‘गंजागोल’ मा समसामयिक विषय

काठमाडौं । कलाकार ज्योती काफ्लेले नयाँ टेलिशृंखला ‘गंजागोल’ ल्याएका छन् । काफ्लेकै लेखन तथा निर्देशन रहेको यो शृंखला सोमबार साँझ ७ः२५ बाट नेपाल टेलिभिजनमार्फत नियमित प्रसारणमा आएको हो । हास्य टेलिशृंखला ‘भद्रगोल’ का दुईमध्ये एक निर्देशक काफ्लेले उक्त शृंखलाबाट हात झिकेपछि आफ्नै प्रोडक्सन फोके नेपाल मिडिया प्रालिबाट ‘गञ्जागोल’ ल्याएका हुन् ।

राजधानीमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत ‘गंजागोल’ प्रसारण र विषयबारे जानकारी दिइयो । नेपाल टेलिभिजनमा प्रसारण भएलगत्तै उक्त शृंखलालाई डिजिटल माध्यममा ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक गर्नेछ । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र प्रधानमन्त्री केपी ओलीको स्वरुपमा कला देखाएर लोकप्रिय बनेका ज्योती ‘गंजागोल’ मा पनि विभिन्न नेता तथा अन्यको भूमिकामा देखिनेछन् ।

टेलिशृंखलाका निर्मातामा प्रकाशकुमार सुवर्णकार रहेका छन् भने दिलीप विष्ट तथा रामकृष्ण कँडेलको छायांकन रहने निर्माण पक्षले जनाएको छ । यस्तै शृंखलामा कलाकार शिवहरि नेपाल, रोशनी सापकोटा, विद्या कार्की, सुमन ज्योति नेउपाने (ल्याङ्ग्री दादा), प्रकाश स्वर्णकार (बबुवा थारु), बन्दना कार्की, सुसन राई (भाले, पुजन घिमिरे, सिर्जना जिसी, पूजा पन्त, रियाज काफ्ले, बिपना बस्नेत, (नक्कली हिसिला), राजन भुजेल (हल्दार), सुशान्त पाठक लगायतका कलाकारको अभिनय रहनेछ । काफ्लेले शृंखलामार्फत समाजका बेथितिलाई व्यंग्य गर्ने बताउँदै भने, ‘हाँस्यव्यंग्यको शैलीबाट समाजका विभिन्न विषयलाई उठान गर्नेछौं । पछिल्लो समसामायिक सामाजिक तथा राजनीतिक विषयवस्तुले पनि शृंखलामा स्थान पाउनेछ ।’

प्रतिक्रिया